रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार
आज २०८० साउन १४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा सुन तस्करीको विषय लेखा समितिमा प्रवेश, टोखामा तस्करले खोलेको सुन ‘रिफ्रेमिङ’ कारखानामा छापा, सारुक ताम्राकारको मोबाइलमा भेटियो ‘सुसाइड नोट’, प्रचण्ड र ओलीबीच भेटवार्ता, कोशीमा नयाँ सरकार गठनबारे दलहरु प्रयासरत, शिक्षा ऐन लागु नभएको सत्ता पक्षकै दल असन्तुष्ट, कोरियन भाषा परीक्षाका लागि आवेदन माग लगायत छन् ।
१. सुन तस्करीको विषय लेखा समितिमा प्रवेश
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मार्फत करिब एक क्वीन्टल तस्करीको सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि संसद्को सार्वजनिक लेखा समितिले सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराउने बताए ।
२. टोखामा तस्करले खोलेको सुन ‘रिफ्रेमिङ’ कारखानामा छापा
हङकङबाट तस्करी गरेर ल्याएको करिब १ सय किलो सुनबारे अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले टोखास्थित ‘कारखाना’मा छापा मारेको छ । टोखा गेट नजिक रहेको सो कारखानामा तस्करी गर्ने समूहले चीनबाट ल्याएको सुन ‘रिफ्रेमिङ’ गर्ने गरेका थिए ।
३. सारुक ताम्राकारको मोबाइलमा भेटियो ‘सुसाइड नोट’
अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । ताम्राकारको मोबाइल परीक्षण गर्दा नोट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए ।
४. प्रचण्ड र ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
५. कोशीमा नयाँ सरकार गठनबारे दलहरु प्रयासरत
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले केन्द्रीयस्तरमा छलफल जारी राखेका छन् । यद्यपि निष्कर्ष भने निस्किएको छैन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका प्रदेशस्तरका नेताहरु काठमाडौं पुगेका छन् । शीर्ष नेताहरुसँगको छलफलका लागि उनीहरु काठमाडौं गएका हुन् ।
६. शिक्षा ऐन लागु नभएको सत्ता पक्षकै दल असन्तुष्ट
संविधान जारी भएको ८ वर्ष पूरा भइसक्दासमेत शिक्षा ऐन लागु नभएकोमा सत्ता पक्षकै दलहरूले नै चिन्ता व्यक्त गरेका छन् । समाजवाद उन्मुख संविधान जारी भए पनि व्यवस्था ‘दलाल नोकरशाही’, पुँजीवादी भएकाले समाजवादी शिक्षा ऐन बन्नेमा उनीहरूले आशंका व्यक्त गरेका छन् ।
७. कोरियन भाषा परीक्षाका लागि आवेदन माग
इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ ।
८. निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका सांसद अदालतमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुले निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन् । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उनीहरुले उच्च अदालत पाटनमा रिट दिएका हुन् ।
९. नयाँ प्रधानन्यायाधीशबारे छलफल गर्न संवैधानिक परिषदको बैठक बोलाइयो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषदको बैठक बोलाएका छन् । उपसभामुख इन्दिरा रानाले मंगलबार अपराह्न चार बजे बैठक बस्नेगरी खबर आएको बताइन् । बैठकमा भावी प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने बताइएको छ ।
१०. नेसपाले पठाएको ९ बुँदे प्रस्तावमाथि माओवादीले छलफल गर्ने
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले एकताका लागि पठाएको नौ बुँदे प्रस्तावबारे माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ । माओवादीसँग एकताका लागि संवाद गर्न गठित नेसपा संवाद समितिका संयोजक गंगानारायण श्रेष्ठले उक्त प्रस्ताव माओवादी केन्द्रलाई बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच