अन्ततः क्यानडालाई जिल्याउँदै नकआउट चरणमा पुग्यो आयोजक अस्ट्रेलिया
काठमाडौँ । अन्ततः आयोजक अस्ट्रेलिया नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘बी’ बाट अस्ट्रेलियासँगै नाइजेरिया पनि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
क्यानडा र आयरल्यान्ड भने समूहगत चरणबाटै घर फर्किने भएका छन् । समूहका चारवटै टोलीले तीन—तीन खेल खेलिसकेका छन् । आयोजक अस्ट्रेलिया ६ अंकसहित समूह विजेता बन्दै अगाडि बढेको हो । नाइजेरिया भने पाँच अंकसहित दोस्रो हुँदै नकआउट चरणमा पुगेको हो ।
चार अंकसहित तेस्रो भएको क्यानडा र एक अंकसहित चौथो भएको आयरल्यान्ड उपाधि होडबाट बाहिरिएका हुन् । सोमबार भएको समूहगत चरणको अन्तिम खेलमा अस्ट्रेलियाले क्यानडालाई ४—० गोलले हरायो । नाइजेरिया र आयरल्यान्डले भने गोलरहित बराबरी खेले ।
क्यानडाविरुद्धको महत्त्वपूर्ण खेलमा अस्ट्रेलियाले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो । अस्ट्रेलियाको जितमा हाइली रासोले दुई गोलको योगदान गरिन् । खेल सुरु भएको नवौं मिनेटमा पहिलो गोल गरेकी रासोले ३९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाएकी थिइन् ।
यसैगरी अस्ट्रेलियाले दोस्रो हाफमा पनि दुई गोल थपेको थियो । निर्धारित समयको ५८औं मिनेटमा मेरी फोलेरले अस्ट्रेलियाका लागि तेस्रो गोल गरिन् । इन्जुरी समयको चौथो मिनेटमा स्टेफिन क्याट्लीले पेनाल्टीमार्फत चौथो गोल थपिन् । अर्को आयोजक न्युजिल्यान्ड भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।