व्यापार घाटा कहिलेदेखि कहिलेसम्म ?
कुनै पनि देशको अर्थतन्त्रको भरपर्दो स्तम्भका रूपमा रहेको हुन्छ, व्यापार । आन्तरिक र बाह्य व्यापारको समष्टिगत स्वरूप नै व्यापार हो । नेपालमा बाह्य अर्थात् वैदेशिक व्यापारमा अपेक्षित निर्यात प्रवर्द्धन नहुँदा तथा आयातको हिस्सा निकै ठूलो भएकाले व्यापार घाटाको खाडल ठुलो हुँदै गएको छ । जुन चिन्ताजनक विषय छ ।
नेपालको कुल व्यापारको करिब ७० प्रतिशत हिस्सा भारत एक्लैसँग छ । तेस्रो मुलुकसँगको व्यापार पनि भारतीय भूमि प्रयोग गरेर भइरहेको छ । यसर्थ नेपालको वैदेशिक व्यापार पूर्ण रूपमा भारत निर्भर छ । चीनको नेपालसँगको व्यापारिक हिस्सा निकै सानो छ । वैदेशिक व्यापार ३९ वटा मूल भन्सार कार्यालयमार्फत हुने गरेको छ । विगतका तथ्याङ्कलाई हेर्दा आर्थिक उदारीकरणको नीति अवलम्बन गरेसँगै नेपालको वैदेशिक व्यापार उल्लेख्य परिमाणमा बढेको देखिन्छ ।
कुनै आर्थिक वर्षमा भने नेपालको व्यापार नाफामा रहेको पाइन्छ । आर्थिक वर्ष २०४६/४७ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वस्तु व्यापारको अंश २२.७ प्रतिशत रहेकामा व्यापार घाटाको अनुपात भने १२.७ प्रतिशत रहेको पाइन्छ । आव २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वस्तु व्यापारको अंश करिब ४४ प्रतिशत रहेकामा व्यापार घाटाको अनुपात करिब ३६ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्ला ६ वटा आर्थिक वर्षको कुल व्यापारमा आयातको अंश ९० प्रतिशतभन्दा बढी पाउन सकिन्छ । समग्रमा अझै पनि दिगो र रणनीतिक तवरले व्यापार सन्तुलन कायम गर्न नसकेमा नेपालको वैदेशिक व्यापार घाटाका कारण अर्थतन्त्रमा नकारात्मक असर बढ्दै जान सक्छ ।
बढ्दो व्यापार घाटाको प्रत्यक्ष असर आर्थिक वृद्धि र रोजगारीमा पर्छ । उसो भए, अब के गर्ने त ? के व्यापार घाटा कम गर्न आयात बन्द गर्ने ? आयात बन्द गर्ने उपयुक्त विकल्प हुनै सक्दैन । किनभने स्वदेशमा उत्पादन नहुने पेट्रोलसँगै मेसिन तथा औजार लगायत केही वस्तुको आयात गर्न हामी बाध्य छौँ । सबै आवश्यकताका वस्तु हामीले नै उत्पादन गर्ने पनि होइन, गर्न खोजे पनि सम्भव हुँदैन ।
वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भए पनि निर्यात भने सोही अनुरूपमा बढ्न सकेको छैन । कुल व्यापारमा आयात र निर्यातको हिस्सामा व्यापक फरक छ । आव ०२८/२९ मा नेपालले गरेको २६ करोड ५५ लाख मूल्य बराबरको वैदेशिक व्यापारमा १८ करोड ५९ लाख निर्यात र सात करोड १६ लाखको आयात भएको अभिलेख छ । त्यस्तै, आर्थिक वर्ष २०२९/३० मा अन्तर्राष्ट्रिय व्यापार १० प्रतिशत नाफामै रहेको पाइन्छ, त्यसपछिका आर्थिक वर्षपछि भने फराकिलो व्यापार घाटा भइरहेको छ ।
पछिल्लो ६ वर्षको तथ्याङ्क (०७४/७५ – २०७९/८०) अनुसार, प्रमुख आयातित वस्तुमा पेटोलियम पदार्थ, सवारी–साधनका पार्टपुर्जा, अर्ध प्रशोधित फलाम तथा स्टिल, धान, चामल, सुन लगायत पर्छन् । नेपाल कृषिप्रधान मुलुक भईकन पनि धान, चामल, मकै आदि बालीप्रतिको परनिर्भता बढ्दै गएको देखिन्छ ।
भन्सार विभागको पछिल्लो ६ वर्षको तथ्याङ्क (०७४/७५ – २०७९/८०) अनुसार, प्रमुख आयातित वस्तुमा पेटोलियम पदार्थ, सवारी–साधनका पार्टपुर्जा, अर्ध प्रशोधित फलाम तथा स्टिल, धान, चामल, सुन लगायत पर्छन् । नेपाल कृषिप्रधान मुलुक भईकन पनि धान, चामल, मकै आदि बालीप्रतिको परनिर्भता बढ्दै गएको देखिन्छ । त्यस्तै सोही तथ्यांकका आधारमा नेपालले निर्यात गर्ने प्रमुख वस्तुमा प्रशोधित तेल, अलैँची, गलैँचा, धागो, चिया, जुस, जुटका सामान रहेको छ ।
यसरी निर्यातमा महत्त्वपूर्ण स्थान पाम र भटमासको तेलले ओगटेको छ, जुन नेपालले उत्पादन गर्ने कृषि वस्तु होइन । आव ०७९/८० मा भटमास, पाम र सोयाबिनको कच्चापदार्थको आयातमा गिरावट आएसँगै पाम र भटमासको तेलको निर्यात घट्न गई कुल निर्यात नै घटेर १ खर्ब ५७ अर्ब पुगेको छ । जबकि २०७८/७९ मा कुल निर्यात करिब २ खर्ब थियो ।
नेपालमै उपलब्ध कच्चा पदार्थ तथा यहीँ उत्पादन हुने वस्तुको निर्यात प्रवर्द्धन गर्ने कार्य कछुवाको गतिमा पाइन्छ । जस्तै ः कृषिजन्य तथा जडीबुटीजन्य उत्पादनलाई उद्योगमार्फत प्रशोधित गरी तयारी वस्तु निर्यात गरी निर्यात परिणाम बढाउन त्यस्ता उद्योगलाई प्रोत्साहनयुक्त एवं लगानीमैत्री वातावरण अझै पनि बनिसकेको छैन । डाबर नेपालले जुस लगायत वस्तु त निर्यात गर्छ, तर साना परिमाणमा । त्यसैले स्वदेशी श्रम, सीप, पुँजी र कच्चा पदार्थमा आधारित उद्योग खोल्न, उत्पादन गर्न, निर्यात गर्न साँच्चिकै रणनीतिक कार्ययोजना खाँचो छ ।
माथिको तालिका अनुसार नेपालको कुल वैदेशिक व्यापारमा व्यापार घाटा र कुल व्यापारमा व्यापार घाटाको हिस्साको तुलानात्मक विश्लेषण गर्दा सबै आर्थिक वर्षमा कुल वैदेशिक व्यापारमा व्यापार घाटाको हिस्सा ८० प्रतिशतभन्दा माथि रहेको पाउन सकिन्छ । त्यस्तै, सबै आर्थिक वर्षमा फराकिलो व्यापार घाटा रहेको छ भने आव २०७८/७९ को व्यापार घाटा करिब १७ खर्ब २० अर्ब छ, जुन नेपालको बजेटको हाराहारी हो ।
नेपाल सरकारले आव २०७९/८० को साउनदेखि पुस मसान्तसम्म केही विलासिताका वस्तुमा लगाएको आयात प्रतिबन्धका कारण अघिल्लो आवमा भन्दा करिब तीन खर्ब व्यापार घाटा घट्न गई पनि करिब १४ खर्ब ५५ अर्बको फराकिलो व्यापार घाटा कायमै छ । यस्तो अवस्थाले नेपालको विदेशी विनिमय सञ्चिति र भुक्तानी सन्तुलनलाई नकारात्मक असर पु¥याउन सक्छ ।
व्यापार घाटा हुनुको प्रमुख कारण आन्तरिक उत्पादन वृद्धि हुन नसक्नु र निर्यात व्यापारको कमजोर अवस्था नै हो । प्रमुख निर्यात वस्तुमा पनि विदेशी कच्चापदार्थमा आधारित पाम र भटमासको तेल रहेको छ, जुन नेपालको कृषि उत्पादन नभएको हुँदा यस्ता वस्तुको निर्यात दिगो हुँदैन ।
निर्यात व्यापारले मुलुकमा वैदेशिक मुद्रा आर्जन बढाउँछ । रोजगारी र आर्थिक वृद्धिमा सहयोग गर्छ । त्यसैले आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिनुपर्छ । प्रतिस्पर्धात्मक क्षमताको विकाससँगै गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन बढाउन आवश्यक छ । तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको विकास गरी निर्यात अभिवृद्धि गर्नुका साथै विलासिताका वस्तु आयातमा निरुत्साहन गर्न सकिन्छ । उत्पादनमुखी संस्कृतिको विकास गर्दै आयात व्यापार घाटा न्यून गर्न र संविधानले परिकल्पना गरेको सबल, समृद्ध, स्वाधीन, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ ।
(लेखक नेपाल सरकारका लेखा–अधिकृत हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
-
१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म