बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति

प्रस्तावित राजदूतलाई सांसदको प्रश्न : ‘अमेरिका लैजान्छु भनेर पैसा उठाउँदै हुनुहुन्छ रे, हो ?’

बुधबार, १७ साउन २०८०, २२ : २२
बुधबार, १७ साउन २०८०

काठमाडौँ । ‘अमेरिका लैजान्छु भनेर मानिसहरुसँग पैसा उठाउँदै हुनुहुन्छ भनेर तपाईँमाथि उजुरी आएको छ नि, के हो ?’ बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा संयुक्त राष्ट्रसंघको आवासीय प्रतिनिधिका लागि सरकारले सिफारिस गरेको लोकबहादुर थापालाई सुनुवाइका क्रममा एमाले सांसद पदम गिरीले सोधेको प्रश्न हो यो । 

सांसद गिरीले बेल्जियमका लागि राजदूत भएको बेलामा पैसा लिएर २ जना नेपालीलाई दूतावासको काममा गराउन लगेको पनि आरोप छ नि ? भनेर पनि थापालाई प्रश्न गरे । 

सरकारले विभिन्न देश तथा कूटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना प्रस्तावित राजदूतमाथि संसदीय सुनुवाइको प्रक्रिया सुरु भएको हो । सुनुवाइको सुरुवात लोकबहादुर थापाबाट सुरु गरिएको थियो । 

बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म भएको सुनुवाइ प्रक्रियामा थापाले आफ्नो परिचयका साथै आफू नियुक्त भएमा गर्ने कार्ययोजना सुनुवाइ समितिमा प्रस्तुत गरेका थिए । 

सो क्रममा उनले सांसदहरुबाट केही कडा खालका प्रश्नको पनि सामना गर्नुप¥यो । अमेरिका जान लागेको भनेर पैसा उठाएको भन्ने उजुरी मनगढन्ते भएको उल्लेख गर्दै उनले आफूले र आफ्नो छोराका लागि अमेरिकाको भिसाको प्रक्रियासमेत नथालेको बताए । 

आफू नियुक्त नभई भिसा प्रक्रियासमेत सुरु नगरेको, जिम्मेवार पदका लागि सिफारिस भएको व्यक्तिले अमेरिका लैजान भन्दै पैसा उठाउने भन्ने कुरा गलत भएको बताए ।

यस्तै, आफू बेल्जियमका लागि राजदूत भएका बेला सरकारले राजदूतका लागि दिएको सुविधाअनुसार काम गर्ने सहयोगीलाई उल्टै आफूले पैसा सहयोग गरेर लगेको दाबी गरे । अरबमा गएर काम गरेको नेपालीलाई कामदारको रुपमा लगेको र दूतावासको काम जानेपछि उतै काम गराएको बताए । 

परिवारका सदस्यलाई पनि लगेको हो ? भन्ने प्रश्नमा उनले आफ्नै भाइ म्यानपावर एजेन्सीमार्फत् पोर्चुगल पुगेको बताउँदै थापाले आफू परराष्ट्र मन्त्रालयअन्तर्गत रहँदा पनि आफन्तलाई विदेश लैजान कुनै सहयोग नगरेको बताए । 

प्रस्तावित राजदूत थापाले भने, ‘मैले एक जना पनि आफन्त, परिवारका सदस्यलाई विदेश लगेको छैन । मेरो आफ्नै भाइ म्यानपार एजेन्सीमार्फत् पोर्चुगल गएको छ । बल्ल उसले त्यहाँ पिआर पाउँदैछ । म आफै परराष्ट्र सेवामा रहेको मान्छेले चाहेको भए केही गर्न सक्थेँ तर मैले परिवारका सदस्य आफन्तलाई विदेश लाने काम गरेको छैन ।’

सांसदहरुले समितिमा आएका उजुरी तथा आगामी कार्ययोजना कार्यान्वयनका बारेमा प्रश्न गरेका थिए । सुनुवाइ समितिमा ज्येष्ठ सदस्यका रुपमा सभापति रहेका ज्ञानेन्द्रबहादुर कार्कीले थापाले तयार पारेको कार्ययोजना २ पटक सुन्दा पनि असन्तुष्ट हुने ठाउँ नरहेको भन्दै संसदमा आएको उजुरी र सांसदहरुले गरेको प्रश्नलाई गम्भीरतापूर्वक मनन गर्न आग्रह गरे । 

कार्कीले ४ वर्षको कार्यकालको पहिलो वर्ष नेपालमा जलवायु परिवर्तनको विषयमाथि विश्वको ध्यानाकर्षण हुने गरी काम गर्न आग्रह गरे । यस्तै, उनले नेपाल विदेशमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्सको आधारमा चलिरहेको बताउँदै विदेशमा रहेका नेपालीलाई समस्या परेको बेला राजदूतलाई भेट्न नपाउने समस्यातर्फ ध्यानाकर्षण गराए । 

उता, एमाले सांसद महेश बर्तौलाले राजदूतका लागि पटक पटक सरकारले तपाईलाई नै किन छान्छ ? भन्दै प्रश्न गरे । उनले संसदीय समितिमा आएको उजुरीमा प्रस्तावित ६ जना राजदूत नै अयोग्य भनेर आएको बताउँदै तपाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिको लागि अयोग्य नै हो त ? भनेर अर्को प्रश्न गरे । 

सांसद बर्तौलाले हालै आफू संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागी भएर आएको बताउँदै त्यहाँस्थित नेपाली नियोगबाट आवश्यक सहयोग तथा व्यवस्थापन प्रभावकारी नभएको बताए । 

यस्तै, अन्य सांसदहरुले थापाको कार्ययोजनामाथि विभिन्न प्रश्न गरेका थिए । 

राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणका लागि प्रयत्न गर्ने : थापा 

संयुक्त राष्ट्रसंघको आवासीय प्रतिनिधिका लागि सरकारले सिफारिस गरेको लोकबहादुर थापाले १८ पृष्ठको कार्ययोजना प्रस्तुत गरेका थिए । 

सांसदहरुले गरेको प्रश्नमा उनले झन्डै १ घण्टा लगाएर जवाफ पेस गरेका थिए । सुरुमा आफ्नो कार्यअनुभवसहित आफू नियुक्त भएमा गर्ने कार्ययोजना थापाले सांसदहरुलाई ब्याख्यासहित सुनाएका थिए । 

उनले विगतमा चीन, अष्ट्रेलिया, साउदी अरब, बेल्जियम लगायतका देशमा आफूले कूटनीतिक क्षेत्रमा काम गरेको अनुभव प्रस्तुत गरेका थिए । विगत ३३ वर्षदेखि परराष्ट्र सेवामा रहेको बताउँदै उनले आफू नियुक्त भएमा नेपाल र संयुक्त राष्ट्रसंघको सम्बन्ध बलियो बनाउन काम गर्ने बताए । 

नेपालबाट संयुक्त राष्ट्रसंघका कार्यक्रम, गतिविधि र भेटघाटमा नेपालबाट हुने भ्रमण व्यवस्थित बनाउन प्रयत्न गर्ने बताए । 

अन्तर्राष्ट्रिय जगतमा आफ्नो कुरा स्पष्ट राख्ने, संयुक्त राष्ट्रसंघका अंगलाई नेपालको मुद्धाहरुमा सहमत गराउन प्रयत्न गर्ने, नेपालको विकासका लागि आर्थिक सहयोग जुटाउन प्रयत्न गर्ने थापाले प्रतिवद्धता जनाए । 

उनले नेपालमा जलवायु परिवर्तनबाट देखा परेका समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउने, संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणका लागि प्रयत्न गरी नेपालमा भएको शान्ति प्रक्रिया, राजनीतिक परिवर्तनको सफलतालाई विश्वमाझ पु¥याउन प्रयत्न गर्ने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप