टीकापुरका मजदुरहरुको २५ लाख रुपैयाँ कुम्ल्याएर एमालेका युवा नेता युरोप पुगे
धनगढी । मजदुरहरुको ज्याला कुम्ल्याएर नेकपा एमाले, कैलालीका एक युवा नेता विदेश भागेका छन् । एमालेको भ्रातृ संगठन युवा संघ, कैलालीका जिल्ला सदस्य विमल भनिने गणेश चन्दले करिब १५० जना मजदुरको २५ लाख रुपैयाँभन्दा बढी रकम लिएर विदेश भागेको खुलेको छ ।
विश्व बैंकको ऋण लगानीमा कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको ‘रानी जमरा कुरिया सिँचाइ आयोजना’ अन्तर्गत पथरैया नदीमा भइरहेको तटबन्ध निर्माणका काम गरेका मजदुरले पाउनुपर्ने दैनिक ज्याला बापतको करिब २५ लाख रुपैयाँ भुक्तानी नदिइ विदेश भागेको पीडितहरुको भनाइ छ ।
चन्द साउन १३ गते युरोप गएको उनको परिवारिक स्रोतले जनाएको छ । चन्दले ठेकेदार कम्पनी कालिका कन्ट्रक्सनबाट उक्त तटबन्ध निर्माणका लागि पेटी ठेक्का लिएका थिए । असार मसान्तभित्रै कालिका कन्ट्रक्सनबाट बिल भुक्तान गरिसकेका चन्दबाट ज्याला बापतको रकम नपाएपछि मजदुरहरुले असार ३१ गते इलाका प्रशासन कार्यालय टीकापुरमा उजुरी दिएका थिए ।
प्रशासन कार्यालयले उक्त उजुरी इलाका प्रहरी कार्यालयलाई पठाएको थियो । जस अनुसार साउन ३ गते प्रहरीको रोहबरमा ठेकेदार र मजदुरबीच छलफल भएको थियो । यस क्रममा १५ साउनभित्र ज्याला बापतको सम्पूर्ण भुक्तान गर्ने कागज प्रहरीले ठेकेदारलाई गराएको थियो । तर ठेकेदार चन्द यस बीचमै केही वर्ष नेपाल नफर्किने गरी १३ गते नै युरोप गएको उनका परिवारजनले बताएका हुन् ।
काम गरेको ज्याला नपाउँदा निकै समस्यामा परेको मजदुरहरुको दुखेसो छ । पीडित एलिजा चौधरीले आफूसहितले चैतदेखि असारसम्म तटबन्ध निर्माणको काम गरेको बताइन् । यस बीचमा केही पैसा दिए पनि अझै आफ्नो १८ हजार रुपैयाँ पाउन बाँकी रहेको उनले रातोपाटीलाई बताइन् ।
अर्का पीडित लक्ष्मी पुनले आफू, आफ्नो श्रीमान् र छोराको गरी ४१ हजार रुपैयाँ पाउन बाँकी रहेको सुनाइन् । पैसा नपाउँदा औषधोपचार गर्न समेत समस्या भएको उनको भनाइ छ ।
पुनले भनिन्, ‘साउन ३ गते दुई पक्षबीच छलफल भयो । हामीले लिखित कागजात तयार गरिदिन भन्यौँ । तर प्रहरीले त्यतिले भइहाल्छ भनेर टारिदियो । प्रहरीले त्यही बेला कडाइ गरिदिएको भए ऊ भाग्न पाउने थिएन । यसमा प्रहरीको लापरबाही देखियो ।’
कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र पालले मजदुरले पाउनुपर्ने ज्याला पाउनुपर्ने बताउँदै घटनाबारे तत्काल बुझेर असुलउपर गर्नतर्फ कदम चाल्ने बताए । ठेकेदार चन्द भागे पनि उसका घर परिवार तथा आफन्तमार्फत भए पनि ज्याला भुक्तानी गराउने उनको भनाइ छ ।
मजदुरहरुलाई चन्दले तिर्नु पर्ने रकम २५ लाख भएको अनुमान गरे पनि त्यो बाहेक ढुंगा, गिट्टीलगायत विभिन्न कारोबारमा चन्दको समूहले गएको ३ महिनामा करिब १ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा