साउन १५ मा खिर किन खाने ?
मानव जीवनको आधार भनेकै कृषि हो । कृषि उपजबाटै हाम्रो जीवन चलिरहेको छ । त्यसैले हामीकहाँ कृषिकार्यलाई पनि एक पर्वको रूपमा मनाउने गरिन्छ । हामीकहाँ कृषिसँग सम्बन्धित थुप्रै पर्व छन् — असार १५, साउन १५ वा उधौली–उभौली आदि । यस्ता पर्वले एक आपसमा मेलमिलाप र सद्भावको सञ्चार गर्छ । यही सिलसिलामा आज हामी साउन १५ अर्थात् खिर खाने पर्व मनाउँदै छौँ ।
वर्षायामको सुरुवातसँगै कृषकलाई बाली लगाउने चटारो हुन्छ । धान रोपाइँको अन्त्यसँगै एकापसमा खुसीयाली साटासाट गर्ने दिनको रूपमा खिर खाने पर्व मनाउने प्रचलन छ । वर्षात्को समयमा विभिन्न रोगको संक्रमणबाट छुटकारा पाउनुका साथै रोग प्रतिरोधात्मक शक्ति बढाउन यस दिन खिर खाइन्छ ।
खिरलाई एक पौष्टिक खानाको रूपमा लिइन्छ । खिरमा क्याल्सियम, कार्बोहाइड्रेटजस्ता पौष्टिक पदार्थ प्रशस्त मात्रामा पाइन्छ । खानका लागि स्वादिलो र नरम हुने हुनाले बालबालिकादेखि बुढाबुढी सबैको प्रिय मानिन्छ खिर । यो दूधबाट बन्ने हुनाले यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा पनि सहयोग गर्छ । शारीरिक रूपमा कमजोर भएका मानिसलाई पनि खिर खुवाउनाले धेरै फाइदा गर्छ । सामान्यतः खिर चामलको बनाइन्छ, तर कतै कतै मकैको च्याँख्लाको पनि खिर खाने गरेको पाइन्छ । खिर बनाउँदा आवश्यक मात्रामा दूध, चामल, मरिच, नरिबल, सुकमेल, दालचिनी, दाख लगायत सुक्खा मसलाको प्रयोग गरिन्छ ।
यस्ता सुक्खा मसलाले हाम्रो शारीरिक र मानसिक विकासमा ठूलो भूमिका खेलेको हुन्छ । त्यसैले आज यहाँ खिरभित्रको समाजशास्त्रबारे केही चर्चा गरौँ जस्तो लाग्यो ।
खिर खाने दिनले मानिसमा भएका रिस–रागलाई पनि कम गर्न सहयोग गर्दछ, हरेक पर्व तथा जात्राले मानिसबीचको सम्बन्धको धागोलाई अझै बलियो बनाउँदै लगेको छ ।
समाजशास्त्रीका अनुसार, समाज भनेको सामाजिक सम्बन्धको जालो हो । हामी सबै त्यही सम्बन्धको जालोमा जेलिएर बसेका छौँ । आफ्ना आवश्यकता परिपूर्ति गर्न एकले अर्कोलाई सरसहयोग गर्ने गर्छन् । अझै पनि ग्रामीण भेगमा सरसापट ऐँचोपैँचो, पर्म प्रथा कायमै छ । केही मानिस आर्थिक उन्नति गर्नु नै सबथोक ठान्छन् त कोही प्रकृतिमै रमाएर सामान्य जीवन जिउनुमै स्वर्णिम आनन्द रहेको बताउँछन् । हाम्रा रीतिरिवाज र संस्कृति अमूल्य छन् । खिर खाने चलन परम्परागत सँगै वैज्ञानिक पनि छ । उसो त हाम्रा पुर्खाले बनाएका चालचलन, रीतिथिति तर्कसंगत मानिन्छन्, केहीलाई छाडेर ।
साउनमा कतिले माछा–मासु खाँदैनन्, उनीहरूका लागि आवश्यक पौष्टिक पदार्थ खिरबाट प्राप्त गर्न सकिन्छ । हिन्दु धर्मावलम्बीका लागि साउन विशेष मानिन्छ । यस महिनामा शिवजीको विशेषपूजा तथा आराधना हुने गर्छ । यस महिनामा हरियो रङको पनि त्यत्तिकै महत्त्व रहने गरेको छ, हरियो रङ लगाउँदा मनमा आन्नदको अनुभूति हुन्छ भन्ने जनविश्वास छ । हरियो रङ प्रकृतिको सबैभन्दा महत्त्वपूर्ण भाग हो । यसले मनमा शान्ति तथा आनन्दको सञ्चार गर्नुका साथै सकारात्मक भावनाको विकास गर्ने विश्वास गरिन्छ ।
साउनमा भगवान् शिवको विशेष पूजा हुने गर्छ । विशेष गरी साउनको सोमबार शिवपीठहरूमा भक्तजनको बाक्लो भीड लाग्ने गर्छ । त्यसैले पनि धेरै मानिस यो महिनामा माछा–मासु खाँदैनन् । एक हिसाबले त यो पनि वैज्ञानिक नै लाग्छ । किनभने जसले साकाहारी भोजन गर्छ, उनीहरू मांसाहारीका दाँजोमा रोगबाट पनि कम मात्र प्रभावित हुने गरेका छन् । हाल विश्वमा महामारीको रूपमा फैलिएका विभिन्न रोगका कारण खोतल्ने हो भने विभिन्न जीवका मासु खानाले नै ती रोगबाट संक्रमित भएको पाइएको छ । साउनमा झरी पर्ने भएकाले हिलोमैलोबाट विभिन्न रोग लाग्ने सम्भावना रहन्छ । ती रोगबाट बच्न खिर खाने गरिन्छ । यसमा पाइने पौष्टिक तत्त्वले हरेक उमेर समूहका मानिसलाई शारीरिक रूपमा सबल बनाउँछ ।
मानिसले आफ्नो जीवन जिउन सहज होस् भनेर विभिन्न किसिमका रीतिथिति बनाएका छन् । साउन १५ मा खाइने खिरको कुरा गर्दा पनि यसले मानिसलाई शारीरिक रूपमा सबल बनाउँछ नै, सँगसँगै यो पर्वले परिवार र आफन्तबीचको सम्बन्धलाई बलियो बनाउँछ । घर–परिवारका सबै भेला भई रमाइलो गरी खाइने हुनाले यस पर्वले परिवारका सदस्यबीचको बेमेल, वैमनष्यता वा रिसलाई पनि मायामा बदल्ने गर्छ । सहरी क्षेत्रमा खिर खाने दिनको महत्त्व त्यति नदेखिए पनि ग्रामीण भेगमा अझै पनि यस दिनलाई हर्ष र खुसीयालीको रूपमा मनाइन्छ ।
(लेखक गाइसी भक्तपुरको ख्वप कलेजमा समाजशास्त्र विषयको उपप्राध्यापक छन् ।)