मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
पुस्तक समीक्षा

‘किङडम लस्ट’ ग्रन्थले उठाएका अनेक जिज्ञासा

सोमबार, १५ साउन २०८०, ११ : २३
सोमबार, १५ साउन २०८०

अस्ट्रेलियाका पत्रकार जुलियन असान्ज अमेरिकी तथा अङ्ग्रेज सरकारका युद्ध अपराधको पोल खोलेबापत र युद्ध अपराधीको मखुण्डो उघारिदिएका कारण अमेरिकी प्रशासनको ठाडो दबाबमा पाँच सालदेखि बेलायती झ्यालखानामा यातनासहित थुनिएका छन् । उनी भन्छन्, ‘सत्य बोल्नु अपराध होइन ।’ अनि उनको अर्को सङ्कल्प छ, ‘गैरपरम्परारिता नै जीवन जिउने एक मात्र सही साधना हो ।’

सागर एसजेबी (शमशेर जङ्गबहादुर) राणाको बहुचर्चित ग्रन्थ ‘सिंहदरबार’ (Singha Durbar) पछि अंग्रेजी भाषामा नै लेखिएको अर्को कृति ‘किङडम लस्ट’ (Kingdom Lost) का बारे केही मन्तव्य लेख्न बस्दा यो टिपप्णीकारलाई यही गैरपरम्परारितालाई पछ्याउन मन लाग्यो ।

सबभन्दा पहिला त शीर्षक नै उल्लेखनीय छ । पहिलो ग्रन्थ गहिरिएर पढिएको हो र पछिल्लो ग्रन्थ दुईपटक पाण्डुलिपिमै पढ्ने अवसर दिए लेखकले । यो झन्डै दुई वर्षभन्दा बढीअघिको कुरा हो ।

ग्रन्थ मुखाकृतिसहितको लोकार्पणको निम्ता पाउँदा खुसी लागेको छ । यस लेखकसहित धेरैले ‘किङडम लस्ट’ हुनाको कारणबारे धेरै कुरा लेखे । ती सब आफ्नो ठाउँमा छन् । यस ग्रन्थ कतिपय घटना विवरणमा पश्चिमी–दक्षिण छिमेकीय धार प्रभावबाट स्वाभाविक रूपले बच्न नसके पनि आफ्नै आयाम आफ्नै दृष्टिकोण राख्न सफल भएको छ ।

सिंहदरबारको अन्त्यतिर सागरले माघको मीनपचासको बेला सिंहदरबारकै एउटा चिसो छिँडीको मर्मान्तक दृश्य वर्णन गरेका छन् । आफू तगिएको लबेदा सुरुवालमाथि बेलायती ट्विड कश्मिराको न्यानो ओभरकोट, हीरा जडिएको आठतारे महाराजी ब्याजको कालो सिलस्किन टोपीले सजिएर गद्दीजस्तै कुर्सीमा बसेका श्री ३ महाराज मोहन शमशेर जङ्गबहादुर राणा आमरण अनशनबाट मरणासन्न अवस्थामा पुगेका, एकसरो सुती लुगा लगाएका राजबन्दी विश्वेश्वरप्रसाद कोइरालालाई चिसाम्य सतरञ्जामा बसाएर ठाडो सवालजवाफ गर्दैछन् । 

साथमा डा. सिद्धिमणि दीक्षित उभिएका छन् । कठ्याङ्ग्र्रिदो जाडोमा पनि अभयभावमा स्थित राजबन्दी बीपी विजेता, सारा ऐशोआराम र निरङ्कुश सत्ताले युक्त ‘राजा’ हारेका र चिकित्सक दीक्षितचाहिँ साक्षीस्वरूप रहेका सहज अनुभूति हुन्छ, ल घटना वर्णनबाट आखिरी राणा श्री ३ महाराज मोहन सर्जक सागरका चिफसाहेब– मिनिस्टर हजुरबुबा बबरशमशेरका दाजु महाराज हुन् । सिंहदरबारको उक्तघटनाक्रम धेरै वर्षपछिको लेखन भए पनि,आफैँ सामन्ती राणा शासकीय परिवारका सदस्य रहेका सागरको यस जिउ कमाइदिने वर्णनबाट उनले आफ्नो वर्गीय चरित्र विपरीत गई गैरपरम्परावादिताको परिचय दिए, माने नमाने पनि आफ्नो प्रजातान्त्रिक नायक बीपी कोइरालाको यशोगान गरेर भन्नैपर्छ ।

यति लेख्दालेख्दै टिप्पणीकारलाई नेपालका अनेक विशेषतामध्ये इतिहास– योगदान केही विशेषताको उल्लेख नगरी नहुने लाग्यो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, दूरदृष्टिका राज्य सुदृढीकरणकर्ता बहादुर शाह, अङ्ग्रेज साम्राज्य शाहीविरुद्ध एसियाली ऐक्यबद्धताका आह्वानकर्ता अद्वितीय भीमसेन थापा अनि ऐयासी ‘जङ्गे’ भईकन पनि खुम्चिएको नेपाललाई अलि फराकिलो बनाउने कुशल राजनीतिज्ञ जङ्गबहादुर राणा इतिहास पुरुष नै भए, आ–आफ्ना मौलिक योगदानका कारण ।

राजा वीरेन्द्रको सम्झौताकारी भूमिका पनि उत्तिकै उल्लेखयोग्य थियो । यस ग्रन्थमा त्यसमा भण्डारी भूमिका गौणप्रायः रही मनमोहन अधिकारीलाई बढी महत्त्व दिइएको त्रुटि सच्याउन टिप्पणीकारले सुझाएको थियो ।

आधुनिक इतिहासका क्रममा १९९७ सालको राणाशासनविरुद्ध सङ्गठित आन्दोलन संघर्ष अभियानको जे नाम दिए पनि घटना शासक वर्गपछिका उच्चस्तरीय वा त्यस सरहका पारिवारिक युवाहरूको क्रान्तिकारी विद्रोह हो । जेम्स फिशरको वर्णनअनुसार विश्वमै अद्वितीय, असाधारण तसर्थ विशिष्ट । तथापि, दीर्घकालीन ‘संघर्षको इतिहास नभएको’ सानो, पहाडी, पछ्यौटे मुलुकको यस विशिष्टता अङ्कित गराउने आफ्नै ‘औकात’ नभएर होला, विदेशी विशेषज्ञ इतिहासकारबाट बेवास्ता त गरियो गरियो, ‘हाम्रै’काले पनि यसलाई ओझेलमा राखे, एउटा विदेशी, अमेरिकी नृवंशशास्त्री जेम्स फिशरलाई छाडेर । त्यसका मूल पात्रद्वय टङ्कप्रसाद आचार्य एवम् रेवन्तकुमारी आचार्यका इतिहास विवरणस्वरूप नै फिशरले आफ्नो यशस्वी कृतिलाई ‘लिभिङ मार्टियर्स’ (जिउँदा सहिदहरू) नाम दिए ।

अरु विकृत गरिएका, ओझेलमा पारिएका विशिष्टताहरूमा शासक राजा त्रिभुवनले आफ्नै देशको इन्डियन दूतावासमा राजनीतिक शरण लिई यथार्थतः नेपालमा प्रजातान्त्रिक व्यवस्था ल्याउन २००७ को क्रान्ति ल्याउन सघाएको पनि पर्दछ । नेपालको भू–भौगोलिक रणनीतिक महत्त्वका कारण यहाँ २००२ सालदेखि नेपाल प्रजा परिषद्का उद्देश्यलाई आफ्नै किसिमले अघि बढाउने सङ्गठित राजनीतिक अभिव्यक्ति विदेशी शक्ति राष्ट्रबाट ओझेल हुन सक्दैनथ्यो । त्यसैले २००७ सालको क्रान्तिले ‘प्रायोजित,’ ‘दिल्लीसम्झौता’, ‘अपूर्ण’, ‘धोका’ नाम नपाइरहन सक्दैनथ्यो, त्यसैले प¥योे नै ! तथापि यो क्रान्तिबाट अन्य परिणाम जेसुकै हुन्, रुसी नृवंशशास्त्री यायावर इभान मानायेभका शब्दमा ‘फलामे जञ्जिरले बेरेर सात ताल्चा मारिएको देश’, १७औँ शताब्दीको मानसिकता भएको देशका जनताले एक्कासि २०औँ शताब्दीको जागरणअनुरूप आफूलाई ढाल्न सकेका हुन् । यसैको फलस्वरूप नेपालको स्वाधीन सार्वभौमिक अस्तित्व रक्षाका लागि इन्डियन तथा पश्चिमी चलखेलविरूद्ध अनवरत संघर्ष टङ्कप्रसाद आचार्यको नेतृत्वमा नेपाल प्रजा परिषद्, पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले गर्न सकेको हो । इतिहासको यस गौरवशाली विशिष्टता पनि ओझेलमै परेको छ ।

सामन्ती भनिने शासक राजा वीरेन्द्रले नेपाली स्वाधीन सार्वभौमिक हित रक्षाका लागि अनधिकृत इन्डियनलाई नेपाली नागरिकता दिन इन्कार गर्दा अनि नेपाल भूमिमा अमेरिकी युद्ध अखडा राख्न नदिने सङ्कल्पका कारण गोली खाएर सपरिवार ज्यान गुमाए । यो इतिहास त झनै ओझेल मात्र होइन, विकृत गरिएको छ । यस्ता दृष्टान्त कति छन् कति । 

अब सागरतर्फ, सागरको ‘किङडम लस्ट’मा सिंहदरबारसरह आफ्ना प्रतिपक्षीका विचारप्रति यथास्थानमा यथोचित आदरसम्मान दिइएका छन् । प्रजातन्त्र मासेर ‘लोकतन्त्रवादी’ भएकाहरू त पूरैजसो, अनि कम्युनिस्ट संस्कार अलाभकारी ठान्ने अधिकांश ‘वामवादी’ आचारविपरीत यो पनि गैरपरम्परावादिताको परिचायक हो । यति हुँदाहुँदै पनि सागरलाई राजनीतिक दाजु भरत शमशेरसरह टङ्कप्रसाद आचार्यप्रति पूर्वाग्रहहीन हुन पाण्डुलिपि पढ्दा आफूले सुझाएको टिप्पणीकारलाई सम्झना छ ।

आचार्यले नै मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा गृहमन्त्री हुँदा कांग्रे्रसी मुक्ति सेनाका अराजक जवानलाई नेपाली सेना र पुलिस सेवामा नियमित गरेका हुन् । पछि प्रधानमन्त्री हुँदा त उनले अनेक ऐतिहासिक एवं आमूल सुधार कार्यक्रम लागू गरे, जुन कार्य गर्दा उनले महत्त्वाकांक्षी र शंकालु राजा महेन्द्रलाई पनि समुचित मानसम्मान दिन चुकेनन् । वास्तवमा, टङ्कप्रसाद आचार्यको राजनीतिक चरित्र चिन्न–जान्न, राष्ट्र सेवा र उन्नयनमा उनका विशिष्ट योगदानको आदरसम्मान गर्न, साँच्चै विशेष राजनीतिक संस्कार चाहिन्छ । बीपी कोइरालामा त थियो र उनले यसलाई मूर्तरूप दिन ठोस अग्रसरता लिने अठोट गरेका पनि हुन्, दुर्भाग्यवश उनी २०३९ सालमा बितिहाले ।

२०४६÷४७ को प्रजातन्त्र पुनस्र्थापना आन्दोलन र त्यसमा तीन पक्षीय सहमति विश्व प्रजातान्त्रिक इतिहासमै नेपालको अतुल्य योगदान हो । त्यसमा सर्वाेच्च कमान्डर गणेशमान सिंहको विशिष्ट नेतृत्वमा नेका सभापति कृष्णप्रसाद भट्टराईको सहयोद्धारूपी भूमिका नेकपा–मालेका महासचिव मदन भण्डारीको सह–कमान्डरीय भूमिका विशेष उल्लेखनीय थियो । राजा वीरेन्द्रको सम्झौताकारी भूमिका पनि उत्तिकै उल्लेखयोग्य थियो । सागरको यस ग्रन्थमा त्यसमा भण्डारी भूमिका गौणप्रायः रही मनमोहन अधिकारीलाई बढी महत्त्व दिइएको त्रुटि सच्याउन टिप्पणीकारले सुझाएको थियो ।

यस अद्वितीय प्रजातान्त्रिक जागरणपछिका उत्तिकै ऐतिहासिक घटनाक्रमलाई निहितस्वार्थका बाह्य शक्तिराष्ट्रले रैथाने लम्पट मतियारद्वारा ध्वस्त गराए, जसको मारबाट आज पनि राष्ट्र र जनता तङ्ग्रिनसकेका छैनन् । इतिहासकार सागरले यसलाई कसरी राखे टिप्पणीकारलाई अहिले हेक्का नभएकाले त्यो पाठकहरूले नै जान्नुपर्ने बुझ्नुपर्ने हुन्छ ।

सामन्ती भनिने शासक राजा वीरेन्द्रले नेपाली स्वाधीन सार्वभौमिक हित रक्षाका लागि अनधिकृत इन्डियनलाई नेपाली नागरिकता दिन इन्कार गर्दा अनि नेपाल भूमिमा अमेरिकी युद्ध अखडा राख्न नदिने सङ्कल्पका कारण गोली खाएर सपरिवार ज्यान गुमाए ।

नेपालमा प्रजातान्त्रिक संवैधानिक अभ्यासलाई संस्थागत रूप लिनै नदिने ध्येय लिई तिनै बाह्य षड्यन्त्रकारी शक्तिराष्ट्रले प्रायोजित गरेका पात्रद्वारा माओेवादी सशस्त्र आतङ्ककारी कारबाही चलाइयो । त्यस क्रममा दरबार तिनै केन्द्रले आ–आफ्नो प्रभावमा पारेका नेकाका गिरिजाप्रसाद तथा शेरबहादुर सरकारहरूको भूमिका, सेना– सशस्त्र प्रहरी द्वन्द्व तथा घात–प्रतिघातलाई इतिहासकारले आफ्नै ढङ्गले प्रस्तुत गरेका छन् । जसमा माओवादी–सेना द्वन्द्वले निकै लामो विस्तार पाएको लाग्छ टिप्पणीकारलाई, जुन कि छोट्ट्याउन सकिन्थ्यो । अनि दिल्लीवाला बाह्रबुँदेमा उनको कस्तो राय ठहर छ, त्यो उसलाई अहिले स्पष्टसँग सम्झना छैन ।

सागरको यस ग्रन्थले प्रकाशनमा आउन निकै लामो ‘प्रसव वेदना’ भोग्नुपरेको देख्दा यसले पनि मातृकाप्रसाद कोइरालाको ‘अ रोल इनरिभोलुसन’ले जस्तै इन्डियन प्रकाशकबाट पाण्डुलिपि गुमेको वेदना भोग्नुपर्ने त भएन भन्ने लागेको थियो, तर अहिलेको विकसित प्रविधिका कारण त्यस्तो चाहे पनि हुन सक्दैनथ्यो ।

हाम्रो देशमा ‘गङ्गाजल’ सेवन गरी होली वाइनले सिञ्चित भई राजनीति गर्नेहरूमा कतिपय शिक्षित भए पनि कालो अक्षर राँगो बराबर भएकाहरू बस्दावर्दा ¥याल चुहाउनुपर्नेहरू राजनीतिलाई ठगीखाने साधन बनाउनेहरू, सिद्धान्तमा विश्वासघात गर्नेहरू दख्खिने मुगलानियाँप्रति खुला जदौवृत्ति भएकाहरू र अल्लारे योङ ट्रक्स भनाउँदाकै हालिमुहाली भएको हुँदा यस गम्भीर पुस्तकबाट तिनले कति लाभ उठाउलान्, त्यो आफ्नै ठाउँमा छ तर राणा खान्दानका भईकन पनि प्रजातन्त्रको पक्षमा लेख्नु हराएको राज्यमा ‘लोकतन्त्रीय–गणतन्त्रीय’ नयाँ वर्गीय सम्भ्रान्त परिवारवाद स्थापना भएको देख्दादेख्दै पनि बितेको दुखद इतिहास घटनाक्रम यथाशक्य पक्षपातरहित यथार्थगत रूपमा लेखिनु यो चेष्टा सर्वथा स्वागतयोग्य छ, सराहनीय छ । 

अगस्ट महिनाको ३ तारिख, तदनुसार साउन १८ गते बिहीबार लोकार्पण कार्यक्रममा सत्तापक्षीय अभिनेता–नेता ल्याउनेजस्तो सस्तो प्रचार–मोहमा उनी नपर्नु, सम्मानित अतिथिमा सत्तातिरेक व्यक्ति हुनु पनि निकै राम्रो लाग्यो । यस ग्रन्थप्रति अरू वजनदार समीक्षा हुने नै छन्, टीकाटिप्पणी समालोचना, आउने नै छन् । तथापि एउटा तीतो कुरा भनी हालुँ, ‘ट्रिस्ट विथ् डिमोक्रेसी’ विथसित मात्रको कुरा हुँदो त मुखपृष्ठ चित्र सुहाउने थियो, तर ‘किङडम लस्ट’जस्तो पठनीय, सङ्ग्रहयोग्य गम्भीर ग्रन्थका लागि मुखपृष्ठ सुहाएन–नारावादीजस्तो लाग्यो ।

सभा–समारोह पनि अनुकूल नभएको आफ्नो शारीरिक अस्वस्थताले गर्दा निम्ता मान्न नसक्ने अवस्थामा छ, यो टिप्पणीकार । निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै इतिहासकार सागर शमशेर जङ्गबहादुर राणालाई पुस्तक लोकार्पण उपलक्ष्यमा बधाई दिँदै उनको यस परिश्रम साध्यग्रन्थका लागि सबै सफलताको शुभकामना एवं जय नेपालको अभिवादन व्यक्त गर्दछ यो टिप्पणीकार ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरविन्द रिमाल
अरविन्द रिमाल
लेखकबाट थप