देउवासँग मिल्यो भन्ने कुरा नलेखिदिनुस् : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुक अराजकतातिर जान लागेको बताएका छन् । बिहीबार नेपाल प्रेस युनियन काठमाडौँको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘देश अराजकतातिर गइराखेको जस्तो मलाई लागेको छ । मुलुकमा दण्डहीनता पनि छ । अदालतले दोषी ठहर गरेकाहरूलाई पनि हामी छाडिदिन्छौँ । यसले देशलाई अराजकतातिर जान्छ ।’
नेपालमा भ्रष्टाचारका कारण विकास हुन नसकेको उनको भनाइ छ । ‘नेपालमा एफडिआइको प्रचुर सम्भावना छ । तर, भ्रष्टाचार, ब्युरोक्रेशीको ढिलासुस्ती, अस्थिर सरकार, नियम ऐन झन्झटिलो हुँदा विकास हुन सकेको छैन भनेर नेपालबारे अमेरिकी रिपोर्टमा कारण उल्लेख छ । हाम्रो देश भ्रष्टाचारले गाँजेको छ,’ उनले भने ।
यस्तै उनले ललिता निवास, सुन काण्डमा कर्मचारी र भरियालाई मात्र पक्राउ गरिएको नेता कोइरालाले बताए । ‘ सुन काण्डमा संसद् अवरुद्ध गरिरहेको छ । संसद्मा कुरा राख्ने हो । संसद् अवरुद्ध गर्दा राष्ट्रलाई कति घाटा भइरहेको छ विपक्षी बुझ्न जरुरी छ,’ उनले भने ।
उनले भ्रष्टाचार र तस्करीका नाइकेहरू छुट्ने तर टिप्पणी उठाउने शाखा अधिकृतहरू जेल पर्ने खालका गतिविधि भइरहेकाे बताए । 'टिप्पणी उठाउने शाखा अधिकृतहरू जेलमा हुन्छन् निर्णयकर्ता छुट्छ्न । सुन काण्ड पनि सामसुम हुन्छ । किनकि माथि कोही न कोही इन्भल्व छ', काेइरालाले भने ।
उनले सुन तस्करीमा संलग्न नेपालीहरू विचाैलियाका पनि विचाैलिया रहेकाे कुरा खुलिरहेकाे बताए । '१३ सय टन खपत हुने भारतमा ८ सय टन मात्र आयात गर्दो रहेछ । नेपालीहरू विचौलियाको पनि विचौलिया रहेछन् । नेपालबाट कति सुन गइरहेको होला । त्यसमा को नेपाली इन्भल्वभन्दा पनि नेपालको सुरक्षा नाजुक रहेछ भन्ने देखाउँछ', काेइरालाले भने ।
कुनै इस्यु आउँदा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने छलफललाई मार्क गर्नुपर्ने कोइरालाले बताए ।
‘हामीले पनि बुझ्नुपर्छ । कुनै इस्यु आउँदा शीर्ष नेता बसिहाल्छन् । के छलफल गर्छन् ? यसलाई मार्क गर्नुहोस् ,’ उनले भने ।
यस्तै उनले याे पटकको केन्द्रीय समिति बैठक आरोप–प्रत्यारोपमै सकिएको बताए । ‘हामीले गम्भीर छलफल भएन । लाइभ भएपछि म भोलिको नेता हुन्छ भनेर हो कि ? तर म जस्तोलाई भने लाइभ गर्दा अप्ठ्यारो भयो ,’ कोइरालाले भने ।
१५ औँ महाधिवेशन आउन साढे दुई वर्ष बाँकी रहेको भन्दै उनले गुटको द्वन्द्व देखाउन आउन नहुने बताए । ‘कांग्रेस र गुटभित्रको द्वन्द्व लेखिराख्नु भएको छ । अधिवेशन आउन कम्तीमा पनि ढाइ वर्ष बाँकी छ,’ उनले भने । यस्तै कोइरालाले सभापति देउवासँग मिलेको भाष्य खडा गरिएकोप्रति आपत्ति जनाए ।
‘मेरो परिवारले केही संस्कार दिएको छ गाली नगर भनेर । बरु गाली खाऊँ, गाली सुन । यो कुरालाई हामीले लिने कि नलिने ? आफ्नो आफ्नो सोचाइ हुन्छ,’ उनले भने, ‘शेरबहादुर देउवाजीसँग म कहाँ मिलेँ ? कहिले मिलेँ ? यस्ताे कुरा नलेखिदिनुस् । केन्द्रीय समिति बैठकमा मैले राखेकाे १५ बुँदा पढेर लेखिदिनुस् । ’
देउवासँग भेटवार्ता गर्न जाने कुरालाई मिल्ने भन्न नहुने उनको भनाइ छ । ‘पहिलो उहाँ बोलाउनु हुन्थेन । म जाँदैन थिएँ । आज बोलाउनु हुन्छ । जान्छु,’ उनले भने ।
कसैलाई गाली गर्नभन्दा कांग्रेसलाई मजबुत बनाउन लाग्नुपर्ने कोइरालाको भनाइ छ । ‘केहीले महामन्त्रीको डिफेन्स गर्नु भएन भन्नुभयो । तर कसैलाई डिफेन्स गर्न आएको होइन । केन्द्रीय समितिमा आफ्नो विवेक प्रयोग गर्ने हो । एउटै कुरा बोल्ने भए एक जनाले बोले भइहाल्यो नि ,’ उनले भने ।
१४ औँ महाधिवेशनमा पाएको ४० प्रतिशत मतलाई ६० प्रतिशत कसरी पुर्याउने भनेर जानुपर्ने उनले बताए । ‘म नेपाली कांग्रेसको सांसद हो । म कुनै ग्रुपको सांसद होइन । मन्त्री मैले पठाउने कुरा आउँदैन । विवादको कुरालाई सुल्टाउँछौंं,’ कोइरालाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी