शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भ : बाघ दिवस

बाघको स्वभाव र संसार : कस्तो बाघले मानिसलाई आक्रमण गर्छ ?

शनिबार, १३ साउन २०८०, १८ : ३१
शनिबार, १३ साउन २०८०

मानिसले शक्तिशाली व्यक्तिकै कथा बनाउँछ, इतिहास लेख्छ । मानिसका कथा र संस्कृतिसँग जंगलको शक्तिशाली जनावर बाघ कहिलेदेखि जोडिँदै आयो ? यसको यकिन इतिहास वा मिति पाउन सकिँदैन । 

हिन्दु पौराणिक कथाहरूमा बाघलाई देवी दुर्गाको वाहन मानिन्छ । यस्तै, भगवान् शिवले बाघको छाला लगाएको वा छालामाथि विराजमान भएर ध्यानमा लीन हुने गरेको कथा छन् । 

चिनियाँ पात्रो अनुसार, हरेक १२ वर्षपछि आउने एक वर्षलाई बाघ वर्षका रूपमा मनाइन्छ । बाघ वर्षमा जन्मने बालबालिका भाग्यमानी हुने समेत चिनियाँ विश्वास छ । बाघको उत्पत्ति पनि चीनमै भएको मानिन्छ । 

प्लेइस्टोसिन युग (१८ लाख – १० हजार ईशापूर्व) देखि बाघ पृथ्वीमा रहँदै आएको छ । करिब २० लाख वर्षअघिको बाघको जीवाश्म चीनमा पहिचान भएको थियो । वैज्ञानिकको विश्वास छ, बाघको प्रजाति पहिले चीनमा विकसित भयो र त्यसपछि एसियाभर फैलियो, (सन् २०१० मा प्रकाशित जोन भेइलेन्टको पुस्तक ‘द टाइगर’) । 

लगभग एक सय वर्षअगाडि विभिन्न देशमा करिब एक लाखको संख्यामा बाघ रहेको अनुमान गरिएको थियो । 

बाघविज्ञ डा. बाबुराम लामिछानेका अनुसार, हाल संसारभर जंगली बाघ पाँच हजारको हाराहारीमा रहेको मानिएको छ । चिडियाघरमा राखिएका बाघलाई जोड्ने हो भने यो संख्या दोब्बर हुन सक्छ ।

२०७६ सालमा प्रकाशित हेमसागर बरालको पुस्तक ‘पाटेबाघ’मा उल्लेख भएअनुसार, हाल विभिन्न १३ देश (नेपाल, भारत, चीन, भुटान, म्यानमार, मलेसिया, इन्डोनेसिया, रुस, थाइल्यान्ड, भियतनाम, बंगलादेश, लाओस र कम्बोडिया)मा बाघ पाइन्छन् । यीमध्ये भियतनाम, लाओस र कम्बोडियाबाट बाघ प्रायः लोप भएको अनुमान गरिएको छ । प्राकृतिक रूपमा प्रजनन भएका बाघ मात्र विभिन्न ८ देशमा सीमित रहेको मानिन्छ ।

बराल लेख्छन्, ‘विश्वमा दुई करोड ५० लाख वर्षअगाडि बिरालाका प्रजातिहरू अस्तित्वमा आएको विश्वास गरिएको छ । बिरालाको प्रजातिको ‘फेलिडाय’ परिवारको प्यान्थेरा प्रजातिमा बाघ पर्छ । फेलिडाय परिवारमा ठूला, मझौला र साना जंगली बिराला गरी ३६ प्रकारका जंगली बिरालाका प्रजाति रहेका छन् । यीमध्ये नेपालमा १२ प्रकारका बिराला प्रजाति पाइन्छन् । जसमा वनबिरालो, चरीबाघ, छिरबिरे बिरालो, मलाहा बिरालो, सुनौलो बिरालो, पाहन बिरालो, ध्वाँसे चितुवा, हिउँचितुवा, चितुवा, पाटेबाघ, खियाथोप्ले बिरालो र पलासको बिरालो छन् ।’

बाघविज्ञ लामिछानेका अनुसार भने संसारमा ४१ वटा बिरालोका प्रजाति पाइन्छन् । त्यसमध्ये सबैभन्दा ठूलो बिरालो हो, बाघ । 

बरालको उपर्युक्त पुस्तक अनुसार, बाघका नौवटा उपप्रजातिमध्ये हाल विभिन्न पाँच उपप्रजातिका बाघ मात्र अस्तित्वमा छन् : १) साइबेरियाली बाघ अर्थात् अमुर बाघ, जो रुसको साइबेरिया र यससँग सीमा जोडिएको चीनको एक कुनामा समेत पाइन्छ । २) इन्डोचाइनिज बाघ, जो चीन, थाइल्यान्ड, कम्बोडिया, लाओस्, म्यानमार र भियतनाममा पाइन्छ । ३) पाटेबाघ, जो नेपाल, भारत, बंगलादेश र भुटानमा पाइन्छ । ४) मलाया बाघ, जो मलेसियाको मलाया उपमहाद्वीपको दक्षिणी तथा केन्द्रीय भूभागमा पाइन्छ । ५) सुमात्राली बाघ, जो इन्डोनेसियाको सुमात्रा टापुमा पाइन्छ । 

इन्डोनेसियाको बाली टापुमा पाइने ‘बाली बाघ’ सन् १९९० को दशकदेखि लोप भएको अनुमान गरिएको छ । यस्तै, इन्डोनेसियाको जाभा टापुमा पाइने ‘जाभा बाघ’ सन् १९७२ यता देखिएको छैन । क्यास्पियन बाघ अर्थात् पर्सियन बाघ २०औँ शताब्दीको अन्त्यतिर विश्वबाटै लोप भएको अनुमान गरिएको छ । झन्डै ५० वर्षयता साउथचाइना बाघ पनि लोप भएको अनुमान गरिएको छ । चीनको प्रजनन केन्द्रमा भने ५९ को संख्यामा यो बाघ रहेको बताइन्छ । 

राणाशासकको सिकार

प्रकृतिको बलियो मांसाहारी प्राणी भएकाले बाघ रहनका लागि विशेष वातावरण आवश्यक पर्छ । पहिलो त प्रशस्त मात्रामा आहारा प्रजाति हुनैपर्छ । 

बाघको आहारा प्रजातिमा चित्तल, जरायो, बाह्रसिंगा, बँदेल, रतुवा मृग, गौरीगाई आदि पर्छन् । कहिलेकाहीँ आहारा नपाउँदा बाघले गैँडा र हात्तीका बच्चा समेतको सिकार गर्ने गर्छ । बाघको अस्तित्व रहनलाई आहारा प्रजातिको अस्तित्व रहनैपर्‍यो । आहारा प्रजाति रहन घाँस र पानीसहितको वन हुनैपर्‍यो । मानिसको जनसंख्या बढेसँगै बाघको वासस्थान मासिँदै गएकाले बाघको अस्तित्व संकटमा पर्दै गएको छ । 

हाम्रो हकमा खासगरी तराईका घाँसेमैदान तथा वनहरूमा बाघ पाइन्छन् । राणाशासन कालमा उच्च पदस्थ व्यक्तिहरू सोखका लागि सिकार खेल्थे । उनीहरूको निसाना बाघमै केन्द्रित हुन्थ्यो, बाघ मार्नुलाई उनीहरू बहादुरीको रूपमा लिन्थे ।  

राणाशासकले बेलायती उच्चपदस्थ कर्मचारी तथा राजघरानाका विशिष्ट व्यक्तिलाई वन्यजन्तुको सिकारका लागि आमन्त्रित गरिरहन्थे । सन् १९११ मा बेलायतका तत्कालीन राजा जर्ज पाँचौँ नेपाल आएर तराईमा १० दिन सिकार खेलेका थिए । त्यतिबेला उनले ३९ वटा पाटेबाघ, १८ वटा एकसिंगे गैँडा, ४ वटा रुख भालु मारेको अभिलेख छ । 

१० दिनमै ३९ वटा बाघ मारेको घटनाले संकेत गर्छ, त्यतिबेला बाघको संख्या निकै थियो । सन् २००९ मा आइपुग्दा नेपालमा पाटेबाघको संख्या १२१ थियो । सन् २०२२ को अध्ययन अनुसार, नेपालमा बाघको संख्या ३५५ रहेको छ । सबैभन्दा बढी चितवनमा १२८, बर्दिया र आसपासमा १२५, पर्सा र आसपासमा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् । 

बाघविज्ञ लामिछानेका अनुसार, यसमा कति भाले, कति पोथी, कति वयस्क वा वृद्ध भन्ने छुट्ट्याइएको छैन । यी बाघको गणना वा अनुसन्धानका लागि बाघ पाइने जंगलमा क्यामेरा राखिएका थिए । बाघको शरीरमा हुने रेखा प्रत्येकको फरक हुने हुँदा तस्बिर खिचेर बाघको गणना गर्न समस्या हुँदैन । तस्बिर हेरेरै वा सफ्टवेयरका माध्यमबाट एकदेखि अर्को बाघ छुट्ट्याउन सकिन्छ ।

संरक्षण प्रयास

प्राकृतिक सन्तुलनका लागि बाघको संरक्षण गर्नुपर्छ भन्ने चेतना मानिसमा धेरै अघिदेखि थियो । यद्यपि बाघ संरक्षणको कडा प्रतिबद्धता र कार्यक्रम १२ वर्षअघि अर्थात् सन् २०१० देखि सुरु भएको हो ।

सन् २०१० को नोभेम्बरमा रुसको सेन्टपिटर्सबर्गमा भएको प्रथम अन्तर्राष्ट्रिय बाघ सम्मलेनमा १० वर्षभित्र बाघको संख्या दोब्बर बढाउने प्रतिबद्धता गरिएको थियो । बाघ पाइने १३ देशका उच्च नेतृत्व सहभागी रहेको सो सम्मेलनले त्यतिबेला अनुमानित ३२०० को हाराहारीमा रहेका बाघलाई सन् २०२२ सम्म ६४०० पुर्‍याउने लक्ष्यका साथ विश्व बाघ पुनस्र्थापना कार्यक्रम ल्याएको थियो । 

राष्ट्रिय प्राकृतिक संरक्षण कोषका निर्देशक एवम् वन्यजन्तुविज्ञ डा.नरेश सुवेदीकाअनुसार, बाघका लागि सबैभन्दा खतरा वासस्थानको विनाश हो । ‘विश्वभरको अवस्था हेर्दा, पहिले बाघ जति भूभागमा बस्थे, त्यसको ९३ प्रतिशत मानिसले ओगटिसके । यतिबेला बाँकी सात प्रतिशत भूभागमा मात्रै बाघ छन्,’ वन्यजन्तुविज्ञ सुवेदी भन्छन्, ‘यसमा पनि सडक, रेल, बिजुलीको लाइन र अन्य संरचनाले ओगट्ने क्रम बढ्दो छ । यसपछि आउँछ, चोरी सिकारी । बाघका अंग बढीजसो चीनमा जाने गरेका छन् ।’

बरालको पुस्तक अनुसार, यौनोत्तेजना बढाउने लगायत विभिन्न किसिमका रोग निको पार्ने औषधि बनाउन चीनमा बाघका अंगको माग हुने गरेको छ । यद्यपि, हालसम्मको वैज्ञानिक अध्ययनले बाघको अंग औषधिका रूपमा प्रयोग हुने प्रमाणित भएको छैन । 

वन्यजन्तुविज्ञ सुवेदीका अनुसार, अहिले बाघका लागि अर्को चुनौती थपिएको छ, क्यानाइन डिस्टेम्पर भाइरस । यो भाइरसले बाघको दाह्रा गलाउँछ । हामीकहाँ पछिल्लो डेढ वर्षको बीचमा चितुवा र बाघमा यो भाइरस देखियो । यो भाइरस खासगरी कुकुर र बिरालोमा बढी हुन्छ । यी जनावरको सिकार गर्दा बाघमा भाइरस सर्ने खतरा रहन्छ । अथवा, यी जनावरको सिकार चितुवाले गर्‍यो चितुवासँग बाघको लडाइँ पर्‍यो भने भाइरस सर्ने खतरा रहन्छ । 

बाघको स्वभाव

हामी धेरैले सुनेका हुन सक्छौँ, बाघले आफ्नो रजाइँ क्षेत्र बनाएर एक्लै बस्छ । बाघ समूहमा बस्ने भनेकै आमाको काखमा रहँदासम्म हो । यसपछि गर्भधारणका लागि बढीमा चार दिनसम्म मात्रै भाले र पोथीसँगै बस्छन् । 

२०५८ मा प्रकाशित जनार्दन ढकालको पुस्तक पाटेबाघ (रोयल बेङ्गल टाइगर)का अनुसार, पाटेबाघले जंगलको निश्चित क्षेत्रलाई आफ्नो वासस्थानका रूपमा ओगटेको हुन्छ । 

एउटा भाले पाटेबाघले ४५ देखि १०० वर्ग किमि क्षेत्र ओगट्न सक्छ । यसरी ओगटेको क्षेत्रमा उसले राति नियमित गस्ती गर्छ । यस्तै एउटा पोथी पाटेबाघले १० देखि ३५ वर्ग किमि क्षेत्रफल ओगट्न सक्छ । 

पाटेबाघले आफ्नो साँध लगाउन वा आफ्नो अस्तित्व वा उपस्थिति जनाउन गन्ध छर्ने (दिसापिसाबका माध्यमबाट), भुइँ खोस्रने, रुखका बोक्रा कोपर्ने, लडिबुडी गर्ने र डुक्रने गर्छ । 

बाघविज्ञ लामिछानेका अनुसार, एउटा बाघको क्षेत्रमा अर्को बाघ नआउने होइन, अर्को बाघले आफ्नो क्षेत्र बनाउँदै आउँदा त्यसमा पहिलेको बाघको क्षेत्र पनि परेको अर्थात् ओभरल्यापिङ भएको हुन सक्छ । त्यस क्षेत्रमा दुई बाघ भेट हुँदा लडाइँ हुन्छ र लडाइँबाट एउटा घाइते हुने वा मर्नेसम्मको सम्भावना रहन्छ । हामीकहाँ पछिल्लो समय एकै स्थानमा राखिएका क्यामेरामा फरक–फरक समयमा पाँच–सातवटा बाघ कैद भएका पनि छन् । 

जंगली बाघको औसत आयु १६ वर्ष हो, चिडियाघरका बाघ २० वर्षसम्म बाँचेको पाइन्छ । आफैँले सिकार गरी खान नसक्ने हुँदासम्म अर्थात् दुईदेखि अढाइ वर्षसम्म पोथी बाघले आफ्ना बच्चालाई आफ्नै साथमा राख्छे र आफ्ना सन्तानलाई सिकार खेल्न सिकाउँछे । यो बीचमा उसले बच्चा पाउनका लागि भालेसँग संसर्ग गर्दिनँ । 

आफैँ सिकार गर्न सक्ने भएपछि बाघ आमासँग छुट्टिन्छ । यसरी छुट्टिएको भाले बाघले आफ्नी आमा र दिदीबहिनीभन्दा पर आहारा प्रजाति रहेको जंगलमा गई आफ्नो रजाइँ क्षेत्र बनाउँछ । पोथीहरू भने आमाको नजिकै क्षेत्र बनाएर बस्छन् । ‘कहिलेकाहीँ आमाले छोरीका लागि क्षेत्र छाडेर आफू अन्यत्र लागेको पनि देखिएको छ,’ बाघविज्ञ लामिछाने भन्छन्, ‘तर भालेले आमासहितको क्षेत्र लिएर बसेको देखिएको छैन । भाले हुर्केपछि आमालाई छाडेर निकै पर जान्छ । भालेले कुनै आफ्नो क्षेत्र बनायो, आफ्नो क्षेत्रभित्र पर्ने पोथीको अर्कै बाघका सन्तान छन् भने तिनलाई उसले मारिदिन्छ । भनिन्छ, बाघले आफ्नो वंश विस्तार गर्न चाहन्छ र अर्काको बच्चालाई मारिदिन्छ, तर यसो हुनुको यही कारण हो भनी विज्ञानले प्रमाणित गरिसकेको छैन । सेक्सका लागि पनि त्यसरी मारेको हुन सक्छ ।’  

पोथीले प्रायः तीन वर्षको उमेरदेखि बच्चा पाउन थाल्छ । एक बेतमा दुईदेखि पाँचवटा बच्चा पाउँछ र बढीमा तीनवटासम्म हुर्काउँछ । कतिले पाँचैवटा हुर्काएको पनि पाइएको छ । पोथीले आफ्ना साना सन्तानलाई झाडी वा गुफामा लुकाएर राख्छे । ऊ सिकार गर्न गएका बेला यी साना बच्चालाई अन्य हिंस्रक जीवले खाइदिने सम्भावना बढी हुन्छ । 

बाघले आफ्नो क्षेत्र बनाउने सिकारकै लागि भन्ने बुझिन्छ । बाघको स्वभाव केही अल्छी प्रकृतिको हुन्छ । उसले कुनै आहारालाई धेरैबेर लखेटेर सिकार गर्दैन । बाघ एम्बुस हन्टर हो, अर्थात् ऊ आहारा प्रजाति आउने बाटो वा ठाउँ ढुकेर बस्छ । आहारा प्रजाति नजिकै आएपछि भएभरको शक्तिले आक्रमण गर्छ, पहिलो प्रयासमै सफल भयो भने भयो, नत्र धेरैबेर लखेट्दैन । यहाँनेर यस्तो लाग्छ, ऊ आफ्ना आहारा प्रजाति भागेर टाढा जाऊन् भन्ने चाहँदैन ।   

भर्खर आमालाई छाडेर हिँडेको भाले बाघ सर्वप्रथम आफ्नो क्षेत्रको खोजीमा रहन्छ । ऊ पुगेको ठाउँ अर्को अनुभवी बाघको क्षेत्र हो भने ऊ त्यससँग भिड्नुपर्ने हुन्छ । भर्खरको बाघसँग अनुभव कम हुने हुँदा लडाइँमा उसको मृत्यु हुने सम्भावना प्रबल रहन्छ । 

खासगरी भर्खर आमालाई छाडेर हिँडेको कलिलो भाले बाघ घाइते हुने वा मर्ने सम्भावना बढी हुन्छ । 

मानव र बाघ द्वन्द्व

बाघले सितिमिती मानिसलाई आक्रमण वा सिकार गर्दैन । वास्तवमा बाघ मान्छेको समूहसँग डराउँछ । सिकारी युगका मानिसले समूहमा गई बाघको सिकार गरेको हुँदा बाघ मानिसको समूहसँग डराउँदै आएको हुन सक्ने बाघविज्ञ लामिछाने बताउँछन् । यद्यपि बाघले मानिसलाई आक्रमण गरी मार्दै आएको छ । 

हामीकहाँ बाघको संख्या बढेसँगै बाघको आक्रमणबाट हुने मानवीय र पशुधनको क्षति पनि बढेको छ । वन्यजन्तु संरक्षण विभागको तथ्यांंक अनुसार, पछिल्लो पाँच वर्षमा बाघको आक्रमणबाट देशभर ५८ व्यक्तिको ज्यान गएको छ भने एक हजार पाँच सय १० वटा पशुधनको क्षति भएको छ । 

बाघबाट धनजनको क्षति

 table

खासगरी लडाइँमा घाइते भएको, भर्खर आमासँग छुट्टिएको तर सिकारमा अभ्यस्त भइनसकेको, आफ्नो क्षेत्र नभएको, घरपालुवा जनावर खान पल्केको वा वृद्ध बाघ मानव बस्तीतिर पस्ने गर्छ । यस्ता बाघले मानिसलाई पनि सिकार गर्ने खतरा रहन्छ । मान्छेलाई आक्रमण गर्नेमा बच्चासहितको माउ बाघ पनि पर्छ । उसले आफ्नो सन्तानको सुरक्षाका लागि आक्रमण गर्ने गर्छ । कुनै बाघले भर्खरै सिकार गरेको छ, त्यही बेला कोही मानिस पुग्यो भने उसले आफ्नो सिकार खोस्न आएको ठानेर आक्रमण गर्न सक्छ ।  

बाघविज्ञ लामिछानेका अनुसार, बाघले मान्छेलाई सितिमिती आक्रमण गर्दैन । खासगरी निहुरेर काम गरिरहेका मानिसलाई बाघले आक्रमण गरेको देखिएको छ । निहुरिँदा मान्छे होँचो देखिने भएकाले बाघले मानिस बाहेकको अन्य जन्तु सम्झेर आक्रमण गरेको हुन सक्छ । यद्यपि सबै बाघले मानिसलाई आक्रमण गर्दैनन् । धेरैजसो बाघ मान्छेको गन्ध पाएपछि नजिकै पर्दैनन् । बाघले आक्रमण गरेपछि बढीजसो केसमा मारेरै छाड्छ । बाघको आक्रमण परेकामध्ये ७० प्रतिशतको ज्यान गएको पाइएको छ । 

बाघको आक्रमणबाट जोगिन सक्ने केही उपाय छन् । त्यसमा पहिलो हो, बाघको निगरानी । वन्यजन्तुविद् सुवेदीका अनुसार, निकुञ्जका कर्मचारी वा अन्य सरकारी निकायले जंगलमा बाघहरूको गतिविधि नियालिरहनुपर्छ । बस्ती, बाटो वा सडक छेउछाउमा क्यामेरा राखेर बाघको बारेमा निगरानी गर्न सकिन्छ । कुन बाघ घाइते छ, घरपालुवा जनावर खानका लागि बस्ती छेउछाउ बस्दै छ भन्ने पत्ता लगाई तिनलाई नियन्त्रणमा राखिनुपर्छ । अर्कोतिर समस्या सिर्जना गर्ने बाघलाई नियन्त्रणमा लिई ‘रेडियो कलर’ लगाएर निगरानी गर्न सकिन्छ । त्यो बाघ जुन क्षेत्रमा छ, त्यताका मानिसलाई सचेत बनाउन सकिन्छ । यस्तै त्यो बाघ गाउँतिर पस्न लाग्यो भने त्यहाँ सुरक्षाकर्मी खटाउन सकिन्छ । 

‘बाघले मान्छे मारिसकेपछि बाघ समाउन कर्मचारी जाने होइन, उनीहरूले समस्या सिर्जना गर्ने बाघको बारेमा पहिले नै निगरानी गर्न सक्छन्,’ सुवेदी भन्छन्, ‘अर्को कुरा बाघको आनीबानी र स्वभावबारे जनतालाई जानकारी दिइनुपर्छ ।’ 

उनका अनुसार, बाघसँग बच्न एक्लै नहिँडी समूहमा हिँड्नु, समस्या सिर्जना गर्ने बाघ रहेको जंगलतिर नजानु, समस्या सिर्जना गर्ने बाघको पहिचान गरी नियन्त्रण लिई चिडियाघरमा राख्नु नै बाघबाट हुने क्षति कम गर्ने उपाय हुन् ।

वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० मा घरपालुवा पशुको मृत्यु भएमा १० हजारदेखि ६० हजार रूपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ । जनताको पशुधनको क्षति हुँदा बिनाझन्झट सरकारले क्षतिपूर्ति दिने पनि व्यवस्था गरिनुपर्छ ।

अर्कोतिर, राज्यले वन छेउछाउमा रहेका जनताको गरिबी न्यूनीकरणमा पनि ध्यान दिनुपर्छ । कति जीविकाका लागि मानिस माछा मार्न, दाउराघाँस गर्न, कन्दमूल खोज्न जंगल वा खोला छेउछाउतिर जान बाध्य छन् । राज्यले उनीहरूको रोजगारी वा स्वरोजगारीमा ध्यान दिनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप