१३ अर्बले घट्यो सुनको आयात, तस्करीको प्रभाव हो ?
काठमाडौँ । नेपालमा सुनको आयात १३ अर्ब २६ करोड रुपैयाँले घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा उक्त मूल्यले सुनको आयात घटेको हो ।
अघिल्लो आर्थिक वर्ष नेपालमा ३५ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन आयात भएकामा गत आर्थिक वर्षमा जम्मा २२ अर्ब ३५ करोड रुपैयाँको सुन भित्रिएको छ । यो १३ अर्ब २६ करोड रुपैयाँले न्यून हो । आर्थिक वर्ष २०७९/८० मा अवधिमा २९ लाख १६ हजार ५८६ ग्राम सुन आयात भएको थियो । यस्तै, आयातबापत राज्यले २ अर्ब ५३ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा ५० लाख ५३ हजार ग्राम सुन भित्रिएको थियो भने ४ अर्ब २९ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्य बजारमा माग नहुँदा सुनको आयात घटेको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले अघिल्लो आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब हाराहारीले सुनको आयात घटेको जानकारी दिए ।
‘बजारमा माग नहुँदा समस्या आइरहेको छ । त्योभन्दा पनि ठूलोचाहिँ कोटा प्रणालीले समस्या पारिरहेको छ,’ शाक्यले भने ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दैनिक २० किलो सुन आयातको कोटा लगाइएको थियो । तर, गत आर्थिक वर्ष भुक्तानी प्रणालीमै समस्या आउने देखेर केन्द्रीय बैंकले दैनिक १० किलो मात्रै सुन ल्याउन पाउने व्यवस्था गरेको थियो । यसले समेत सुन आयातमा गिरावट आएको महासंघको भनाइ छ ।
यसबाहेक, यतिबेला बजारमा माग नहुँदा समेत आयत घटेको शाक्यको भनाइ छ । उनका अनुसार जेठ महिनादेखि सुन आयात करिब–करिब ठप्प जस्तै भएकाले गत वर्ष २२ अर्बको मात्रै भित्रिएको बताए ।
तर, यतिले मात्रै सुनको आयात नघटेको हुन सक्ने शङ्का गर्ने आधार पछिल्लो सुन तस्करी प्रकरणले समेत देखाएको छ ।
अघिल्लो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कडाइ गर्दा दैनिक ठुलो मात्रामा यात्रुहरूले सुन ल्याउने गरेको खुलेको थियो ।
तत्कालीन कार्यालय प्रमुख महेश भट्टराईले कडाइ गर्दा खाडीबाट नेपाल आउने यात्रुको साथबाट दैनिक २० किलोग्रामभन्दा बढी सुन आउने गरेको तथ्य फेला परेको थियो ।
यस्तै, राजश्व अनुसन्धान विभागले गरिरहेको पछिल्लो अनुसन्धानबाट समेत नयाँ तथ्य खुलेको छ ।
हङकङबाट ब्रेक प्याडमा लुकाएर रेडी ट्रेड्सले कयौँ पटक सुन ल्याएको र अनुसन्धान गर्दै जाँदा सुन पगाल्ने फ्याक्ट्रीसम्मको तथ्य खुलिसकेको छ । यस्तै, यसअघि, चीनबाट भेप (विद्युतीय सिगरेट)मा लुकाएर सुन ल्याउने गरेको समेत भेटिएको थियो ।
यी आधारहरूले दैनिकरुपमा आउने १० किलोग्राम सुनले मात्रै स्वदेशी बजार नधान्ने कतिपयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर असुलीविरुद्ध आजपाले काठमाडौँमा विरोध प्रदर्शन गर्ने
-
सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट पारित
-
प्रधानमन्त्री ओलीले उद्घाटन गरेको भ्यू टावरमा दुई वर्षदेखि ताला
-
संघीय संसद्ले गठन गर्यो ४१ संसदीय मैत्री समूह
-
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
-
आठौँ चेम्बर एक्स्पो माघ १७ गते देखि भृकुटीमण्डपमा हुँदै