सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

बिचौलियाको योजनामा ‘नक्कली मोही’ बनेका दाजुभाइ नै हिरासतमा

बुधबार, १७ साउन २०८०, २२ : ००
बुधबार, १७ साउन २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४७ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना दाजुभाइ नै थुनामा छन् । उनीहरू हुन्, सकलानन्द महर्जन र सञ्जय महर्जन । केन्द्रीय अनुसन्धान ब्युरोले साउन ८ मा उनीहरूलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको थियो ।

ललितपुर–१० कुपण्डोलस्थित ज्वागलमा बस्दै आएका सकलानन्द महर्जन दाइ र काठमाडौँ महानगरपालिका–१२ ब्र्रम्हटोल बस्ने सञ्जय महर्जन भाइ हुन् । ‘नक्कली मोही’ बनेर जग्गा हिनामिना गर्न उनीहरूको संलग्नता देखिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।

ललिता निवास क्याम्प भित्रको २ रोपनी १२ आना जग्गा मोहियानी हक बापत महर्जन परिवारको नाममा ल्याएको भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सो जग्गा ‘पशुपति टिकिन्छा गुठी’ नामको नक्कली गुठी खडा गरेर त्यसमा महर्जन परिवारलाई ‘मोही’ कायम गर्ने भूमिका रामकुमार सुवेदीको थियो । जग्गा प्रकरणमा सुवेदी ‘बिचौलिया’ हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले २०७६ मा गठन गरेको छानबिन समितिलाई सकलानन्द र सञ्जयले बयान पनि दिएका थिए । समितिसँग उनीहरुले ‘ललिता निवासको जग्गा आफ्ना हजुरबुवा, बुवाले जोत भोग गरेको र मोही रहेको’ जिकिर गरे पनि सो जग्गा ‘गुठीको भन्ने आधार कागज हामीसँग थिएन’ भनेका छन् ।

२०६३ सालमा बिचौलिया रामकुमार सुवेदीले जग्गा महर्जन परिवारको नाममा आएपछि ‘निजलाई नै बिक्री गर्नुपर्ने शर्त’ राखेर ७५ हजार बैना दिएर पशुपति टिकिन्छा गुठीको नाममा दर्ता कायम गर्न भुमिका खेलेको सकलनान्दले आफ्नो ‘बयान कागज’मा खुलाएका छन् ।

मन्त्रिपरिषद्ले ‘पशुपति टिकिन्छा गुठी’ को नाममा जग्गा दर्ता गर्न स्वीकृति दिएसँगै बुवा जितबहादुरको मृत्यु भएको थियो । त्यसपछि सकलानन्द र सञ्जयको नाममा जग्गा नापी भएको थियो । नयाँ नापीअनुसार २०७० वैशाख १७ मा उनीहरूको नाममा ३ आना जग्गा आएको सकलानन्दले बयानमा खुलाएका छन् । ‘तीन आना जग्गा थप ५० हजार नगद लिएर २०७० वैशाख वैशाख २७ मा राम कुमार सुवेदीको नाममा पास गरी दिएका हौँ’ सकलानन्दको बयान कागजमा उल्लेख गरिएको छ– ‘हाम्रो परिवारले २ रोपनी ९ आनाको एक कित्ता र ३ आनाको एक कित्ता जग्गा बुवा बाजेको पाला देखी नै जग्गा जोत भोग गर्दै आएका थियौँ ।’

बालुवाटारको मोहियानी हकबापत सञ्जयकुमार महर्जनको नाममा आएको २ रोपनी ९ आना जग्गा २०६० सालमा रामकुमार सुवेदीसँग १६ लाख लिएर उनको भनेको व्यक्तिको नाममा पास गरेको भेटिएको छ । सकलानन्दले बयानमा भनेका छन्– ‘रामकुमारबाट लिएको १६ लाख नगद मेरा काका हर्षबहादुर महर्जनले आधा र मेरो परिवारले आधा रकम बाँडेर लिएका हौँ ।’

आफ्नो नाममा जग्गा प्राप्त हुने अवस्था सुवेदीले कसरी बनाएर भन्नेबारे थाहा नभएको महर्जन दाजुभाइले प्रहरीसँग बताएका छन् । उनीहरुले प्रहरीलाई भनेका छन्–‘निजले के कसरी, कुन आधारबाट कसको योजना, मिलेमतो र संलग्नतामा मोहियानी हक दाबी गरी जग्गा प्राप्त हुने अवस्था बनाए हामीलाई थाहा भएन ।’

समरजंग कम्पनीलाई कुत बुझाएको रसिदबारे पनि महर्जन दाजुभाइले अनभिज्ञता जनाएका छन् । ‘निज रामकुमार सुबेदीले हामीलाई झुक्याइ, डर त्रास र प्रलोभन समेत देखाई मोही छुट्याउने कागज भनि विभिन्न कागजमा सही गराएका हुन्’ सकलानन्दले भनेका छन्– ‘कुन कागजमा सही गराए र सो कागज कहाँ प्रयोग गरे मलाई थाहा भएन ।’

ललिता निवास प्रकरणमा महर्जन दाजु–भाइसहित २१ जना केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् । आरोपितहरू विरुद्ध प्रहरीले ‘सङ्गठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप