कहाँ छन् १ सय किलो सुन प्रकरणका आरोपित अडुकिया ?
असार ३० मा हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स हुँदै काठमाडौं ल्याइएको ‘ब्रेक प्याड’भित्र राखेर सुन तस्करी भएको तथ्य खुल्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास समेत भइसकेपछि राजस्व अनुसन्धान विभागले सिनामंगलबाट १५४ किलोग्राम ब्रेक प्याडसहित ४ जनालाई पक्राउ गर्यो ।
त्यसपछि उक्त सुन तस्करी प्रकरणमा धेरै जनाको नाम जोडिन पुगेको छ । त्यसरी नाम जोडिएका मध्ये एक हुन् व्यापारी राकेशकुमार अडुकिया । सुन तस्करी प्रकरणमा नाम जोडिएपछि उनी भूमिगत अवस्थामा छन् । यसै प्रसङ्गमा रातोपाटीले अडुकियासँग टेलिफोन वार्ता गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः–
अहिले बजारमा तपाईंमाथि सुन तस्करीको आरोप लागिरहेको छ । यो आरोप सत्य हो ?
–अहिले सबैले सत्य बुझेर पनि झुटो बोलिरहेका छन् । झुटो लेखिरहेका छन् । यो एउटा ‘मिडिया ट्रायल’ मात्रै हो । यसमा कुनै सत्यता छैन ।
त्यसो भए तपाईंंमाथि नै किन आरोप लगाइयो त ?
–यो सबै सुन तस्करी गर्ने र यसको मूख्य योजनाकारलाई बचाउनका लागि हो ।
‘हावा नचली पात हल्लिँदैन’ भन्ने एउटा नेपाली उखान छ नि ?
–अहिले मेरो नाम यो तस्करी प्रकरणमा जोड्नका लागि रकम खर्च गरिरहेको सुनिरहेको छु । जो मूख्य योजनाकार हो, उसले पनि मलाई नै फसाउन ठूलो योजना बनाइरहेको बुझेको छु । यसबाहेक, कसैले मलाई बद्नाम गर्न पात हल्लाइरहेको छ ।
त्यसो भए तपाईं किन लुक्नुभएको ? किन भूमिगत हुनुभयो ? बाहिर आएर आफ्नो कुरा राखे हुँदैन ?
–मेरो कानुनी सल्लाहकारले शत्रुको शक्ति नबुझिकन केही नबोल्न सल्लाह दिनुभएको छ । केही समयपछि म पत्रकार सम्मेलन गर्छु र सबै जानकारी दिन्छु ।
राजस्व अनुसन्धान विभागले तपाईंको घरमा छापा मारेको थियो । छापा मार्न आएको टोलीले के–के लिएर गयो ?
–मसँग जोडिएको घरमा कसैले पनि छापा मारेको छैन । यो सब झुटो र गलत हो । त्यो अर्कैको घर र अफिस हो ।
त्यसो भए राजस्व अनुसन्धान विभागले छापा मारेको घर तपाईंको होइन ?
होइन ।
यसको अर्थ तपाईंलाई उक्त १०० किलोग्राम सुन तस्करी प्रकरणबारे केही जानकारी नै छैन ?
–छैन, मलाई थाहा छैन । यो सुनको मामिलामा के हुँदैछ भन्ने जानकारी छैन । कसैले म माथि आफ्नो ध्यान केन्द्रित गर्यो र यसमा मलाई मुछ्न थाल्यो । तर मलाई अनुसन्धानबाट कत्ति पनि डर छैन तर, मिडिया ट्रायलबाट डर लागिरहेको छ ।
आफ्नो संलग्नता नभएको दाबी गर्दै हुनुहुन्छ, फेरि किन लुकिरहनुभएको छ ?
–म लुकेको छैन । कानुनी सल्लाहकारको सुझाव मानेको मात्रै हो । उनीहरुले मेरो नाम मुछेका छन् र यसमा म बोल्न जरुरी छैन । अहिले सही समयको पखाईमा छु ।
अब कहिले सार्वजनिकरुपमा बाहिर आउनुहुन्छ ?
–म अहिले पनि सबैसँग सम्पर्कमा छु र कुरा गरिरहेको छु ।
तपाईं नेपालमा बसेर के व्यवसाय गर्नुहुन्छ ?
–सेयर र बैंकमा मेरो लगानी छ । यसबाहेक अन्य व्यवसायमा पनि संलग्न छु ।
हाम्रो कुराकानीलाई अन्तर्वार्ताका रुपमा प्रयोग गर्न सक्छु ?
–सत्यमा केन्द्रित हुनुहोस् र अनुसन्धानलाई सहयोग गर्नुहोस् । अहिले मेरो बारेमा नकारात्मक समाचार आइरहेका छन् । अहिलेको मिडिया ट्रायलबाट बचाउन सहयोगी भूमिका खेल्नुहोस् ।
सुरुमा दिपक मल्होत्राको नाम जोडिएको थियो, उहाँले पत्रकार सम्मेलन गरेरै आफ्नो धारणा राख्नुभयो । उहाँलेजस्तो पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्दा हुँदैन ?
–अबको केही समयमै पत्रकार सम्मेलन गर्छु । अहिले अनुसन्धान चलिरहेको छ । समय आएपछि सबै विषयमा बोल्छु । अहिले सबै शत्रु आफ्नो वास्तविक रुपमा आउन् ।
बाहिर हल्ला चलेजस्तो तपाईं हङकङको पासपोर्ट वा अन्य कागजपत्र होल्ड गर्नुहुन्छ ? होइन भने केही प्रमाण उपलब्ध गराउन सक्नुहुन्छ ?
–होइन । म हङकङको पासपोर्ट होल्ड गर्दिन । तर, सरकारलाई सोध्नुहोस् कि अध्यागमनमा खिचेको फोटो कसरी सबैले सहजै पाउन सक्छन् ? यो एउटा पब्लिक डोमेन हो र ? तपाईंले सञ्चारमाध्यममा छाप्न मागेको प्रमाणचाहिँ छिट्टै पत्रकार सम्मेलनमार्फत दिन्छु । तर, म भारतीय सिटिजन हुँ । मैले नेपालको नागरिक बन्न कहिल्यै एप्लाई गरिनँ ।
तपाईंलाई अहिले भएको सुन तस्करीको मूख्य योजनाकारबारे जानकारी छ ?
–छैन । कसरी जानकारी हुन सक्छ र मलाई ? एउटा साधारण मान्छेलाई यसबारे जानकारी हुने भए अनुसन्धान नै आवश्यक पर्दैनथ्यो नि ।
तपाईं पनि सुन र चाँदीको कारोबार गर्नुहुन्छ भन्ने छ । कि यो पनि झुट हो ?
–चाँदीको व्यापारमा म संलग्न छु । तर, अहिलेको तस्करीमा मेरो संलग्नता छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म