रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०८० साउन १५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा राजेन्द्र लिङ्देनले गृहमन्त्रीलाई गुहारेपछि ‘ब्याक’ भए बालेन, कांग्रेसको सिको गर्दै माओवादी केन्द्रले पनि बैठकको प्रत्यक्ष प्रसारण गर्ने, सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउन दबाब, मधेस प्रदेश सरकारले बल्ल पायो पूर्णता, सुदूरपश्चिम सरकारलाई पूर्णता दिने तयारी, डा.गोविन्द केसीले दिए सत्याग्रहमा बस्ने चेतावनी, सत्ता गठबन्धन पाँच वर्ष टिक्ने प्रधानमन्त्रीको दाबी लगायत छन् ।
१. राजेन्द्र लिङ्देनले गृहमन्त्रीलाई गुहारेपछि ‘ब्याक’ भए बालेन
राप्रपाको केन्द्रीय कार्यालयमा डोजर चलाउने निर्णयबाट सोमबार काठमाडौं महानगर प्रमुख बालेन शाह ‘ब्याक’ भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हाइटेन्सन लाइनमुनि बनेको पार्टी कार्यालय जोगाउन गृहमन्त्रीलाई गुहारेपछि सोमबार राप्रपाको कार्यालयमा महानगरको डोजर चल्न सकेन ।
२. कांग्रेसको सिको गर्दै माओवादी केन्द्रले पनि बैठकको प्रत्यक्ष प्रसारण गर्ने
नेपाली कांग्रेसको सिको गर्दै नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको हो ।
३. सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउन दबाब
नेकपा एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
४. मधेस प्रदेश सरकारले बल्ल पायो पूर्णता
मधेस प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार थप दुई मन्त्री नियुक्त गरेका हुन् । योसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ ।
५. सुदूरपश्चिम सरकारलाई पूर्णता दिने तयारी
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार सत्ता गठबन्धनको बैठक बोलाएर सरकारलाई पूर्णता दिने बताएका छन् । काठमाडौंमा रहेका मुख्यमन्त्री शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि सरकारलाई पूर्णता दिने बताएका हुन् ।
६. डा. गोविन्द केसीले दिए सत्याग्रहमा बस्ने चेतावनी
स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका डा. गोविन्द केसीले पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् । यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न उनले १४ दिनको समय सीमा दिएका छन् । माग पूरा नभए साउन २९ देखि सत्याग्रहमा बस्ने उनको चेतावनी छ ।
७. सत्ता गठबन्धन पाँच वर्ष टिक्ने प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । सोमबार साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जाने दाबी गरेका हुन् ।
८. सर्जकलाई सुनाए ओलीले अरस्तुको कथा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्जकहरुलाई अरस्तुले दाँत गनेजस्तो बुझाइबाट प्रेरित नहुन चेतावनी दिएका छन् । सोमबार आयोजित एक कार्यक्रममा उनले सर्जकलाई अरस्तुको कथासमेत सुनाए ।
९. माओवादी केन्द्रका विभागहरु अस्तव्यस्त
सत्तारूढ दल नेकपा माओवादी केन्द्रको नेतृत्वले पार्टीमा भन्दा बढी सरकारमा ध्यान केन्द्रित गर्दा आन्तरिक संगठन अस्तव्यस्त छ । २०७८ पुुसमा भएको आठौँ महाधिवेशनबाट संगठनलाई चुस्तदुरूस्त बनाउने दाबी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । तर, महाधिवेशन भएको एक वर्ष ७ महिना पूरा भइसक्दा समेत विभाग र भ्रातृ संगठनलाई व्यवस्थापन गर्न सकेका छैनन् ।
१०. माधव नेपाललाई ‘भावी प्रधानमन्त्री’का रुपमा चिनाएर मलेसियासँग ८ बुँदे प्रस्ताव
मलेसियाका लागि नेपाली राजदूत डिल्ली पौडेलले मलेसिया सरकारसँग ८ बुँदे प्रस्ताव राखेपछि नेपालमा तरङ्ग पैदा भएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भावी प्रधानमन्त्रीको रूपमा चिनाउँदै राजदूत पौडेलले मलेसियासँग ८ बुँदे प्रस्ताव गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई