नक्कली लालपुर्जा वितरण गरेको भन्दै टोल विकास संस्थाका कागजात नियन्त्रणमा
बुधबार, १७ साउन २०८०, १७ : ५९

बुटवल । बुटवल उपमहानगरपालिकाले नक्कली लालपुर्जा वितरण गरी गैरकानुनी रुपमा रकम संकलन गरेको भन्दै टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ ।
बुटवल ११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी पुर्जा वितरण गरेको र रकम संकलन गरेको भन्दै बुधबार उपमहानगरले नक्कली लालपुर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो ।
टोल विकास संस्थाले क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको तथा अवैध रुपमा लालपुर्जा वितरण गरी रकम संकलन गरेकाले अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको भू-उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले बताए ।
टोल विकास संस्थाले लालपुर्जाका नाममा एक हजार र अन्य शुल्कहरु लिँदै आएको स्थानीयले बताएका छन् ।