बैठक ‘लाइभ’ निर्णयले माओवादीभित्र तीव्र असन्तुष्टि, खुलामञ्चमा सभा गर्न सुझाव
काठमाडौं । नेकपा माओवादी केन्द्रले मंगलबारदेखि सुरू हुने केन्द्रीय समिति बैठक ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्ने निर्णय गरेपछि धेरैजसो नेताले असन्तुष्टि जनाएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई पदाधिकारी बैठकले अनुमोदन गरेको थियो ।
माओवादी केन्द्रले पहिलो पटक केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्न लागेको हो । यसअघि सत्तारूढ दल कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पहिलो पटक ‘लाइभ’ गरेको थियो । त्यसकै सिको गर्दै माओवादी केन्द्र पनि केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने तयारीमा जुटेको छ ।
कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण बैठक मानिने केन्द्रीय समिति बैठक सार्वजनिक गर्नु उपयुक्त नभएको नेताहरूले बताएका छन् ।
पूर्व विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सचिव गणेश साहले ‘लाइभ’ गर्ने विषयमा धेरै नेताको असन्तुष्टि रहेको बताए । ‘बढ्दो प्रविधिसँगै यसको उपयोग गर्नु ठिक हो । केही नेताहरू लाइभ गर्ने विषयमा सकारात्मक छन् । धेरैले पार्टीको आन्तरिक विषय बाहिर सार्वजनिक गर्नु ठिक नभएको बताएका छन् । बुधबार बस्ने स्थायी समिति बैठकमा यसबारे छलफल हुन्छ’, उनले भने ।
प्रविधिको प्रयोग गर्नु सकारात्मक भए पनि अहिलेको अवस्थामा पार्टीको आन्तरिक विषय बाहिर ल्याउन उपयुक्त नभएको उनको तर्क छ । भविष्यमा पार्ने प्रभावबारे गम्भीर छलफल नभइकन महत्त्वपूर्ण बैठक ‘लाइभ’ गर्न नहुने पक्षमा आफू रहेको उनको भनाइ छ ।
यसैगरी ‘लाइभ’ गर्ने विषयमा पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले पनि असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ राख्दै उनले पार्टी बैठक घर, परिवार र जीवन भएकाले परिवारका अन्तरङ्ग छलफल ‘लाइभ’ गर्न नहुने उल्लेख गरेका छन् । ढुक्कसँग बोल्न र आनन्दसँग सुन्न पाउनुपर्ने उनको धारणा छ ।
‘पार्टी बैठक लाइभ हुनु हुँदैन, पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर, परिवारका अन्तरङ्ग छलफल लाइभ गर्ने विषय होइनन्’, उनले भने, ‘ढुक्कसँग बोल्न पाउनुपर्छ, आनन्दसँग सुन्न पाउनुपर्छ ।’
केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने विषयमा पोलिटब्यूरो सदस्य कमला रोक्काले पनि असन्तुष्टि जनाएकी छन् । कम्युस्नष्ट पार्टीको बैठक गोप्य हुनुपर्ने भन्दै यसविषयमा केन्द्रीय समिति बैठकमा नेतृत्वको ध्यानाकर्षण गराउने बताइन् ।
उनले कांग्रेसको सिको माओवादीले गर्न नहुने जनाउँदै यदि ‘लाइभ’ नै गर्ने भए खुलामञ्चमा सभा गर्न नेतृत्वलाई सुझाव दिइन् ।
‘कम्युनिस्ट पार्टीभित्र केन्द्रीय समिति बैठकलाई निकै समवेदनशील र गोप्य मानिन्छ । देखाउने नाममा नाङ्गिन त भएन नि ! माओवादी पनि कांग्रेसकै बाटोमा जान खोजेको हो कि ? यस विषयमा बैठकमा कुरा उठाउँछौँ । यदि लाइभ नै गर्ने भए खुला मञ्चमा सभा गरे हुन्छ’, उनले असन्तुष्टि पोखिन् ।
यस विषयमा पोलिटब्यूरो सदस्य धर्मशीला चापागाइँले लाइभ गर्न नदिन आफूहरूले नेतृत्वलाई दबाब दिने बताइन् । पार्टीको आन्तरिक छलफल बाहिर सार्वजनिक गर्नु उपयुक्त नभएको उनको बुझाइ छ ।
‘लाइभ किन गर्न लागिएको हो भन्ने बुझ्न सकिएको छैन । यस विषयमा केन्द्रीय समिति बैठकमा कुरा उठाउँछौं’, उनले भनिन्, ‘पार्टीको आन्तरिक विषय बाहिर ल्याउन हुँदैन । यो रोकिनुपर्छ ।’
यस विषयमा धेरै नेताहरूले असन्तुष्टि जनाए पनि ‘लाइभ’ नरोकिने महासचिव देव गुरुङले जानकारी दिए । ‘लाइभ गर्ने विषयमा प्रावधिक टोलीहरूले गृहकार्य गरिरहेका छन्’, उनले भने, ‘यो रोकिँदैन । अध्यक्षज्यूको फेसबुक पेजबाट लाइभ हुने टुङ्गो लागिसकेको छ । त्यसका लागि प्राविधिकले काम अगाडि बढाएका छन् ।’
केन्द्रीय समिति बैठकको सम्पूर्ण तयारी भइरहेको जानकारी दिँदै उनले बुधबार बस्ने स्थायी समिति बैठकले एजेण्डाको अन्तिम टुङ्गो लगाउने बताए । केन्द्रीय समिति बैठक बुधबार प्रज्ञाभवन कमलादीमा बिहान ११ बजे बस्नेछ । बैठक ५ दिन चल्ने महासचिव गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !
-
त्रिपाठीले मोर्चा बनाउन पहल थालेपछि राउत र चौधरीबिच एकताको गृहकार्य