नियात्राः नोटमा रहेको चङ्खेली हिमालको सन्देश
मुुगु कर्णाली तरेर रुगागाउँ हुँदै नेटा पुुग्दासम्म चङ्खेली हिमाल आरोहण गर्न सकिन्छ भन्ने थाहै थिएन मलाई । नेटाबाट जब चङ्खेली हिमाल देखियो अनि हामीबीच चङ्खेली हिमालसम्बन्धी अनेक जानकारी आदान–प्रदान भए । तब चङ्खेली हिमाल आरोहण गर्ने लालसा पलाउँदै र झाँगिँदै जान लाग्यो ।
केटाकेटीमा एक रुपैयाँको नोट हात पर्दा पनि ठुलै धन फेला परे झैँ लाग्थ्यो । ओल्टाई पल्टाई हेर्दै पट्याएर गोजीमा राख्दा खुसीले चङ्गिन्थ्यो मन । एक रुपैयाँको नोटमा कस्तुरी मृगको जोडी र त्यसको पृष्ठभूमिमा अग्लो पहाड छ । त्यो पहाड चङ्खेली हिमालको प्रतिरूप हो भन्ने कुरा लोक सेवा आयोगसम्बन्धी सामान्य ज्ञान पढ्दा बल्ल थाहा पाएथेँ मैले । २०७० सालमा मुुगुु जिल्लामा पहिलो पाइलो टेकेको हुँ । हामीलाई बोकी ल्याएको हेलिकप्टर रारा ताल किनारमा र गमगढी बजारमाथिको सेनाको ब्यारेकमा अवतरण भएथ्यो पालैपालो । नोटमा देखेको चङ्खेली हिमालको प्रतिरूप यसरी बसेको रहेछ मेरो मनमा, हेलिकप्टरबाट देख्दासमेत त्यसलाई चिनेथेँ । पोहोर साल तिहारताका मुुगु आउँदा गमगढी, सोरुलगायतका ठाउँ डुल्दै ठिक्क भएथ्यो । चङ्खेलीलाई टाढाबाट हेरेर लोभिएथेँ मात्र । आज सरकारी काम विशेषले त्यसको फेदीसम्म पुुग्न लाग्दा हर्षविभोर भएको छु म ।
पश्चिम क्षितिजतिर उभिएका काला पहाड, पहरा छेउछाउका सल्लाका रुख र गुराँसतिरै छ मेरो नजर । आफूले सुक्खा सहेर पनि सल्लाका पोथ्रा हुर्काएको पहाड देखेर म चकित छु । पानी नभएर के भो त, शीतल हावामा लठ्ठिएर युुगौँ बिताइदिन सक्छ पहाड । म सोच्छु एक मन ।
अर्को मन बोल्छ फेरि– बाहिरबाट हेर्दा ऊ सुक्खा र निरस देखिए पनि पहाडको छातीभित्र सबैको प्यास मेटाउन सक्ने एक समुद्र पानी हुन्छ । पहाडको हृदय सुक्खा भए यो सेरोफेरो कसरी हुन्थ्यो हरियाली, कसरी बस्थे यी मानव बस्ती र कसरी हुर्कन्थ्यो यो लेकाली सभ्यता ?
तब पहाडलाई बुढो दार्शनिक झैँ ठानेर हेर्छु आँखा तानी तानी ।
त्यतिबेलै कलकल बगेको देखिन्छ लुुमगाडको पिई जाऊँ जस्तो सङ्लो पानी । त्यही पानी भरेर गह्रामा धानको बीउ राखिएको छ । लुमगाउँका माटाका घरहरू पनि हेरिरहुुँ जस्ता । अजम्बरी पहाडको रङ धारण गरेका भिराला गह्राहरू गोरुले जोतेर बाली लगाउन ठिक्क पारिएका छन् ।
आकास सफा छ । दिन उज्यालो छ । मन पनि उज्यालो छ । चङ्खेलीतिर तानिएको मनमा उत्साहको उचाइ पनि बढिरहेको छ झन् झन् ।
बाम गाउँ आइपुुग्छ । हिमालको फेदमा रहर लाग्दो समथर गरा फाँट परेको गाउँ रहेछ यो । दक्षिणतिर हरियो जङ्गल छ । पश्चिमोत्तर शिर उँचो बनाएर ठडिएको छ चङ्खेली । चिटिक्कका ढुङ्गाको गारो, जस्ताका छाना र सल्लाका काठमा रङ रोगन गरिएका घरहरू छन् । गाउँमुुन्तिरको बारीमा जौको हरियो जालो छ । समयमा पानी नपरेर बाली अलि पन्पिन सकेको छैन । स्याउ र ओखरका बोटहरू देखिन्छन् । निकै मिठो स्याउ फल्छ रे यस ठाउँमा ।
राजा वीरेन्द्र शिकार गर्न आउँदा बाम गाउँबाट खिचेका रहेछन् चङ्खेली हिमालको फोटो । त्यही फोटो एक रुपैयाँको नोटमा राखिएको रहेछ । यो जानकारी पाएपछि चङ्खेलीतिर झन् तानिएको छ मेरो मन ।
बाम गाउँपछि आइपुुग्छ नाफा गाउँ । नाफा गाउँमा खाना बनाइराख्न भन्दै भोकै पेट चङ्खेलीको फेदीतिर दगुुर्छौं हामी । राजा वीरेन्द्र हेलिकप्टरमा अवतरण भएको हेलिप्याड भन्दै कराकोटको समथर जमिन देखाउनुहुन्छ सहयात्रीहरू । पूजाआजाका लागि राजाले बनाउन लगाएको मन्दिर हाल भत्किएको रहेछ ।
“पहिले पहिले चङ्खेलीमा पुुस माघमा हिउँ परेपछि जेठतिर मात्र पग्लिन्थ्यो । अहिले छिट्टै पग्लियो हिउँ । कतै कतै मात्र अलेली हिउँ छ चङ्खेलीमा ।” स्थानीय सुरेन्द्रले बताइरहनुुभएको छ अनेक जानकारी ।
“हिउँदमा यता कहाँसम्म पर्छ त हिउँ ?” मनको कौतुहलता मेटाउन खोज्छु म ।
“धेरै तलसम्म पर्दा नाफा गाउँ र लुम गाउँसम्म पर्छ,” सुरेन्द्र बोल्नुहुन्छ ।
हिउँ पर्दा कस्तो देखिँदो हो चङ्खेली ? हिउँ संसार कल्पेर रोमाञ्चित भए पनि चङ्खेलीको हिउँ हेर्न नपाएको पछुतो भाव उत्पन्न हुन्छ मनमा । फेरि चित्त बुुझाउँछु– हिउँ परेको भए आज हामीले कहाँ चढ्न सकिन्थ्यो होला र चङ्खेली हिमाल ! २०७८ साल वैशाखको दोस्रो साताको यो दिन मेरा लागि खास साइत बनेर आएको छ । हरेक पललाई जीवनका रुन्चे जीजिविषासँग होइन, खुसीका शानदार सम्झनासँग सजाउन चाहन्छु म ।
¥याप भन्ने संस्थाले काटेको राम्रो ग्राभेल बाटोमा सजिलरी कुदिरहेछौँ हामी । यो बाटो हुम्ला र मुगुको सीमानाको चङ्खेली भञ्ज्याङ पार गरेर दार्मासम्म पुुगेको रहेछ । हुम्लाको चङ्खेली गाउँपालिकामा पर्दो रहेछ दार्मा ।
“जोगिमारे, सातथालेसम्म मुुगु पर्दथ्यो पहिला । अहिले हुुम्लामा पर्छन् यी भागहरू ।” स्थानीयका यस्ता भनाइले कत्ति छोएको छैन मलाई ।
यति सुन्दर प्रकृति भएको ठाउँमा सीमा विवाद होइन, सीमा मिलाप जरुरी छ । यी मिलेका डाँडाकाँडा, हातेमालो गरेका विशाल चौरमा उभिएका खर्सुङका रुख, राताम्मे गुराँसे पाखाहरूबाट केही त सिक्न जरुरी छ मान्छेले । आफन्तहरूबीचको झैझगडाले पराइलाई मात्र फाइदा पुुग्छ भन्ने हेक्का राख्न जरुरी छ तिनीहरूले ।
मान्छेले बनाएका ढुुङ्गे ग्याबिनका लस्करले मेरो मनमा खुसीका खुड्किला थपिरहेका छन् । नागबेली घुम्ती जसरी नै बयली खेल्दै घुमेका छन् ती कलात्मक ग्याबिनका लस्कर । भर्खरै फुुलेका गुुराँसले पनि रङ भरिरहेका छन् मेरो उत्साह र उमङ्गमा । चङ्खेली आरोहण गर्न हिँडेका आगन्तुकलाई स्वागत गरिरहेको छ मुगाली प्रकृति ।
यति ठुला खर्सुङका रुखहरू भएको जङ्गल सायदै देखेको थिएँ आजसम्म । अनि यो खर्कको नाम राखिदिएँ मैले खर्सुङ खर्क ।
“हलो र फाली खर्सुङ र बाँझको बनाइन्छ, अनौ, हरिश, जुवा भने भुजियार, धुपी र गोब्रे सल्लाको,” रत्नचन्द्र र सुरेन्द्र बोल्नुहुन्छ एकै स्वरमा ।
“खर्सुङ र बाँझको काठ बलियो हुन्छ होला अनि भुजियार, धुपी र गोब्रे सल्लाको काठ हलुङ्गो हुन्छ होला !” मेरो अनुमान र जिज्ञासा हो यो ।
दुवै जनाले तोलाको जिब्रो नफड्कारी धार्नीको टाउको हल्लाउनुहुन्छ स्वीकृतिमा ।
“टेन्ट टाँगेर एक साता बस्ने जस्तो पो ठाउँ रहेछ यो ।” लक्ष्मीप्रसाद भण्डारी बोल्नुुहुन्छ ।
“यति सुन्दर चौरमा एकछिन सुस्तऔँ न त । चङ्खेलीसँग चिनजान गर्न उसको काखमा खेलौँ एकछिन ।” खुसीले चङ्गिएको म पनि अनायास बोल्छु ।
मेरो जस्तै चाहना रहेछ सहयात्रीहरूको पनि । अनि अनेक रङका गुराँसका थुँगाहरूसँग भुल्यौँ हामी । भोक, थकान र समय बिर्सेर चौरमा दगुु¥यौँ मृगका पाठा झैँ । फोटो र भिडियो खिच्यौँ । आफैँलाई बिर्सन सकिने प्रकृतिको काख पाएर निकैबेर रमायौँ हामी ।
चङ्खेली भञ्ज्याङमा रोकियो हाम्रो गाडी । गमगढीबाट झन्डै ३ घण्टामा आइपुुगियो यहाँ ।
उकालो चढ्न कठिन ठान्ने लक्ष्मी सर र घनश्यामलाई फेदीमै छोडेर चङ्खेलीको शिखरतिर लाग्छौँ हामी ।
“उकालोमा सजिलो हुन्छ, लौरो टेक्नुस् ।” साथीको सहानुभूति छ मप्रति ।
“कलम समात्नेले लौरो टेकिरहनु पर्दैन ।” म ठट्टामै व्यक्त गर्छु मेरो आत्मविश्वास ।
आकास ताकेका हरिया मुनामा बैजनी रङका फूलका कोपिला लागेका छन् । सिरुपाते रहेछ त्यसको नाम । खोल्सातिर सेतै फुलेको छ चिमाल । ती लेकाली फूलको सौन्दर्यमा लठ्ठिएँछु म धेरैबेर । मोहन पनि फोटो खिच्दै चङ्खेली भञ्ज्याङमै भुलेछन् धेरैबेर । साथीहरू अगाडि बढिसके छन् ।
मोहन दौडिँदै सासै फुस्किएला झैँ गर्दै आइपुग्छन् । हेर्छु त मास्क पो लगाइरहेका । त्यसै त उचाइमा सास फेर्न गाह्रो हुन्छ उसमाथि मास्क । मास्क खोलेर लामो–लामो सास फेर्न लगाएपछि बल्ल सहज हुन्छ उनलाई । अनि बिस्तारै गति बढाएर फेला पार्छौं हामीलाई उछिनेर अघि बढेका सहयात्रीहरूलाई ।
चिसो बतासले कान दुख्न थाल्दा सुरेन्द्रको आश्वासनको भरोसा गर्छुु म, “अलि माथि गएपछि हावा कम लाग्छ ।”
दुक्खले दुब्लाएका मान्छे जस्तै देखिन्छन्, हिउँले खाएका काला पहराहरू । पहराहरूको चेप चेपमा छ बाक्लै हिउँ । धन्य हुन् यी पहराका चेप ! जसले चङ्खेलीलाई हिमाल बनाइदिएका छन् । करिब ४,१७७ मिटर अग्लिएर स्वाभिमानी शिर उचालिरहेछ चङ्खेली । दक्षिण फर्केका र तेर्सो पसारिएका कडा चट्टानका कारण चङ्खेलीको अधिकांश भागमा हिउँ धेरै टिक्दो रहेनछ । चङ्खेलीसँग हातेमालो गर्दै उचालिएको अर्को शिखर पनि उस्तै सुन्दर । अलिक होचो रहेछ त्यो । हिउँ नजमेका पहराका अक्करमा भुजियारका नाङ्गा रुखहरू पनि देखिन्छन् । ध्यान बसेका ऋषि झैँ देखिन्छन् पहाडका चुली र वरपरका हिउँचुलीहरू ।
बोट बिरुवा केही छैन सुक्खा पहरोबाहेक तैपनि आगो लगाइदिएछ कसैले । कालो पहाड रिसले झन् अँगार झैँ भएको छ ।
आकासमा एक टुक्रा बादलसमेत छैन । चङ्खेलीको शिखरबाट के के देख्न पाइएला भन्ने चङ्ख चेतना र कौतुहलले भरिएको मेरो मनमा नाचिरहेछ अपार खुसी ।
हिउँले खुकुल्याएको माटोमा उम्रिएका झारमाथि टेक्दा गलैँचामा टेके झैँ भइरहेछ । नरम माटोमा छिटो पाइला चाल्न कठिन हुँदो रहेछ । उकालो उक्लँदा निकै थाकिसकियो । ढुङ्गेनी गोरेटो र छोटो बाटो खोज्दै उक्लिरहेछौँ हामी ।
तिर्सेका होचा बुट्यान देखाउँदै रत्न बोल्नुहुन्छ– “अगरबत्ती बनाउन मिल्छ रे यसको ।”
“यो हिमाली भूमिका हरेक जरा र पतकर औषधी होलान् । माटोमा पनि छुट्टै सुगन्ध छ यहाँको । दुनियाँलाई बताउन हुँदैन यस्तो कुरा । हिमाल जोगाइरहेका यी बुट्यानहरू फाँडिन सक्छन् । नासिन सक्छन् दुर्लभ हिमाली खजाना !” मेरो मनमा उर्लन खोज्छ हिमालप्रतिको माया ।
एउटा पहरो मुन्तिर निकै गाह्रो भयो ठाडै उक्लन । किताबमा पढेको सगरमाथाको हिलारी स्टेप सम्झनुहुन्छ रत्नचन्द्र गौतम ।
“हामी त अहिले ग्लेसियरमाथि पो हिँडिरहेछौँ त !” म पनि हाँस्छु मज्जाले ।
“ग्लेसियरमा हिउँ बग्छ, यहाँ त पहरो टुक्रिएर थुप्रिएका ढुङ्गाहरू मात्र छन् !” गम्भीर भावमा बोल्नुुहुन्छ रत्न ।
“बाक्लो हिउँ थुप्रिँदा त ग्लेसियर बन्ला नि यो खोँच पनि । हिउँमा यी गर्गरे ढुङ्गामा टेक्दै हिँड्न झन् कति गाह्रो होला !” म तर्कले जित्न खोज्छु ।
“हिउँदमा हिउँ पर्दा र बर्खा बिख फुल्दा उक्लन कठिन हुन्छ यो बाटो ।” हाम्रो कुराकानीमा थपिनुहुन्छ सुरेन्द्र ।
“के के जीवजन्तु पाइन्छ चङ्खेलीमा ?” उकालो बिर्सन विषयान्तर गर्न खोज्छु म ।
“मृग, कस्तुरी मृग, घोरल, झारल, भालु, दुम्सी, डाँफे आदि पाइन्छन् ।”
सुरेन्द्रको भनाइ सुन्न लाग्दा सुस्तिन्छन् हाम्रा पाइला । कहिलेकाहीँ त एक पाइला सुस्तिए पनि अर्को दह्रो पाइला टेक्ने ऊर्जा थपिन्छ ।
सुरेन्द्र थप्नुहुन्छ– “निगालाको सोला (टुप्पा) मा बिख दलेर कस्तुरी हिँड्ने डोहोमा ठड्याइदिने, त्यसले घोचेपछि बिख लागेर रौँ छोड्दै जान्छ र मर्छ कस्तुरी । अनि रौँ पच्छ्याउँदै कस्तुरी पत्ता लगाउने गर्छन् सिकारीहरू ।”
सुरेन्द्रको यो बोली भने गोली झैँ लाग्छ छातीमा । हिमाली सिरेटोले दुखेका कान झन् दुख्छन् । उकालो झन् अजङ्गको भीर भएर ठडिन्छ । डाँडापाखाभर सुवास छर्ने कस्तुरीउपर मान्छेको यस्तो रवैया ? एक रुपैयाँको नोटमा अङ्कित दौडिरहेका कस्तुरीका मायालु जोडीको प्रतिविम्ब झलझली आउँछ आँखामा । तिनीहरूले बर्बरी आँसु खसाउँदै जीवनको भीख मागे झैँ लाग्छ । म भक्कानिन्छु । आफ्नै नाभीको सुगन्ध थाहा नपाएर कस्तुरी संसार डुल्छ भन्थे मान्छेहरू । गाँठी कुरो त आज थाहा भयो– मान्छेसँग जोगिन पो कुदिरहँदो रहेछ कस्तुरी !
उत्तरतिर फर्केको पहराको चेपनेर बाटैमा रहेछ प्रशस्तै हिउँ । हिउँ स्पर्श गर्छु र फोटो खिचिदिन अनुरोध गर्छु मोहनलाई । चङ्खेलीलाई नमन गरेको मेरो फोटो देखाउँछन् मोहन ।
“यो हिउँ खान सकिन्छ । केटाकेटीमा खाएको माटोसमेत यस्तो हिउँले फालिदिन्छ भन्छन् बुढापाकाहरू । नुनमा साँधेर खाँदा झन् गज्जब हुन्छ ।” रत्नको भनाइ हो यो ।
अनि सबैले कोपर्न थाल्छन् हिउँ । सुरुमा घाँटी समात्ला भन्दै तर्केको म पनि अरूको सिको गर्न पुग्छु । हिउँमा रमाउँदै चङ्खेलीको शिखरमा पुग्यौँ हामी ।
आहा ! दस दिशा एकै पटक उघ्रे मेरा आँखामा । उज्यालो क्षितिज जगमगायो । मुगुतिरका ठाउँ साथीहरू चिनाउनुहुन्छ । हुुम्लातिरका कुनै ठाउँ म पनि चिनाउँछु । गत वर्ष म पनि तल्लो हुम्ला जो डुलेको थिएँ । सुुन्दर दृश्यलाई टाढाबाट चिनेर हेर्नुको मज्जै बेग्लै ।
पूर्वतिर टल्केको छ छायाँनाथ हिमाल । अलि पर्तिर देखिन्छ कान्जिरोवा हिमाल । छायाँनाथको फेदीतिर छ ऋणिमोक्ष दह । पश्चिमतिर फर्कंदा क्षितिजमा देखिन्छ हिउँको बाकस जस्तो सैपाल हिमाल । अलि वर्तिर ठुलो थुम्को हुम्लाको अदानचुली । पश्चिमोत्तर हुम्लाकै सर्केगाडको अग्लो चुली मेथामाई । पश्चिमतिर मुुगुुकै सोरुकोट । उत्तरतिर हिउँको धर्सोले रेखी हालेका पहाड मुन्तिर छन् रे दूधताल र सात दह । चङ्खेलीको छेवैमा छन् खैरा पहाडहरू । कर्णालीको नागबेली सप्कोले बेरेको छ पहाडहरूलाई । दक्षिणतिर पहाडका हत्केलाबीच शान्त, सौम्य निलिमा भएर तालिएको छ राराताल । रारातालको माथिपट्टिको अग्लो शिखर मुुर्माटप र अर्को टाकुरो चुचुेमार । राराको छेउमै घना जङ्गल घुच्चीको लेक । दक्षिणबाहेक पूर्वदेखि पश्चिमसम्म हिमाली सभ्यताका रक्षक हिम शिखरहरू उभिएका छन् सगर्व ।
समथर जमिन रहेछ चङ्खेली शिखरमा । त्यसका हरेक भागबाट हेर्छौं घुुमी घुमी सेरोफेरो ।
“पदमचाल्नो त होइन यो ?” बोट मरेर डाँठ र गानो ढुुङ्गाको अक्करमा लत्रिएको बिरुवातिर देखाउँछु मैले ।
“पुकचाल्नो हो । नुन मिसाएर भेडालाई खुवाइन्छ यो । फर्कंदा देखाइदिउँला पदमचाल्नो ।” सुरेन्द्र हाम्रो पथप्रदर्शक जस्तै हुनुुभएको छ ।
चङ्खेलीको पश्चिमोत्तर भागमा थुप्रिएका प्राकृतिक ढुुङ्गाहरूसँग खेल्यौँ हामी । ढुुङ्गाका अनेक घर बनायौँ ।
एउटा प्रश्नको हँसिया ठडिन्छ आफैसँग– देउराली, भञ्ज्याङ वा शिखरमा पुुग्दा मान्छेले किन बनाइ छाड्छ कुनै निशानी ? घोरिएर जवाफ दिन्छु आफैँलाई– शरीर आफँैसँग साथ लागे पनि सुन्दर ठाउँमा फर्की फर्की गइरहने त मन नै हो । अनि स्वर्गीय सुन्दरतामा जतनसाथ मनलाई राख्न बनाउँछ मान्छेले आस्थाका धरोधरहरू ! चढाउँछ देउरालीमा ध्वजापताका । जसरी हुन्छ मनमा उभ्याउनु छ सम्झनाका अनेक विम्ब प्रतिविम्बहरू !
म शिखरबाट ओर्लन लाग्दा मसँग केही भन्दै थियो चङ्खेली । मिलेर बनाउने भन्दा मिलेर सिध्याउनेहरूले निकै चित्त दुःखाएका रहेछन् चङ्खेलीको । कर्णालीको गरिबीमा नुनचुक गर्नेहरूका कर्तुतले आजित भएको रहेछ चङ्खेली । तलदेखि माथिसम्मका सबैको सोच, संस्कार र व्यवहार देखेर मर्माहत भएको रहेछ चङ्खेली ।
“बिसे नगर्चीको एक रुपैयाँले नै नेपाल एकीकरण सम्भव भएको हो । एक एक रुपैयाँ जोगाएर नै मुलुकको ढुकुटी भरिने हो । विकृति र विसङ्गतिका अग्ला पहाड गर्लम्म ढलाउने हो । अनि गरिबीले रोइरहेका यी गाउँहरूबाट भ्रष्टाचारका अँध्यारा छायाँ भगाउने हो । हो, मलाई थाहा छ तिम्रो सन्देश ! संसारलाई सुनाउने छु म तिम्रो सन्देश !”
अग्लो ठाउँबाट दुनियाँ देखेको चङ्खेलीलाई मेरो इमानदार प्रतिबद्धता हो यो ।
भञ्ज्याङ झरेर बामगाउँ आइपुुग्दा सम्म पनि मलाई नै अपलक हेरिरहेको छ चङ्खेली । आफ्ना सपनाहरू पूरा हुने ठानेर ढुक्क देखिएको छ ऊ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल