आफन्तबाटै यौन दुर्व्यवहार बढ्दो
काठमाडौँ । विराटनगरकी पाँच वर्षीय महिमा अधिकारी (नाम परिवर्तन)लाई आफ्नै बुबाले यौन दुर्व्यवहार गरे । आमा घरमा नभएको समयमा उनी बुबाबाट यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । पछि उनले आमालाई घटनाबारे सुनाइन् ।
त्यसपछि महिमाको स्वास्थ्य उपचार, मनोपरामर्श र कानुनी उपचारका लागि सहयोग लिन महिमालाई लिएरै उनकी आमा काठमाडौँ आइन् । छोरीलाई लिएर परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा उनी पुगिन् ।
महिमा त एक उदाहरण मात्र हुन्, उनीजस्ता कयौँ बालिका तथा किशोरी आफन्तबाटै यौनजन्य दुर्व्यवहारमा पर्ने गरेका छन् । ओसीएमसीमा महिला, बालिकामात्रै नभएर किशोर तथा पुरुष पनि यौनशोषणमा परेको भन्दै प्रसूति गृहको ओसीएमसीमा उपचार, परामर्श र कानुनी उपचारका लागि आउने गरेका छन् ।
ओसीएमसीमा एचआईभी/एड्स लगायतका यौनजन्य रोगको सङ्क्रमण भयो कि भएन, यौन दुर्व्यवहार गर्नेलाई कसरी कानुनी कठघरामा उभ्याउन सकिन्छ भन्नेजस्ता उपचार÷परामर्श प्रदान गरिँदै आएको छ ।
लैङ्गिक तथा यौन हिंसाबाट प्रभावित, पीडित भई शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा प्रभावित भएका बालबालिका, महिला, पुरुष र तेस्रो लिङ्गी ओसीएमसीमा सेवा लिन पुग्ने गर्छन् ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ओसीएमसीेमा गत आर्थिक वर्षमा मात्रै ६६६ जनाले सेवा लिन पुगेको इन्चार्ज सुकुमाया तामाङले बताइन् ।
पीडितलाई उपचार, मनोवैज्ञानिक परामर्श, कानुनी लडाइँमा संघर्ष गरे पनि अन्तिममा पीडक र पीडित मिल्ने प्रवृत्तिले समस्या बनाएको उनको भनाइ छ । ‘पीडितको न्यायका लागि दिनरात नभनी मेहनत गर्छौँ,’ उनले भनिन्, ‘पछि पीडित नै होस्टाइल भइदिन्छन् ।’
हाडनाता करणी, साना बालिकामाथि यौन दुर्व्यवहार, लैङ्गिक हिंसा झेलेका महिला तथा बालबालिकाहरू ओसीएमसीमा पुगेपछि उपचार, परामर्श गरी कानुनी लडाइँका लागि सुरुमा तयार हुन्छन् तर, पीडकसँग मिलेर पछि आफ्नो बयान फेर्दा पीडकलाई कारबाहीको दायरामा ल्याउन भने कठिन हुने गरेको तामाङले बताइन् ।
करकाप तथा दबाबमा होस्टाइल भएकाहरू पछि फेरि सोही पीडकबाट यौन दुर्व्यवहारमा पर्ने सम्भावना रहने उनको भनाइ छ । पीडितले नै बयान फेरेको अवस्थामा प्रहरीले मुद्दा अघि बढाउन नमान्ने उनी बताउँछिन् । तर पछि फेरि पीडकबाट दुर्व्यवहार भएमा वा केही अन्तरालमा आफ्नो विचार परिवर्तन भएर पीडकमाथि मुद्दा प्रक्रिया अघि बढाउने निधोमा पुगेका सहज होस् भन्नका लागि हरेक पीडितको डीएनएलाई अस्पतालमै सुरक्षित राख्ने गरिएको पनि तामाङले बताइन् ।
तत्काल पुलिस केस गर्न मानेनन् र पछि पुलिस केस गर्छु भन्दै आउनेहरूलाई त्यसरी राखिएको डीएनए एउटा बलियो प्रमाण हुने उनको भनाइ छ । यसरी एक वर्षसम्म हरेक पीडितको डीएनए आफूहरूले सुरक्षित राख्ने गरेको उनले बताइन् ।
हालसम्म ६३९ वटा डीएनए नमुना संकलन गरिएको र विगत ६ महिनामा १८ वटा डीएनए परीक्षणका लागि नमुना राखिएको इन्चार्ज तामाङको भनाइ छ ।
कुन उमेर समूहका कति पीडित ?
प्रसूति गृहको तथ्याङ्क अनुसार साना बालबालिकादेखि लिएर वृद्धवृद्धासमेत यौनजन्य दुर्व्यवहारमा परेको पाइएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा पाँच वर्ष मुनिका २३ जना, ६–१० वर्षसम्मका ५२ जना, १०–१८ वर्ष सम्मका ४३ जना, १९–५९ वर्षसम्मको २३९, ६० देखिमाथिका ३ जनाले प्रसूति गृहको ओसीएमसीबाट सेवा लिएका छन् ।
ओसीएमसीेमा आएका सबै केसलाई यौनजन्य दुर्व्यवहार भनेर राख्ने गरिएको तामाङले बताइन् ।
कसले के सेवा लिए ?
ओसीएमसीमा सबैभन्दा बढी केस नेपाल प्रहरीमार्फत आएको तामाङको भनाइ छ । नेपाल प्रहरीमार्फत आएका ५७० जनाले ओसीएमसीमा सेवा लिएको तामाङले बताइन् ।
यस्तै, अस्पतालभित्रबाट ५, गैरसरकारी संस्थाबाट २३, अन्य स्वास्थ्य संस्थाबाट रिफर गरिएका २३ जना, राष्ट्रिय महिला आयोगबाट २ गरी ७२१ वटा केस प्रसूति गृहको ओसीएमसीले हेरेको थियो । यीमध्ये प्रहरीसँगै परिवारको जिम्मामा ५६४ जनालाई लगाइएको थियो । अन्यलाई पुनर्स्थापना र अन्य अस्पतालको समन्वयमा घरमै फर्काइएको थियो ।
ओसीएमसीमा आएका केसमध्ये ८९ जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको तामाङले बताइन् । भर्ना भएकामध्ये १२ हप्तासम्ममा गर्भपतन गराउने १८ जना थिए भने १२ देखि २८ सम्मको गर्भपतन गराउने ५० जना थिए ।
गर्भपतन गर्न नमिल्ने अवस्थामा पुगेका १४ जना भने सुत्केरी भएका थिए । यस्तै २१३ जनाले मनोपरामर्श लिएका थिए ।
अपाङ्गता भएका, आँखा नदेख्ने, हिँडडुल गर्न नसक्ने, मानसिक समस्या भएका, तोते बोली भएका, कान नसुन्ने लगायत गरी १३ जनाले सेवा लिएको तामाङले बताइन् ।
ओसीएमसीमा के–के सेवा पाइन्छ ?
अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा पुलिसमार्फत, आफैँ, महिला आयोग, अदालत, गैरसरकारी संस्था वा अस्पतालमार्फत आकस्मिक रूपमा सेवा लिन पुगेकालाई विभिन्न ७ प्रकारका सेवा उपलब्ध हुन्छ ।
ओसीएमसीमा उमेरको प्रमाणीकरण, कुटपिट, जबरजस्ती करणी, मानसिक अवस्थाको परीक्षण, यातना, शव परीक्षण, मृत्युको कारण, मृतकको सनाखत र कुनै घटनाको सम्बन्धमा प्रचलित कानुनबमोजिम गरिने चिकित्सकीय जाँच तथा परीक्षण गरिने तामाङ बताउँछिन् ।
यस्तै, सेवा लिन आएकाहरूलाई कानुनी उपचार, सुरक्षा, सेवा केन्द्र, मनोपरामर्श लगायतका सहयोग उपलब्ध गराइने ओसीएमसी इन्चार्ज तामाङले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको जागरणसभाका लागि र्याली सुरू (तस्बिरहरू)
-
प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा
-
‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’लाई एक करोड भ्युज
-
फ्राइडे रिलिज : ‘तेल भिसा’ भर्सेज ‘अग्निदहन’