लम्पी स्किन रोगविरुद्ध एक करोड डोज खोप आवश्यक
काठमाडौं । नेपालमा खासगरी गाई/गोरुमा देखिएको लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । पशु सेवा विभागका अनुसार ७७ जिल्लामा गाई/भैंसी/गोरु/राँगो/बाच्छाबाच्छी/पाडापाडीमा यो सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म ११ लाख ४९१ पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् । सक्रिय सङ्क्रमितको संख्या हाल १ लाख ८३ हजार ८०१ छ भने यस रोगका कारण ४८ हजार ८८० पशु मरेका छन् ।
नेपालमा ०७७ असार महिनामा पहिलो पटक मोरङको सुन्दरहरैंचा नगरपालिकामा गाईमा लम्पी स्किन पुष्टि भएको थियो । त्यसपछि छिटफुट रुपमा देखिँदै हराउँदै गरेको यो रोग विगत पाँच महिना यता क्रमशः बढ्दै महामारीको रुपमा परिणत भएको हो ।
सरकारले पशुहरूमा देखिएको लम्पी स्किन रोगलाई नजरअन्दाज गर्दा किसानहरू मारमा परेको पशु विज्ञहरू बताउँछन् । यद्यपि सरकार पशुहरूमा लम्पी स्किन रोगले महामारीको रुप लिइसकेको अवस्थामा बल्ल खोप खरिदको तयारीमा लागेको छ ।
पशु सेवा विभागका वरिष्ठ पशु विशेषज्ञ तथा सूचना अधिकारी डा. चन्द्र ढकालले सरकारी तहबाट लम्पी स्किन विरुद्धको खोप प्राप्तिका लागि छलफल भइरहेको बताए ।
छलफलमा रहेको खोप कुन हो ?
डा. ढकालले लम्पी स्किनविरुद्ध ‘गोट पक्स’ खोप ल्याउन सम्बन्धित निकायलाई पशु विज्ञहरूले सुझाव दिएका छन् । यद्यपि नेपालको परिवेशमा अहिलेसम्म ‘गोट पक्स’ रोग देखिएको छैन ।
‘विज्ञहरूले छिमेकी मुलुकमा गोट पक्स खोप लगाएकाले त्यही खोप उपयुक्त हुन्छ भन्ने राय दिनु भएको छ,’ उनले भने, तर सरकारले कुन खोप खरिद गर्ने भन्ने निर्णय गरिसकेको छैन ।’
तर ‘गोट पक्स’ नभएको अवस्थामा ‘गोट पक्स’ खोप लगाउँदा झन् खतरा बढ्ने पशु प्रविधिकहरू बताउँछन् । जहाँ गोट पक्स र लम्पी स्किन दुवै रोग छ, त्यहाँ गोट पक्स खोप लगाउने गरेको विज्ञहरु बताउँछन् ।
नेपालका पशुहरूमा प्रमाणित भएको नेथलिंग स्ट्राइन लम्पी स्किन हो । विश्वका केही देशमा गोट पक्स खोप लगाए पनि प्रभावकारी नभएको पाइएको छ । यो खोप प्रत्येक तीन महिनामा लगाउनुपर्ने हुन्छ ।
‘गोट पक्स’ खोप ल्याउँदा क्षणिक रुपमा खर्च कम भए पनि दीर्घकालमा झन् धेरै आर्थिक भार पर्ने विज्ञको जिकिर छ । रातोपाटीसँग कुराकानी गर्दै एक विज्ञ*ले भने, ‘हरेक खोप लगाउँदा सकारात्मक र नकारात्मक असर हुन्छ । नेपाल भौगोलिक दृष्टिले विकट छ । खोप लगाइसकेपछि पशुमा समस्या देखियो भने पनि थप समस्या हुन्छ ।’
यदि गोट पक्स खोप ल्याउने नै हो भने ट्रायलका रुपमा एक दुई स्थानमा प्रयोग गरी प्रभावकारी भएको खण्डमा मात्र खरिद गर्न उनको सुझाव छ ।
कानुनत देशमा नदेखिएको रोगविरुद्धको खोप ल्याउन मिल्दैन । तर, मापदण्ड नै संशोधन गरी खोप ल्याउन व्यक्तिको चलखेल भएको उनको जिकिर छ ।
‘मापदण्ड संशोधन गरेर एकैपटक गोट पक्स खोप आउँदा किसानमा क्षणिक खुसी त होला, उनीहरुले आफ्ना पशुलाई खोप पनि लगाइदेलान् तर उनीहरूले भोलिका दिनको चुनौतीबारे बुझ्दैनन्,’ उनले भने ।
नेथलिंग स्ट्राइन खोप कस्तो हो ?
लम्पी स्किन नियन्त्रण गर्न कम्तीमा ८० प्रतिशत पशुलाई खोप दिनुपर्छ । विभागको सिफारिसमा निजी क्षेत्रले जोर्डन, तान्जानिया र टर्कीबाट लम्पी स्किनविरुद्धको नेथलिंग स्ट्राइन खरिद गरेका हुन् ।
हालसम्म लम्पी स्किन डिजीज, एलएसडी नेथलिंग स्ट्राइन भाइरसको खोप १० लाख ३७ हजार डोज निजी क्षेत्रले ल्याएका छन् । तर, हालसम्म ३ लाख ५० हजार ९२६ पशुलाई खोप लगाइएको छ ।
लम्पी स्किनविरुद्ध वर्षमा एक पटक नेथलिंग स्ट्राइन खोप लगाए हुन्छ । यस खोपलाई विश्व पशु स्वास्थ्य संगठनले मान्यता दिएको छ । यस रोगलाई नियन्त्रण गर्न करिब ८० प्रतिशत पशुलाई खोप लगाउनु पर्ने डा. ढकालले बताए ।
विभागकै अर्का उच्च अधिकारी चालु आर्थिक वर्ष र आउँदो वर्ष नेथलिंग स्ट्राइन खोप लगाएमा सङ्क्रमण नियन्त्रण आउने दाबी गर्दछन् । स्थानीय तह, प्रदेशले पनि खोपका लागि बजेट विनियोजन गरेका छन् । गोट पक्स खोप नल्याएर नेपालका सन्दर्भमा नेथलिंग स्ट्राइन खोप उपयुक्त हुने ती अधिकारीले बताए ।
कति खोप आवश्यक ?
लम्पी स्किन रोगको जोखिममा १ करोड २६ लाख पशु छन् । करिब ११ लाख सङ्क्रमित भएका छन् । जोखिममा रहेका ८० प्रतिशत पशुलाई खोप कभरेज गर्दा १ करोड डोज आवश्यक पर्ने विभागको अनुमान छ ।
रोग देखिने बेलासम्म एक–एक वर्षमा लम्पी स्किनविरुद्ध नेथेलिङ खोप दिनुपर्छ । यद्यपि गोट पक्स खोप भने वर्षमा दुई डोज दिनुपर्ने डा. ढकालले बताए ।
प्रदेश र स्थानीय तहले के गर्दै छन् ।
केन्द्र सरकारसँग पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्नका लागि बजेट शून्य भएको विभागका सूचना अधिकारी डा. ढकाल सुनाउँछन् ।
अब लम्पी स्किन रोग फैलन नदिन पालिकाहरूले चालु आर्थिक वर्ष खोप खरिदका लागि बजेट विनियोजन गरेको उनले बताए । प्रदेशले पनि खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।
पशुसेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको, सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरूसँग समन्वय गर्न सातै प्रदेशमा टोली परिचालन गरिएको उनले सुनाए ।
७७ वटै जिल्लामा संक्रमण पुष्टी भएकोमा हाल मनाङ र मुस्ताङ जिल्लामा रोग पूर्ण रुपमा नियन्त्रणमा आइसकेको उनले बताए ।
कोशी प्रदेशले खोप खरिदका लागि ५० लाख, आकस्मिक रोग नियन्त्रणका लागि हरेक जिल्लामा २ देखि ३ लाख र मन्त्रालयमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको डा. ढकाल बताउँछन् ।
मधेश प्रदेशले ६४ हजार डोज खोप खरिद गरिसकेको उनले बताए । मधेसमा आजदेखि सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन भइरहेको उनको भनाइ छ । यस प्रदेशले खोप खरिदका लागि ५० लाख र आकस्मिक रोग नियन्त्रणका लागि हरेक जिल्लामा ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गण्डकी प्रदेशमा खोप खरिदका लागि १ करोड बजेट विनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्षमा खरिद गरिएको खोप दिने कार्र्य भइरहेको डा. ढकालले बताए ।
यस्तै बागमती प्रदेशमा खोप खरिदका लागि ६५ लाख र आकस्मिक रोग नियन्त्रणका लागि हरेक जिल्लामा ५ देखि ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेशमा खोप खरिदका लागि २ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सुदुरपश्चिममा भने रोग नियन्त्रणको क्रममा रहेको बताइएको छ ।
*यसअघि विज्ञको ठाउँमा सूचना अधिकारी ढकाल भएकोमा भूलसुधार गरिएको छ ।