आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
रोयल्टी विवाद

‘सुरेश अधिकारीले फेसबुकबाट गरेको गालीले साह्रै चित्त दुखेको थियो’

हामीले रोयल्टी तिर्दैनौँ भनेर कहिल्यै पनि भनेका छैनौँ : अर्जुन गिरी
शनिबार, १३ साउन २०८०, १५ : १९
शनिबार, १३ साउन २०८०

रेडियो तथा संगीतका विभिन्न संघसंस्थाबीच अहिले रोयल्टी विवाद छ । रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारीले रेडियोहरूले रोयल्टी तिर्दैनौँ भन्यो भन्दै सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिएपछि विवाद उत्कर्षमा थियो । 

रेडियोहरूले अधिकारीको सिर्जना माथि नै प्रतिबन्ध लगाए । प्रतिबन्धका फिर्ताका लागि विभिन्न गीतसंगीतसँग सम्बद्ध संघसंस्थाले रेडियोहरूलाई अनुरोध गरिरहेका छन् । विवाद निम्त्याउने स्वयम् अधिकारी समेत आफूले गरेको गालीगलौजमा पश्चात्ताप गर्दै शुक्रबार माफीसमेत मागिसकेका छन् । यस विषयमा रेडियो एसोसियसनहरुले कुनै आधिकारिक निर्णय गरेको छैन ।

यसै सन्दर्भमा अधिकारीको क्षमायाचना र रोयल्टी विवादको विषयमा सामुदायिक रेडियो प्रसारक संघ ‘अकोराब’का अध्यक्ष अर्जुन गिरीलाई रातोपाटीले केही  प्रश्न गरेको छ । 

सुरेश अधिकारीले सामाजिक सञ्जालमा माफी मागेसँगै रोयल्टी विवाद अब सकियो होला नि ?

–हामीहरूको प्रमुख चित्त दुखाई सुरेश अधिकारीले फेसबुकबाट गरेको गालीमा थियो । हिजो उहाँले क्षमायाचना सहित माफी माग्नु भएको छ । यो विषयमा हामी रेडियो एसोसिएसनहरु आजै (शनिबार) बसेर यस विषयमा अब कसरी अगाडि बढ्ने छलफल गर्नेछौँ ।

रोयल्टी संघले भने जस्तै रेडियोहरूले रोयल्टी तिर्दैनौँ नै भनेको हो त ?

हामीले रोयल्टी तिर्दैनौँ भनेर कहिल्यै पनि भनेका छैन । सर्जकको सिर्जना उपयोग गरेबापत हामीले रोयल्टी पक्कै पनि तिर्नुपर्छ । यो प्रतिलिपि अधिकार ऐनले निर्दिष्ट गरेको कुरो हो । हामी योभन्दा बाहिर जाने आधार छैन । ऐनले रोयल्टी सङ्कलनका लागि विभिन्न क्षेत्र तोकेको छ । त्यो मध्ये रेडियोहरू पनि एउटा पार्ट हो । रेडियो र स्रष्टाहरूबीच जुन सम्बन्ध छ । त्यो नङ र मासुको सम्बन्ध छ ।

arjun giri (1)

कतिपय सर्जकलाई स्थापित गर्ने कुरोमा रेडियोले खेलेको भूमिका महत्त्वपूर्ण रहेको सबैले महसुस गरेकै विषय हो । त्यस हिसाबले पनि सर्जक र रेडियोबीच एकदमै प्रगाढ सम्बन्ध रह्यो र हामी अग्रपङ्गीतमा रहेर सर्जकको संगीत रोयल्टी बापतको परिश्रमिक पाउनुपर्छ भनेर उहाँहरूसँगै लागेर अन्यलाई पनि नैतिक दबाब दिएका थियौँ । 

तर पछिल्लो समयको विवाद रोयल्टी विवाद थिएन । कतिपय दूर दराजका सर्जक, स्रष्टाले हामीले रोयल्टी प्राप्त गर्न सकेनौ भनेर हामीसँग गुनासो गर्नुभयो । हामीले तिरेको रोयल्टी किन सर्जक, स्रष्टासँग पुग्न सकेन, यो कुरामा विचार गर्नुपर्‍यो भनेर संगीत रोयल्टी समाजलाई अनौपचारिक छलफलमा हामीले भनेका थियौँ । यसलाई उहाँहरूले बङ्ग्याएर प्रचार गर्नुभयो ।

रेडियो रिन्यूको लफडा के हो ?

–हामीले रेडियोहरूको नवीकरण हरेक वर्ष असार मसान्तमा गर्नुपर्छ । त्यसका लागि संगीत रोयल्टीका कारणले बाधा पुग्यो । संगीत रोयल्टी तिर्ने कुरो र रेडियोको नवीकरण फरक–फरक कुरो हो । यसमा हामीले गत वर्ष सहमतिमा फुकाएका थियौँ ।

हामी सहमतिका साथ अगाडि बढिरहेका थियौँ । खै कहाँबाट उहाँहरू मिस गाइडेड हुनुभयो, अप्रत्याशित रूपमा उहाँहरूले संगीत रोयल्टी रेडियोले तिर्दैन भन्यो, हाम्रो श्रमको शोषण भयो, हाम्रो सिर्जनाबाट धेरै पैसा कमाउने हामीलाई नदिने भन्ने टाइपबाट जानुभयो । वास्तवमा हामीसँग रोयल्टी विवाद भएकै छैन ।

 रोयल्टीको विषयमा अधिकार क्षेत्र बाहिरको कुरो बोल्नुभयो भन्ने पनि थियो त ? 

–एउटा नागरिकलाई पनि सूचनाको अधिकार रहन्छ । हामी त रोयल्टी तिर्ने ४२–४३ निकाय मध्यको एक हो । सर्जकले रोयल्टी प्राप्त गर्न सकेनौँ, पहुँच भएन भन्ने गुनासो गरेपछि हामीले गुनासो सुनाएका हौ । त्यहाँको पारदर्शिताको सवालमा विभिन्न समाचार बाहिर आएको विषय हो । के हो भनेर जिज्ञासा राखेका हौँ ।

arjun giri (5)

स्रष्टाले रोयल्टी पाउने विषय हाम्रो रुचि, चासोको विषय पनि थिएन । हामी रोयल्टी तिर्ने, स्रष्टाले नपाउने विषयमा हामीलाई प्रश्न गर्ने अधिकार त होला नि ? त्यति प्रश्न गरेको कुरा अतिरञ्जित तरिकाले उहाँहरूले बाहिर ल्याउनु भएको हो ।

किन देखियो त बाहिर विवाद ?

–संगीत रोयल्टी सङ्कलक समाजका व्यक्तिहरूले मणगणन्ते कुरा गर्दा हामीले रोयल्टी तिर्दैनौँ भन्यो भनेर जथाभाबी गाली गर्नुभयो । त्यसप्रति असाध्यै चित्त दुखाइ रह्यो र हामीले पनि आफ्नो तर्फबाट कदम चाल्यौँ । 

सिर्जना नै बहिस्कार यो त राम्रो देखिएन नि ?

– समाजलाई गति दिने, प्रेरणा दिने क्षेत्र मध्यको सर्जक पनि हुन् । समाजले पत्याएको, विशिष्ट पहिचान बनाएको व्यक्तिबाट गालीगलौज भएपछि त्यस प्रतिको रिस र आवेगको प्रतिफल हो गीत प्रतिबन्ध । यो कुनै दृष्टिकोणबाट राम्रो होइन । हामीले राम्रो गर्‍यौँ, उपयुक्त निर्णय भयो भन्ने पक्षमा हामी पनि छैनौँ । हामी संगीत रोयल्टीको पक्षमा हुँदाहुँदै पनि उहाँले गलत आरोप लगाउँदै गर्दा खेरी एक प्रकारको आवेग, उत्तेजनाको प्रतिफल हो गीत प्रतिबन्ध ।

विभिन्न संघसंस्थाले प्रतिबन्ध फिर्ताका लागि अनुरोध गरिरहनु भएको छ । गाली गर्ने अधिकारीले पनि माफी मागेका छन् । अब कसरी अगाडि बढ्नु हुन्छ ? 

–यसको सुरुवात संगीत रोयल्टी समाजका अध्यक्ष आदरणीय सुरेश अधिकारीबाट भएको हो । उहाँ हामीलाई गालीगलौजको तवरमा उत्रिनु भयो । विवाद निम्तियो ।

उहाँले विगतमा रेडियोहरूले संगीत रोयल्टी कार्यान्वयनका लागि खेलेको भूमिका अन्तर्मनदेखि रियलाइज गरेर, संगीत रोयल्टी प्रति नेपालका रेडियोहरू कटिबद्ध छन् भन्ने महसुस गरेर आफूले गरेको गाली प्रति पछुतो मान्दै क्षमायाचना गर्नुभयो । यस विषयमा आजै हामी छलफलमा जुटेर एक प्रकारको निर्णय गर्छौँ । हामी सकारात्मक भएर अगाडि बढ्न तयार छौ ।

arjun giri (9)

अनायासमै निस्किएको विवादले अब रेडियोमा गीतसंगीत प्रसारण नै रोक्नुपर्छ भन्ने पनि कुरो पनि सुनियो नि ?

–समय समयका विभिन्न क्रियाकलापले सर्जक, स्रष्टा रेडियो प्रति स्वार्थी देखिनु भयो कि भन्ने छ । एक समय रेडियोको सहयोग नलिएर सर्जक तथा स्रष्टा अगाडि बढ्न सक्ने स्थिति नै थिएन । 

रेडियोका कारण धेरै सर्जक, स्रष्टा स्थापित पनि भएका छन् । अहिले सर्जकको क्रियाकलापले हामीलाई हेला गरेको हो कि भन्ने भान भएको छ । सामुदायिक रेडियोको हकमा सूचना र जानकारी मूलक सामाग्री मात्र प्रसार गरेर अगाडि बढ्नुपर्छ कि भन्ने कुरो उठेको छ । सूचना मूलक सामाग्री प्रसारण गर्दा हामीले गीतसंगीतको बापतको रोयल्टी तिर्नुपर्ने अवस्था रहँदैन ।

विश्व बजारमा हेर्ने हो भने पनि सामुदायिक रेडियोको लागि रोयल्टीको सवालमा फरक अभ्यास रहेको पाइन्छ । सामुदायिक रेडियोले विश्वव्यापी रूपमा रोयल्टी तिर्नुपर्दैन र तिर्ने प्रचलन पनि छैन ।

नेपालमा हामीसँग सर्जक र स्रष्टाको नङ मासुको सम्बन्ध भयो । अझ सामुदायिक रेडियोको सवालमा रोयल्टी समाजले न्यूनतम रूपमा संगीत रोयल्टी तिर्ने । त्यो तिर्दा उहाँहरूले रेडियोका लागि गर्नुपर्ने धेरै दायित्व निर्धारण गरिएको छ । 

सर्जक, स्रष्टा र रोयल्टी समाजले सामुदायिक रेडियो प्रति गर्छु भनेको दायित्व पुरा गरेका छैन र ?

–उहाँहरूले दूर दराजमा रहेका रेडियोमा योगदान पुर्‍याउने । क्वालिटी गीतसंगीत प्रयोग गर्न एग्रिकेटर बनाउने र रेडियोको सामाजिक अभियानमा उहाँहरूको एक्यबद्धतासहित कन्ट्रिब्युसन गर्ने कुराहरू जस्ता ६, ७ बुँदामा हामीसँग सहमति गर्नु भएको थियो । जुन उहाँहरूबाट एउटा पनि कार्यान्वयन भएको छैन । यो कार्यान्वयन भएन भन्ने सवालमा हामीले कहिल्यै पनि प्रश्न गरेनौँ ।

रोयल्टीमा वितरणमा विवाद आएपछि हामीले पारदर्शिता र राज्यको हस्तक्षेपकारी भूमिका खोजेका हौँ । त्यो पनि उहाँहरूबाट विवाद आए पनि । त्यस अगाडि हामीले कुनै प्रश्न गरेका थिएनौँ ।

arjun giri (3)

स्रष्टा तथा सर्जक सम्बन्धी विभिन्न संघसंस्थाबाट गीत प्रतिबन्धको विरोधमा विज्ञप्ति पनि आयो नि ? 

–यो एक किसिमले कालो इतिहास भयो । एक स्रष्टा, सर्जकले रेडियोहरूलाई गालीगलौज गरेपछि निम्तिएको विवादमा स्रष्टा तथा सर्जक सम्बन्धी विभिन्न संघसंस्थाबाट समाजमा स्वीकार्य नहुने व्यवहार भएको छ ।

त्यसले समाजमा गलत सन्देश पक्कै पनि दिएको छ । जसरी गालीगलौज भयो । त्यो कुनै पनि दृष्टिकोणबाट राम्रो होइन । त्यसलाई पक्ष पोषण गर्दै अन्य संस्था जानु पनि राम्रो होइन । गलतलाई गलत भन्न सकिएन भने सर्जकले प्रवाह गर्ने सन्देशले के अर्थ राख्छ ।

तपाईंको अन्य के के काममा लागि रहनुभएको छ ?

–सामुदायिक रेडियोका निम्ति नियम बनाउने र कानुन निर्माणको एक्सरसाइज भइरहेको छ । सङ्घीय ऐनले अहिलेसम्म सामुदायिक रेडियोको पहिचान स्थापित गर्न सकेको छैन । धेरै प्रदेशले सञ्चार सम्बन्धी कानुन ल्याएर पारित गरिसकेका छन् ।  तर ती सञ्चारसम्बन्धी कानुनमा सामुदायिक रेडियोको स्पष्ट पहिचान छैन । सामुदायिक रेडियो, स्वतन्त्र रेडियो नेपालमा सञ्चालनमा आएको २५ वर्ष भएको छ । यो बीचमा कानुनको अभाव थियो, पहिचान पनि स्पष्ट थिएन ।

स्थानीय सरकार, प्रदेश सरकारले कानुनले पहिचान गरेको अवस्था छ । सङ्घीय रूपमा अव आउने कानुनमा सामुदायिक रेडियो सम्बन्धी स्पष्ट व्याख्या सहित समावेश गरियोस् भन्ने हिसाबले नीतिगत पैरवीका लागि एक्सरसाइज गरिरहेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप