मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : लालबहादुरलाई न्याय, लम्पी स्किन पीडित किसानलाई राहत

मङ्गलबार, १६ साउन २०८०, २१ : २९
मङ्गलबार, १६ साउन २०८०

आज २०८० साउन १६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

लालबहादुर विश्वकर्मालाई सफाइ

बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीनजालाई सफाइ दिएको हो । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लाल बहादुर विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो ।

उद्धव थापा नै बने कोशीका मुख्यमन्त्री

अदालतको आदेशपछि २२ दिनमै पदमुक्त बनेका कोशी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा पदमुक्त बनेको ६ दिनपछि फेरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । काँग्रेसका कोशी प्रदेश सभापति समेत रहेका उद्धव थापा एक महिनाको बीचमै दोश्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । काँग्रेसबाट दोस्रो पटक, कोशी प्रदेशको छैटौँ र प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो मुख्यमन्त्रीको रुपमा थापा नियुक्त भएका हुन् । 

कर्मचारी समायोजनमा स्वास्थ्यको अड्को जारी

स्थानीय तहमा समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सरुवा गरेपछि अहिले भाँडभैलो मच्चिएको छ । मन्त्रालयले दरबन्दीभन्दा बढी र अनियमित काजका कर्मचारी फिर्ता गर्ने परिपत्र सबै स्थानीय तहलाई गरेपछि भाँडभैलो सुरु भएको हो । 

बोर्डमा भुवन केसीको एक वर्ष

 सुपरस्टार भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएको एक वर्ष भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको बोर्डको अध्यक्षमा मन्त्रिपरिषद्को निर्णयबाट गत वर्षको साउन ९ गते उनी दुई वर्षका लागि नियुक्त भएका थिए । 

माओवादीको पाँच दिने बैठक

 नेकपा माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति बैठक व्यवस्थापनका लागि महँगो खर्च हुने भएको छ । बुधबारदेखि राजधानीको प्रज्ञाभवन, कमलादीमा ५ दिनसम्म सञ्चालन हुने बैठकका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान केन्द्रीय कार्यालयले गरेको छ । जसअनुसार ५ दिनको हल भाडामात्रै १० लाख भुक्तानी भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

एक करोड डोज खोप आवश्यक

नेपालमा खासगरी गाई/गोरुमा देखिएको लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । पशु सेवा विभागका अनुसार ७७ जिल्लामा गाई/भैंसी/गोरु/राँगो/बाच्छाबाच्छी/पाडापाडीमा यो सङ्क्रमण पुष्टि भएको छ । हालसम्म ११ लाख ४९१ पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् । सक्रिय सङ्क्रमितको संख्या हाल १ लाख ८३ हजार ८०१ छ भने यस रोगका कारण ४८ हजार ८८० पशु मरेका छन् ।

कांग्रेसको संगठन सुदृढीकरण अभियान

नेपाली कांग्रेसले पार्टीको सांगठानिक सुदृढीकरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्ला खटाएको हो ।

मन्त्रिपरिषद्को निर्णय

सरकारले संघीय शिक्षा ऐन संसदमा पठाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐन पारित गरेर संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । भारतबाट मूल्यसूची बढेर आएपछि निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेलको मूल्य बढाएको हो । 

प्रतिनिधि सभा बन्धक 

सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबीच सुन तस्करीका विषयमा ‘उच्चस्तरीय  छानबिन समिति’ गठनको विषयमा कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक सञ्चालनमा अवरोध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप