महाधिवेशनले कोरेको मार्गचित्रमा हिँड्दा विधिको पूर्ण पालना हुन्छ
सामान्यतया नियम, कानुन र पद्धतिको पालनालाई विधि भनिन्छ । विधिको शासनमा नियम, कानुन र पद्धतिलाई पूर्ण पालना गरिन्छ । विधिले सबैलाई सकारात्मक मार्गमा हिँडाउँछ, डोर्याउँछ । विधिको पालना गर्नेले कसैसँग डराउन वा हार्न पर्दैन । विधिको पालन नगर्दा ठुला, ठुला मुलुकमा समेत अराजकता निम्तिएको हामीले देखेका छौँ ।
राज्य सञ्चालन, राजनीतिक दल सञ्चालन, लडाइँ, झगडा चाहे जेमा होस् यो अदृश्य विधिले मनोवैज्ञानिक सुरक्षा दिइरहेको हुन्छ । विधि नमान्दा चक्रवर्ती सम्राट् हुन् या निरङ्कुश, चाहे लोकतान्त्रिक हुन् वा अरू कुनै, सबै समय क्रमसँगै ध्वस्त भएका, विनाश र नष्ट भएका धेरै उदाहरणहरू छन् । हरेक राजनीतिक दल सञ्चालनको पनि एउटा विधि हुन्छ । विधिमा टेकेर नेतृत्व अगाडि बढ्दा सधैँ सफलता प्राप्त हुन्छ भने विधि उल्लङ्घन गर्ने जस्ता स्वेच्छाचारिताले नेतृत्व मात्र हैन दल नै सङ्कटग्रस्त बनेको समेत हामीले देखेका छौँ ।
आज नयाँ नेतृत्वमा उदाएको राप्रपाले आफूलाई परिमार्जन गरेर अर्थात् राप्रपालाई नयाँ राप्रपा बनाउन आफ्नो कार्ययोजनामै विधि, विधि, विधि भनेर घोषणा गरेको छ । विगतमा हाम्रा नेतृत्वले विधिलाई चुनौती दिँदा हामी झन्डै शून्यमा हराएका थियौँ । विषेशत ०५१ देखि ०५६ साल सम्मको समयमा हाम्रो नेतृत्वले पटक–पटक विधिको उल्लङ्घन गर्दा नयाँ नेतृत्व नआउँदासम्म हामी निरीह बनेर हराएका थियौँ ।
म सम्झन्छु स्व. सूर्यबहादुर थापाले हायर एन्ड फायर भन्दै विधिको उल्लङ्घन गरेर चाहे केन्द्रीय सदस्य हटाउँदा होस् वा नयाँ मनोनयन गर्दा, चाहे सरकारमा सहभागी हुँदा होस् वा सरकारबाट बाहिरिँदा, पटक–पटक विधिलाई कुल्चिएको अवस्थामा हामी राप्रपा नाममा मात्र सीमित हुन पुगेको इतिहास हाम्रै सामु ताजा छ ।
एक पटक राप्रपाको नेतृत्वमा चक्रीय प्रणाली अवलम्बन गर्ने महाधिवेशनले निर्णय गरेको थियो, त्यो विधिलाई चुनौती दिँदै सहमति अनुसार नेतृत्व हस्तान्तरण नगर्दा एकै राप्रपा दुई समानान्तर स्वरूपमा अघि बढ्ने अवस्था सिर्जना भएको थियो । आज राप्रपामा रहेका महत्त्वपूर्ण वरिष्ठ नेताहरू त्यतिखेर दुईतिर विभाजित थिए । त्यस अवधिमा भएका हर्कतहरु आज सम्झनालायक छैनन् । केन्द्रीय सदस्य खरिद, बिक्रीदेखि अपहरण सम्मका कहालीलाग्दो दिनलाई पुनः विधिमा फर्काउन करिब दुई वर्ष लागेको थियो । राप्रपाका तत् समय विधि उल्लङ्घन गर्ने र विधि पालना गर्ने नेताहरूले कस्ता, कस्ता हर्कत गरेका थिए आफैँ ममः भनुन् ।
यसकारण भन्न सकिन्छ विधि यस्तो सुरक्षा कबज रहेछ जसलाई माने पूर्ण सुरक्षित हुने, नमाने असुरक्षित हुने । आज नयाँ नेतृत्व, नयाँ विचार, नयाँ चिन्तन, नयाँ संकल्पसाथ राप्रपा पुनः राजनैतिक मंचमा उपस्थित छ । यो समय नेतृत्वको लागि अमर कृति सिर्जना गर्ने अवसर र चुनौती दुवै हो । हिजोको जस्तो दिन आउन नदिन एकमात्र मन्त्र विधि, विधि र विधि नै हो ।
दलको विधानलाई शिरोधार्य गरेर महाधिवेशनले कोरेको मार्गचित्रमा हिँड्दा विधिको पूर्ण पालना हुन्छ तर यसलाई तलमाथि गरियो भने विधिले नै औँला उठाउँछ । कसले के गर्न पाउँछ वा पाउँदैन त्यो विधानमै प्रस्ट उल्लेख छ । नेतृत्वले विधि मिच्दा पनि भलै केही समय कोही नबोल्लान्, कसैले आवाज नउठाउलान् तर त्यो मौनतामा मलाई समर्थन प्राप्त छ, समर्थन सुरक्षित छ भनी सोच्नु मूर्खता हुन्छ । विधि पालना नगरी आफूलाई सर्वोच्च ठान्नु, आफूलाई विधानको पर्याय ठान्नु, वैधानिक लौरो जथाभाबी घुमाउनुलाई कतै बुद्धिमानी मान्न सकिन्न । यस किसिमको आचरण र प्रवृत्तिले केही छिन शक्ति प्रदर्शन त गराउला तर अन्ततः त्यो दुर्भाग्य साबित हुनेछ । हामीले विगत राप्रपाको इतिहास हेर्दा हुन्छ, हाम्रै इतिहासका पानाहरू हाम्रै लागि व्यावहारिक पाठ बनेर खडा छन् ।
म मा सर्वोच्चता छ, मैले जे गरे पनि हुन्छ भनी आत्मरतिमा रमाउन त सकिएला तथापि कालान्तरमा त्यसको परिणाम सुखद हुँदैन । राजनीतिक जीवनको दुखद क्षण होस् वा सुखद समय, विधिमा हिँड्दा मात्र सही गन्तव्यमा पुगिन्छ । अर्काको अपमान गरेर आफ्नो मान खोज्नु, अर्कालाई जुधाएर सुरक्षित भइन्छ भन्ने सोच्नु वा सुख पाएपछि दुखका क्षण बिर्सनु, यी सब अल्पज्ञानीका आचरण हुन् ।
यी र यस्ता चिन्तन र कमजोरीबाट विधिले मात्र सुरक्षित राख्न सक्दछ । हिजोका साथ आज नरहन सक्छ, आजको साथ पनि निरन्तर नहुन सक्छ । मैले झुक्क्याएँ भन्ठान्नेलाई अरूले पनि त्यसरी नै झुक्क्याएको हुन सक्छ । किनकि राजनीतिमा थुप्रै घुम्ती र मोडहरू पार गर्नुपर्ने हुन्छ । राजनीति केवल एक क्षण र एक छाकका लागि हुँदैन । मानवीय कमजोरी, अल्पज्ञान, अल्पदृष्टि, दृष्टिदोष र आत्मरति जस्ता यावत आत्मकेन्द्रित भ्रम र कमजोरी सबैबाट सुरक्षित रहने मन्त्र केवल विधि, विधि र विधि मात्रै हो ।
झन्डै दुइतिहाई नजिक पुगेको तत्कालीन नेकपाले विधि उल्लङ्घन गर्दै दुई–दुई पटक संसद् विघटन गरेर सुवर्ण अवसर गुमाएको सर्वविदितै छ । नेकपा नेतृत्वले आफूमा निहित शक्ति र जनविश्वासको दुरुपयोग गर्दाको परिणाम हामीले देखेकै छौँ । साउनको मकै बारीमा साँढे मडारिएझैँ अधिकार सम्पन्न व्यक्ति दलभित्रै मडारिन थाल्यो भने त्यहाँ अराजकता निम्तन्छ । र, इतिहास साक्षी छ त्यसबाट सिर्जित चुनौती सामना गर्न कठिन हुन्छ । आफ्नो दुष्कर्म, आत्मपरक मनोवृत्ति आफैँलाई घातक हुन्छ । संसारमा धेरै शासक, पात्र आए गए । कसैले म नै कानुन हुँ, म नै राज्य हुँ भन्नेसम्म भने, तर ती सब लोकको चाहना अघि घुँडा टेक्न बाध्य भए, समयको गतिसँगै बिलाएर नामेट भए ।
तसर्थ इतिहासको प्रिय बन्ने, आम जनको मन मस्तिष्कमा सदा टिकिरहने उपाय भनेकै विधि, विधि र विधि मात्रै हो । किनकि विधिको पालना गर्नेले कसैसँग डराउन पर्दैन, कसैसँग हार्न पर्दैन ।
लेखक राप्रपाका केन्द्रीय सदस्य हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पाले तोड्यो बाहुबलीको रेकर्ड
-
भारतसहित ५ देशमा नियुक्त भएका राजदूतहरूले लिए शपथ
-
अल्लू अर्जुनको घरमा तोडफोड गर्नेले पाए जमानत
-
जनार्दन शर्माको निष्कर्ष– ओली सरकार असफल, गम्भीर राजनीतिक संकटको खतरा देखियो !
-
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा
-
मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ?