शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय
विचार

शिक्षित जनशक्ति किन अनिकालको ढिकीजस्तो भइरहेछ ?

शनिबार, १३ साउन २०८०, १५ : ४३
शनिबार, १३ साउन २०८०

एक मित्रले मलाई प्रश्न गरे — ‘तपाईंले पढेर के गर्नुभयो ? न तपाईंहरूसँग प्रशस्त पैसा छ, न हातमा जागिर छ, न ठाउँ(सहर)मा बसेर केही गर्नुभएको छ, न त राम्रो लवाइखवाइ देखिन्छ । हामीले नपढे पनि विदेशमा दुःख गरेर आर्थिक र सामाजिक प्रतिष्ठा कमाएका छौँ । परिवारलाई सुख–सयलमा राखेकै छौँ, तपाईंहरू पढेकाले के गर्नुभएको छ ?’

यी र यस्ता कुराले आजकल मलाई खुब पिरोलिरहेको छ । दुःखसुख त पढियो, स्नातकोत्तर गर्नु चानचुने होइन, तर के ती मित्रले भनेजस्तै हो त मेरो पढाइ ? पढेर हासिल गरेको ज्ञान र सीपलाई प्रयोग नगर्ने हो भने शिक्षाको सार्थकता के ? यसमा मेरो दोष छ कि मेरो देशको शिक्षा प्रणालीको ? शिक्षित, सभ्य र सम्पन्न भएर राष्ट्रका लागि केही योगदान गर्न मैले पढेँ, तर म कहाँ चुकेँ वा मेरो देश कहाँ चुक्यो ? ती मित्रले भनेजस्तो शिक्षितलाई मापन गर्ने साधन नै सम्पन्नता हो भने मेरो शिक्षाले बाटो कहाँ बिराएको हो ? यस सम्बन्ध्मा गम्भीर बहस हुन आवश्यक छ ।

दार्शनिक हिसाबले हेर्दा शिक्षा हासिल गर्ने चेतनाका लागि, परिवर्तन र रूपान्तरणका लागि हो । व्यावहारिक हिसाबले हेर्दा शिक्षा जीविकोपार्जनका लागि सहायक हुनुपर्छ । अर्थात् पढेपछि कि जागिर खानुपर्‍यो कि शिक्षा अनुसारको कुनै उद्यममा लाग्नुपर्‍यो । 

समय, माटोको आवश्यकता र परिस्थितिको नजरअन्दाज नगरी अनावश्यक शैक्षिक जनशक्ति मात्र उत्पादन गर्ने हो भने त्यो जनशक्ति कि पलायन हुनुपर्छ कि राज्य र समाजको अभिशाप भएर रहनुपर्ने हुन्छ । 

देशमै रोजगारी, स्वरोजगारी वा वैदेशिक रोजगारी गर्न सक्ने व्यावहारिक खालको शिक्षा हुनुपर्ने हो । वा, राज्यले आवश्यक अनुसार शैक्षिक जनशक्ति उत्पादन गर्ने र ती शैक्षिक जनशक्तिलाई समुचित व्यवस्थापन गर्नुपर्ने हो । यसका लागि माटो अनुसार शिक्षा नीति बनाउने र ती शिक्षित जनशक्तिलाई उचित व्यवस्थान गर्न अनिवार्य वार्षिक क्यालेन्डर प्रकाशन गरेर लोकसेवा आयोग, शिक्षक सेवा आयोग, त्रिवि सेवा आयोग, सेना–प्रहरी लगायतमा विज्ञापन खोलिनुपर्छ । अनि मात्र शिक्षित जनशक्तिले समयमा रोजगारी पाउने सम्भावना हुन्छ । एकातिर उमेरको हद लगाउने, अर्कातिर वार्षिक क्यालेन्डरका आधारमा विज्ञापन नखोल्ने हो भने शैक्षिक बेरोजगार उत्पादन भइरहन्छन् । 

शैक्षिक बेरोजगार देशका लागि ठूलो चुनौती हुने कुरामा दुई मत नहोला । शैक्षिक बेरोजगारहरूलाई व्यवस्थापन गर्न स्वरोजगारमा राज्यले जोड दिनुपर्छ । त्यसका लागि शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रवाह गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । नेपालमा व्यावहारिक वैज्ञानिक शिक्षाको राजनीतिक नारा बनाएर भाषण गरेको धेरै भइसक्यो, राजनीतिक परिवर्तन पनि भयो तर शिक्षाको नयाँ मोडल आजसम्म देख्न सकिएको छैन । वैज्ञानिक, व्यावहारिक शिक्षा हाम्रा लागि उडन्ते गफजस्ता मात्रै भएका छन् । 

समय, माटोको आवश्यकता र परिस्थितिको नजरअन्दाज नगरी अनावश्यक शैक्षिक जनशक्ति मात्र उत्पादन गर्ने हो भने त्यो जनशक्ति कि पलायन हुनुपर्छ कि राज्य र समाजको अभिशाप भएर रहनुपर्ने हुन्छ । 

एक तथ्याङ्क अनुसार, हाम्रो देशका ४० प्रतिशत इन्जिनियर, ५० प्रतिशत डाक्टर, ५७ प्रतिशत पाइलट, ६० प्रतिशत नर्स बिदेसिएका छन् । उनीहरूले कमाएर देशलाई रेमिटान्स दिने एकातिर छ, यी दक्ष जनशक्तिलाई देशमै प्रयोग गर्न सकेको भए देशले दीर्घकालीन लाभ लिन सक्ने कुरा अर्कोतिर छ । शिक्षालाई श्रमसँग जोड्ने, आवश्यकताका आधारमा जनशक्ति उत्पादन गर्ने र उत्पादित जनशक्तिलाई उचित व्यवस्थापन गर्ने राज्यको नीति नहुँदा दक्ष जनशक्ति विदेश पलायन हुनुपर्ने र अन्य शैक्षिक जनशक्ति पनि अनिकालको ढिकी लडेजस्तो समाजमा अपहेलित हुनुपर्ने अवस्था छ । 

देशको विकास र समृद्धिका लागि शिक्षालाई प्राथमिकता दिनुको विकल्प छैन, तर शिक्षा वैज्ञानिक र व्यावहारिक बनाउन आवश्यक छ । आज नेपालको मलिलो माटो बाँझो छ, अर्बौंका खाद्य सामाग्री विदेशबाट आयात गर्नुपरेको छ । स्थानीय स्रोत–साधन नासिएर गइरहेका छन्, हामी परमुखी भएर बसेका छौँ । वैज्ञानिक, माटो सुहाउँदो व्यावहारिक शिक्षा नीति भएको भए भने दक्ष जनशक्तिले देश छाड्नुपर्दैनथ्यो । हुन त विश्वव्यापीकरण भइरहेका बेला व्यक्तिले अवसर खोज्दै विभिन्न देश जानु सामान्य हो, राज्यसँग आफ्नै उत्पादन बढाउने नीति भने अवश्यक चाहिन्छ । 

उपयोगिताको सिद्धान्त प्रयोग नै हो, यसले सामाजिक र प्रजातान्त्रिक दृष्टिकोणमा जोड दिँदै आध्यात्मिक वस्तु कल्पना मात्र हो भन्ने स्वीकार गर्छ ।

अब शिक्षा प्रणालीको कुरा गरौँ । आजका विद्यालय, कलेज र विश्वविद्यालयले सैद्धान्तिक पक्षलाई मात्र जोड दिएको देखिन्छ । जतिसक्दो सर्टिफिकेटहरू संकलन गर्ने कार्यलाई प्रश्रय दिएको देखिन्छ । जबसम्म व्यावहारिक शिक्षामा जोड दिँदैनौ, तबसम्म शैक्षिक बेरोजगार पनि हट्न सक्दैन । हामीले अँगालेको शिक्षा नीति परम्परावादी, अवैज्ञानिक छ भन्दा फरक नपर्ला । हामीले भाषालाई एकअर्कामा आदान–प्रदान हुने सञ्चारको माध्यम मात्र मानेका छौँ, तर विश्वमा भाषा व्यापार हो भन्ने सिद्ध भइसकेको छ । आजको दुनियाँमा शिक्षालाई सम्पन्नतासँग जोड्न सकिएन भने देशकै लागि अभिशाप सिवाय अरु केही हुन्न । 

संसारमा देखिएको नयाँ शैक्षिक दर्शन भनेको शिक्षामा प्रगतिवाद हो । यसलाई अमेरिकाले अँगालेको छ । त्यसैले यसलाई अमेरिकन शैक्षिक दर्शन पनि भनिन्छ । यो दर्शन हामीले वर्षौंदेखि भन्दै आएको वैज्ञानिक र व्यावहारिक शिक्षाभन्दा भिन्न ढंगले व्यावहारवाद (प्रागम्याटिजम्), उपकरणवाद (इन्स्ट्र्युमेन्टालिजम्), प्रयोगवाद, पुनर्संरचनावाद हुँदै प्रगतिवाद भएको पाइन्छ । यसले सत्य सधैँ परिवर्तनशील रहने दार्शनिक आधारलाई विश्वास गर्दछ र सत्य मानव निर्मित हुन्छ भन्ने कुरामा जोड दिन्छ । 

उपयोगिताको सिद्धान्त प्रयोग नै हो, यसले सामाजिक र प्रजातान्त्रिक दृष्टिकोणमा जोड दिँदै आध्यात्मिक वस्तु कल्पना मात्र हो भन्ने स्वीकार गर्छ । हामीले पढेको शिक्षा वा हासिल गरेको ज्ञानको उपयोगिता भएन भने त्यो प्रगतिवादी शिक्षा हुन सक्दैन । शैक्षिक प्रगतिवादले मानवीय क्रियाकलापमा जोड दिन्छ । मानवीय क्रियाकलाप भनेको प्रमुख आर्थिक नै हो । शिक्षित भएर पनि बेरोजगार र विपन्नतामा बाँचेको छ भने उसले प्राप्त गरेको ज्ञानको उपादेयता सकियो भन्ने अर्थ लाग्छ । 

दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले भनेका छन् — शिक्षा यस्तो हतियार हो, जसको माध्यमबाट गरिबी निर्मूल गर्न सकिन्छ ।

शिक्षा क्षेत्रमा प्रयोगवादको प्रयोग यसरी हुन्छ कि शिक्षा क्रियाशील हुनुपर्छ र बालकको चाखसँग सम्बन्धित हुनुपर्छ भन्ने हो । राज्यले उत्पादन गरेका दक्ष जनशक्तिलाई व्यवस्थापन गर्न नसकेपछि शिक्षाको क्रियाशीलताको औचित्य पनि समाप्त हुने नै भयो । प्रगतिवादी शिक्षामा समस्या समाधानबाट विद्यार्थीले सिक्छन् । विद्यालयले प्रतिस्पर्धाको सट्टा सहयोगमा जोड दिनुपर्छ । 

शिक्षा र प्रजातन्त्र एक–अर्कामा सम्बन्धित छन् । मानवीय श्रेष्ठता उसको क्षमताले देखाउँछ तर उसको सम्पत्तिले होइन । शिक्षामा नवीन दर्शन अँगालेका कारण आज अमेरिका विश्वको वैभवशाली देश भएको छ । उक्त प्रगतिवादी शिक्षा हामीले अँगाल्न सकेका छैनौँ, त्यसैले हाम्रो शिक्षा प्रणाली व्यावहारिक वैज्ञानिक हुन सकेको छैन । पढेर हासिल गरेका ज्ञानलाई समाज र राष्ट्रका लागि प्रयोग गर्न सकेका छैनौँ । 

दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले भनेका छन् — शिक्षा यस्तो हतियार हो, जसको माध्यमबाट गरिबी निर्मूल गर्न सकिन्छ । नेपालको सन्दर्भमा यसको ठीक विपरीत भइरहेको छ । शैक्षिक जनशक्तिले शारीरिक श्रम गर्नबाट डराउने  ‘ह्वाइट कलर जब’ मात्र खोज्ने अवस्था छ । समाज र राष्ट्रको आवश्यकता अनुसार रूपान्तरण नहुने हो भने त्यो शिक्षित जनशक्ति देशका लागि निकै ठूलो भार बन्नेछ र राष्ट्रका लागि चुनौती बनेर रहनेछ । त्यसैले वैज्ञानिक र व्यावहारिक शिक्षा अब बहस मात्र होइन, जीवन पद्धतिका रूपमा अँगाल्न आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जेपी केरुङ
जेपी केरुङ
लेखकबाट थप