शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वस्थ रहन खानपान

सन्तुलित भोजनले ५० प्रतिशत रोगबाट बचाउँछ

शनिबार, १३ साउन २०८०, १२ : ०७
शनिबार, १३ साउन २०८०

काठमाडौँ– नेपालमा खान नपाएर धेरै नागरिक कुपोषित छन् । साथै खाना खान नजानेर पनि कुपोषित भई विभिन्न रोगका सिकार बन्ने गरेको पोषणविद्हरू बताउँछन् । यस्तै खान नपाएर र भएको खानलाई मिलाएर खान नजानेर मृत्युको मुखमा पुग्ने गरेको परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका पूर्वप्रमुख केदार पराजुली बताउँछन् । शारीरिक र मानसिक रूपमा स्वस्थ रहन ताजा र स्वस्थ आहार आवश्यक पर्छ । गर्मी मौसममा शरीरलाई स्वस्थ राख्न पनि सफा र सन्तुलित आहार आवश्यक पर्ने पूर्वप्रमुख पराजुलीको भनाइ छ ।

बर्खायाममा खानपानमा कसरी ध्यान दिने ?

जाडो होस् वा गर्मी सन्तुलित भोजन र सरसफाइमा विशेष ख्याल गर्नु पर्छ । खानामा सबै तत्त्वहरू पर्याप्त मात्रामा उपलब्ध हुनु पर्छ । यस याममा पसिना र पिसाबका माध्यमबाट पानीजन्य पदार्थ बढी जाने गर्छ । गर्मी मौसममा शरीरमा बाहिरी तापक्रम बढी हुने भएकाले खाने कुरा र पिउने पानीमा विशेष ध्यान दिनु पर्छ । 

पानीको प्रयोग 

बर्खाको समयमा पानी धेरै पर्ने भएकाले पानीका मुहान सफा नहुन सक्छन् । त्यस्ता मुहानबाट हाम्रा धारामा आउने र बजारमा जारमा पाइने पिउने पानी सफा र शुद्ध नहुन सक्छन् । त्यसैले बर्खा याममा पिउने र सरसफाइमा प्रयोग गर्ने पानीको शुद्धतामा ध्यान पुर्याउनु पर्छ । पराजुलीका अनुसार पानी उमालेर मात्र पिउनु पर्छ । क्लोरिन राखेर शुद्ध बनाइएको पानीले मात्रै नुहाउन, भाँडा माझ्न सुझाव दिन्छन् पराजुली । ज्यादै गर्मी हुँदा पानीको सट्टामा चिसो भनेर फ्यान्टालगायत कोल्डड्रिक्ङ्स पिउँदा स्वास्थ्यमा उल्टै असर पर्ने उनले बताए । कोल्डड्रिङ्क्स सट्टामा सादा, शुद्ध, फिल्टर गरी उमालेको पानीलाई चिसो वा हल्का तातो बनाएर पुदिना, कागती राखेर प्रशस्त मात्रामा पिउन उनको सुझाव छ । 

यसैगरी सुक्खा र सफा भाँडा पखालेर खाना पस्किने चलन धेरैको छ । यसरी भाँडा पखाल्नु नहुने पराजुलीको धारणा छ । उनी भन्छन्, ‘धोएर सुक्खा बनाएर राखिएका थाल, बोटुकालगायत भाँडा हामी पुनः पखाल्ने गर्छौं । यसरी पखाल्दा शुद्ध भाँडा झन् फोहोर हुन पुग्छन् । किनभने बर्खाको समयमा धाराको पानी शुद्ध छ भन्ने ग्यारेन्टी हुँदैन । त्यसैले धोएर राखिएको सुक्खा भाँडा फेरि सफा नगरौँ ।’ 

खानपानको सुरक्षा

गर्मीको समयमा बासी खाना खानु हुँदैन । गर्मीमा झिँगा बढी फैलिन्छन् । त्यसैले पकाएको खाना केही समयपछि खाने भए पनि छोपेर राख्न पराजुली सुझाव दिन्छन् । खाना खुला राख्दा झिँगा, फ्ट्याङ्ग्रा, कीराहरूले फोहोर गरिदिने भएकाले छोपेर राख्नु पर्छ । त्यसैगरी पकाएर लामो समयसम्म राख्नु हुँदैन, तुरुन्तै खानुपर्छ । तत्काल खान फुर्सद नभए छोपेर फ्रिजमा राख्नु पर्छ । अनि आफूलाई अनुकूल भएपछि तापक्रम मेन्टेन गरी खान सकिने उनको भनाइ छ । उनले भने, ‘फ्रिजमा राखेको खाने कुरा पुनः नताएर खानु पर्छ । खानालाई लामो समयसम्म राखेर त्यतिकै खान हुँदैन ।’

 फलफूल तथा तरकारी

हामीले नियमित रूपमा खाने साग, तरकारी, फलफूलमा अत्यधिक मात्रा कीटनाशक औषधी प्रयोग भइरहेको समाचार प्रशस्त सुनका छौँ । यस्ता तरकारी तथा फलफूल राज्यले अनुगमन गरी कीटनाशक औषधीरहित भनेर जनतालाई सुसूचित गरी उपभोगको व्यवस्था मिलाइदिनुपर्ने उनको भनाइ छ । ‘फलफूल तथा तरकारी बजारमा आउनुभन्दा अगाडि कीटनाशक औषधी मात्रा छ वा छैन, कीटनाशक औषधी फलफूल तरकारीमा खानेयोग्य स्तारसम्मको छ छैन जनताले थाहा पाउनुपर्छ,’ पराजुलीले भने ।

विशेषगरी सहरी क्षेत्रमा विषादीयुक्त तरकारी र फलफूल खान बाध्य  भएकाले क्यान्सर, मिर्गौला लगायत अन्य स्वास्थ्य समस्या उत्पन्न भएको पनि उनले जानकारी दिए ।

सागमा फाइबरको मात्रा बढी हुन्छ । यसले खाना पचाउन सहयोग गर्छ । सागसब्जी पकाउनुभन्दा अघि भिजाएर राखेर पकाउनु पर्छ । विषादीबाट जोगिने मुख्य उपाय भनेको तरकारी फलफूल किनेर ल्याउनेबित्तिकै नखान उनको सुझाव छ । फलफूलको बाहिरी भागमा किटनाशक औषधी राखिएको भए तत्काल खानु हुँदैन । त्यस्ता फलफूल खानुभन्दा २४ घण्टा अगाडि कागती पानीमा डुबाएर पखालेर खान पनि उनको आग्रह छ । 

फलफूलको बाहिरी तहमा भएको कीटनाशक औषधीलाई २४ घण्टासम्म पानी डुबाउँदा केही मात्रा हट्ने उनले बताए । यद्यपि बाहिरी सतहमा भएको कीटनाशक औषधि पानी भिजाउँदा हटे पनि  भित्री भागमा बाँकी रहने सम्भावना भएकाले केही समय राखेर उपभोग गर्नु राम्रो हुने उनी बताउँछन् । 

फलफूलमा झन्डै ९० प्रतिशत पानीको मात्रा हुन्छ । त्यसैले सकेसम्म बढी मात्रामा फलफूलको उभोग गर्दा स्वास्थ्यका लागि फाइदा हुने उनले बताए । सिजन अनुसारका फलफूलमा पोषकतत्त्व बढी पाइन्छ । गर्मी याममा आँप, लिची लगायतका फलफुल पाइन्छन्, यस्ता मौसामी फल खाँदा बढी गर्मी हुन्छ भन्नु भ्रम मात्र हो ।

दिवा खाजा  

बर्खाको समयमा विशेषगरी पानीजन्य रोगले सताउँछ । विद्यालयमा बच्चालाई दिवा खाजा खुवाउने व्यवस्था गरिएको हुन्छ, त्यस्ता ठाउँमा सरसफाइमा विशेष ख्याल गर्नुपर्छ । विद्यालयको चेमेनागृहमा खाजा बनाउने भान्सेको सरसफाइ, पिउने पानी र प्रयोग गर्ने पानीमा शुद्धता सावधानी अपनाउन उनको सुझाव छ । 

 उनी भन्नछन्, ‘त्यहाँ खाना अस्वस्थकर भएमा धेरै बालबालिका प्रभावित हुन्छन् । उनीहरूलाई विभिन्न सरुवा रोगका भाइरस, फङ्गस, ब्याक्टेरियाले चाँडो सङ्क्रमण गर्ने भएकाले सतर्कता अपनाउनु पर्छ ।’

स्कुल र दिवा खाजा बनाउने भान्सेको व्यक्तिगत्त सरसफाइ, साना नानीबाबुलाई खान दिने भाँडाको सरसफाइ र स्वस्थकर खाजामा स्कुलले ध्यान दिन आवश्यक पर्ने उनले बताए । 

५० प्रतिशत रोगबाट जोगिइन्छ

खानपानमा मात्रै ध्यान दिइयो भने ५० प्रतिशत नसर्ने रोगहरूबाट जोगिन सकिने पूर्वप्रमुख पराजुलीले बताए ।

नेपालमा खाना अर्थात् सन्तुलित आहारले उपचार हुन्छ भन्ने कुरालाई सम्बन्धित निकायले जनमानसमा जानकारी दिन नसकिएको उनको भनाइ छ । उनले भने, ‘रोग लाग्नासाथ हामी डाक्टर भेट्न जान्छौँ । डाक्टरले औषधि लेखिदिने वा अप्रेसन गर्ने लगायतका विधि अपनाउँछन् । तर खानाबाट पनि उपचार सम्भव छ भन्नेतिर कसैको ध्यान गएको छैन ।’

खानपानबाटै बिरामी हुनबाट जोगिन्छ भन्ने कुराको ज्ञान, अभ्यस कम भएको पूर्वप्रमुख पराजुलीले बताए । मेडिकल सेवा दिनेहरूले समेत खानातर्फभन्दा औषधीतर्फ बढी ध्यान दिइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप