केन्द्रीय समिति बैठकको अन्तिम तयारीमा माओवादी, लाइभबारे नेताहरूको मत बाझियो
काठमाडौँ । सत्तारूढ दल माओवादी केन्द्र बुधवार बस्ने केन्द्रीय समिति बैठकको अन्तिम तयारीमा जुटेको छ । केन्द्रीय समिति बैठकमा विशेष गरी सङ्गठनात्मक विषयमा छलफल केन्द्रित रहने सचिव गणेश साहले जानकारी दिए ।
उनकाअनुसार आज सोमबारको पदाधिकारी बैठकले तय गरेको एजेन्डा र समग्र प्रतिवेदनलाई ‘फाइनल टच’ दिने काम भइरहेको छ ।
‘पदाधिकारी बैठकले तय गरेको एजेन्डालाई अन्तिम रूप दिने काम भइरहेको छ । भोलि बिहान बस्ने स्थायी कमिटी बैठकबाट पारित भएपछि केन्द्रीय समिति बैठकमा पेस हुन्छ’, उनले भने । उनका अनुसार मंगलबार बिहान ८ बजे स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ । बैठकले एजेन्डा पारित गरेपछि बिहान ११ बजे केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा बस्नेछ ।
यसअघि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने एजेन्डा तय गरेको थियो ।
बैठकले केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक र सङ्गठनात्मक प्रतिवेदन तय गरेको थियो । यसैगरी मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक, बैठकको तयारी सम्बन्धमा छलफल भएको थियो ।
यस्तै केन्द्रीय समिति बैठक लाइभ गर्ने भनिए पनि यो विषयमा नेताहरूको फरक फरक धारणा आइरहेको उनले बताए । कतिपयले पार्टीको आन्तरिक विषय भएकाले लाइभ गर्न नहुने धारणा राखेको र केही नेताहरूले प्रविधिको विकाससँगै यसको सदुपयोग गर्नु राम्रो भएको धारणा राखेको साहले बताए ।