सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भ : बाघ दिवस

बाघसँग लड्नेहरूको कथा

बाघको कान समाउनेदेखि मुखमा बोरा कोच्नेसम्म
शनिबार, १३ साउन २०८०, २० : २७
शनिबार, १३ साउन २०८०

काठमाडौँ । कैलालीको भजनी नगरपालिका ९, डोङपुर गाउँका ६७ वर्षीय बुधराम डंगौरा थारुले आफ्नो घरको भित्तामा मान्छे र बाघको लडाइँ भइरहेको अवस्थाको कलाकृति कोर्न लगाएका छन् । आफू दुई डमरुसहितको बघिनीसँग लडेर जितेपछि यस्तो चित्र कोर्न लगाएको उनी बताउँछन् ।

२०५७ साउन १५ गते, सदाझैँ बुधराम बरका बनुवा (ठूलो वन) अर्थात् बसन्ता वन क्षेत्रमा बंगुर चराउन गएका थिए । त्यतिबेला उनले ८० भन्दा बढी बंगुरपालन गरेका थिए । 

Art of budhram

त्यस दिन उनीसँग अरु केही साथी पनि थिए । उनका साथीहरू सोनियाताल छेउमा भेटिएको च्याउको तरकारी जंगलमै पकाइरहेका थिए । बुधराम केही साथी लिएर च्याउ खोज्न जंगल पसे । च्याउ खोज्दै गर्दा उनले नजिकै दुईवटा डमरुसहितको पाटे बघिनी देखे । उनीसँग गएका साथी रूखमा चढिसकेका थिए । उनले भने के गर्ने भनेर सोच्नै भ्याएका थिएनन् । बघिनी दौडँदै उनीतर्फ आयो । उनले छेउमा राखेको बन्चरो समाउन नपाउँदै बाघले झम्टिहाल्यो । 

Budhram tharu

बाघको पन्जा बुधरामको शरीरमा थियो । उनले बाघको दुवै कान समाउन भ्याइहाले । राति पानी परेकाले तालछेउमा घुँडासम्म पानी थियो । त्यो बेला गाउँकै बलियो मान्छे थिए बुधराम । उनले बाघको कानमा समाए । बाघले उनको शरीरभरि घाउ नै घाउ पारिसकेको थियो । ‘तैपनि मैले हार मानिनँ । मैले चिच्याएँ — तँ मलाई मार्छस् भने म पनि तँलाई मार्छु । एक हातले बाघको कान समातेँ, अर्को हातले बाघको मुखमा मुड्की बजार्न थालेँ,’ उनी भन्छन्, ‘कसोकसो बाघलाई पानीमा चोपल्न पनि भ्याएँ । केहीबेर पानीमा चोपेपछि बाघ थाक्यो । थाकेको महसुस गरेपछि छोडिदिएँ ।’

त्यतिबेला सँगै रहेका कन्हैया चौधरी बुधरामको साहसको प्रशंसा गर्छन् । ‘बाघलाई देखेपछि म त रुख चढिहालेँ,’ उनी भन्छन्, ‘केही गर्न सकिनँ तर साथीले साहसपूर्वक बाघसँग लड्यो र जित्यो ।’ 

बाघको मुखमा बोरा 

धान रोपाइँ सकिएपछि कैलालीको कैलारी गाउँपालिका ८, लोहरपुरका ६० वर्षीय लौटन डंगौरा थारुको दिनचर्या नजिकैको वनमा गएर च्याउ खोज्नु हुन्थ्यो । २०५९ असोज २४ गते, उनी गाउँकै साथी फागुराम चौधरीलाई लिएर वनमा च्याउ खोज्न निस्केका थिए । च्याउ टिप्दै जाँदा उनी वनको बीच भागसम्म पुगे । 

Lautan tharu

घर फर्कंदै गर्दा उनले बँदेल खेलेको स्थान भेटे । त्यहाँ पुग्नेबित्तिकै उनलाई बाघले झम्टन पुग्यो । ‘एकैचोटि पन्जाले हानेर बाघले मेरो टाउको र घाँटीको छाला निकालिदियो । बाघ मदेखि दुई हात बराबरको दूरीमा थियो । मैले हत्तपत्त च्याउ राख्ने बोरा बाघको मुखमा कोचिदिएँ,’ उनी भन्छन्, ‘दाँतमा बोरा अड्किएपछि बाघ पर हट्यो । त्यसपछि म रूख चढेँ ।  रातभरि त्यो बाघ रुखमुनि आएर बस्यो । अर्को दिन मात्रै मलाई गाउँलेले उद्धार गरे र उपचारका लागि नजिकैको बसौटी स्वास्थ्य चौकीमा लिएर गए ।’

बाघको पन्जा लागेर उनको अनुहारको हड्डी भाँचिएको छ । अनुहारमा ठूलो दाग अहिले पनि छ । 

बाघको आक्रमण

कैलारी गाउँपालिका ६, बेनौलीका परशुराम डंगौरा थारु २०५८ सालताका वनमा च्याउ खोज्न गएका थिए । साथीहरूभन्दा उनी अलि पर थिए । केही पर उनले बँदेल कराएजस्तो सुने । 

Prashu tahru

‘एकैछिनमा त मेरो अगाडिबाट उफ्रिएर बाघ गयो । अनि तुरुन्तै मतिर फर्कियो । यस्तो बेला भाग्नु हुन्न भन्ने मलाई थाहा थियो, म भागिनँ,’ उनी भन्छन्, ‘बाघ मेरो अगाडि मुख आँ गर्दै आयो । हँसिया राख्ने कट्टाले मुखमा हिर्काइदिएँ,  बाघ भाग्यो ।’

कैलारी गाउँपालिका ८, दुधियाका ३१ वर्षीय दुर्गा चौधरी कालको मुखबाट फर्किएको बताउँछन् । २०७७ माघ ३० गते उनी बिहेका लागि आवश्यक पात टिप्न गाउँ नजिकैको सामुदायिक वनमा गएका थिए । सो क्रममा उनलाई पछाडिबाट बाघले आक्रमण गर्‍यो । 

Durga Chaudhary

‘पछाडिबाट आक्रमण गरेपछि दुईपटक यताउति मलाई घिसार्‍यो । तेस्रोपटक घिसार्न लाग्दा म लौरो लिएर बाघतिर फर्किएँ, तैपनि बाघले मलाई झम्टन खोजिरहेको थियो । गाउँलेहरू आएर होहल्ला गरेपछि मात्रै भाग्यो ।’ दुर्गाको पिठ्युँमा बाघको पन्जाको निसान रहेको छ ।

बाघको पुस्तैनी वासस्थान

कैलालीको बरका बनुवाको नामले चिनिने बसन्ता जैविक मार्ग, राजघाट, अण्डैया, तालबन्द, डुडेझारी, बारावन र फल्ले बिसौनी क्षेत्र बाघको पुस्तैनी वासस्थान रहेको बताइन्छ ।

राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत संरक्षणकर्मी विजयराज श्रेष्ठ कैलालीको जंगलमा बाघ धेरै पहिलेदेखि रहेको बताउँछन् ।

‘समय–समयमा बाघ र मानवबीचको लडाइँले वर्षौंदेखि कैलालीमा बाघ रहेको पुष्टि गर्छ,’ श्रेष्ठले भने, ‘बाघहरू बाहिरबाट आएको नभई कैलालीकै हुन् । हामीले त वर्षौंदेखि कैलालीमा बाघ छ भन्दै आएका थियौँ, तर कसैले पत्याएका थिएनन् ।’

बाघबाट हुने क्षति न्यूनीकरणका लागि मानिसले नै संवेदनशीलताका साथ सचेतता अपनाउनुपर्ने उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप