आज भँगेरा दिवस : जुम्राले टोकेपछि नुहाउने भँगेरा
पारिस्थितिकीय प्रणाली (इकोसिष्टम) सन्तुलन राख्न भँगेराले मद्दत गर्छ । जीवविकासक्रमदेखि भँगेरा मानिससँगसँगै बस्न रुचाए । रुचाइरहेका छन् । मानिसले नजिकबाट हेरेका चरामध्ये भँगेरा पनि एक हो । भँगेरा जंगलमा हेर्छु भनेर पाइँदैन । तर, जंगलबीचमा घर बनाइए सबैभन्दा पहिले भँगेरा आउँछ । भँगेराले मानिसलाई साथ दिन्छ । जहाँ मानिस हुन्छन्, बस्छन्, घर हुन्छन्, त्यहाँ भँगेरा भेटिन्छन् ।
मीठो गीत नगाए पनि भँगेरा गीत गाउने चराअन्तर्गत पर्छ । घर छेउछाउ देखिने धेरैजसो चराले गीत गाउँछन् । संसारभरि पाइने भँगेरालाई किसानका साथीसमेत भन्ने गरिन्छ । भँगेराले कीरा, फट्याङ्ग्रा साथै गहुँ, कोदो, धान, मकैलगायत अन्न खान्छन् । ‘उसले वयस्कमा अन्न खान्छ । तर, हुर्कंदै गरेका बच्चालाई भने कीराफट्याङग्रा खुवाउँछ,’ चराविद् डा. हेमसागर बरालले सुनाए, ‘भँगेराले आफ्ना बच्चालाई रौं नभएको झुसिलकीरा खुवाउँछ । त्यतिमात्रै होइन, उसले बालीनालीलाई हानि पुर्याउने कीराफट्याङ्ग्रालगायत लाइ खाइदिन्छ । अन्नबाली सखाप पार्ने कीराफट्याङ्ग्रा खाइदिएपछि किसानलाई सहयोग पुग्ने नै भयो ।’
नेपालमा हिमाल, पहाडदेखि तराईसम्म भँगेरा पाइन्छन् । घर भँगेरा तराईदेखि मध्यपहाडसम्म पाइन्छन् । रूख भँगेरा तराईमा कम तर मध्यपहाडमा बाक्लै देखिन्छन् । काठमाडौंमा घर भँगेरा र रूख भँगेरा बराबरजस्तो देखिन्छन् । ‘तर, रूखभन्दा घर भँगेरा अलि बढी पाइन्छन् । घर भँगेराको तुलनामा रूख भँगेरा अलि सानो हुन्छ,’ चराविद् बरालले भने, ‘घर भँगेराको भालेपोथी प्रस्टै छुट्टिन्छ । रूख भँगेरा हेर्नसाथ भालेपोथी छुट्ट्याउन सकिँदैन ।’
पेट्रोनिया (पितकण्ठे) लाई समेत मान्ने हो भने नेपालमा पाँच प्रजातिका भँगेरा पाइन्छन् । नेपालमा घर भँगेरा (हाउस स्प्यारो), रूख भँगेरा (ट्री स्प्यारो), कैलो भँगेरा (रस्सेट स्प्यारो), स्प्यानिस स्प्यारो र पितकण्ठे (पेट्रोनिया) पाइन्छन् । संसारभरि ३२ प्रजातिका भँगेरा पाइन्छन् । मिहिनेती र मायालु भँगेरा मानिसभन्दा मिहिनेती हुन्छन् । घर भँगेरा १५ र रूख भँगेरा १४ सेन्टिमिटरका हुन्छन् । चार÷पाँच वर्षसम्म बाँच्ने भँगेराको तौल ४० ग्रामसम्म हुन्छ ।
चराविद् डा. हेमसागर बराल
भँगेरा कम हुँदै गए पनि लोप भएका छैनन् । ‘नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये १६८ प्रजातिका चरा संकटमा रहे पनि भँगेरा पर्दैन,’ उनले वास्तविकता बताए, ‘नेपालमात्रै होइन, विश्वमै भँगेरा संकटमा परेको चरा होइन । कम हुँदै गएको पक्कै हो । तर, बेलायतलगायत युरोपियन मुलुकमा भँगेरालाई रातो (खतरा) को सूचीमा राखिएको छ ।’
कारण के होला ?
विकसित देशका मानिसले कनिका, खाना फ्याँक्दैनन् । भँगेरा मानिसले फ्याँकेका कनिका, खानेकुरा खाएर बाँच्ने गर्छन् । धेरै सफा राख्दा चरा घट्दै जाने चराविद् हेमसागर बरालको बुझाइ छ । मोबाइल फोनबाट प्रसारित विकीरणले भँगेराको जीवन र प्रजननमा गहिरो असर पार्दै गएको छ । किसानले बालीनालीमा प्रयोग गर्ने कीटनाशक औषधि, वासस्थान विनाश र आहारा अभावले भँगेरा कम हुँदै जानुका कारण हो ।
नेपालको सन्दर्भमा अन्य भँगेराको तुलनामा घर भँगेरा र रूख भँगेरा घटेका छन् । ‘बढ्दो सहरीकरण मुख्य कारण हुन्,’ जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) अन्तर्गत नेपालको कन्ट्री डाइरेक्टरसमेत रहेका बरालले प्रस्ट्याए, ‘पहिलेको तुलनामा नेपालीले सफा–सुग्घरमा ध्यान दिन थालेका छन् । त्यसले भँगेरामा असर परेको हो । घर भँगेराभन्दा रूख भँगेरा बढी घटेका छन् । घर भँगेरा ठूलो भएकाले रूख भँगेरालाई डोमिनेट गर्छ । खेदाउँछ । खानेकुरा आफूमात्रै खान खोज्छ ।’
भँगेराले बाह्रै मास बच्चा उत्पादन गर्छ । घर भँगेराले घरको प्वाल र रूखको टोड्कोमा पनि भालेपाथी मिलेर गुँड बनाउँछ । उसले एकपटकमा चारवटासम्म अन्डा पार्छ । तीन हप्तासम्म अन्डा कोरल्ने उसले चारवटै बच्चा हुर्काउन सक्छ । नहुर्काउन पनि सक्छ ।
सबै चरामा आफ्नैखालको जुम्रा हुन्छ । सिन्दुरे, किर्ना पनि लाग्छ । ‘जुम्राले भँगेराको पखेटाको नरम भाग खाइदिन्छ,’ उनले थपे, ‘जुम्राको टोकाइबाट बच्न, हटाउन भँगेरा नुहाउने गर्छ । कहिलेकाहीं बालुवामा पनि खेल्छ ।’
अस्ट्रेलिया चराको स्वर्ग मानिन्छ । अस्ट्रेलियामा पाइने ५० प्रतिशत चरा संसारको अन्य देशमा पाइँदैन । ‘जब बेलायतीहरू अस्ट्रेलिया गएर बस्ने थाले, उनीहरूले आफ्नै देशको चराको चिरबिर सुन्न पाएनन्,’ उनले उदाहरण पेस गरे, ‘अस्ट्रेलियामा उनीहरूजस्तै मानिस थिए । त्यस्तै भाषा बोल्थे । उनीहरूको जस्तै धर्म र संस्कारमा हुर्केका थिए । तर, बेलायतमा पाइने कतिपय चरा अस्ट्रेलियामा थिएनन् । त्यसैले उनीहरू बेलायतबाट भँगेरालगायत चरा अस्ट्रेलिया लगेका थिए ।’
नेपालमा सन् २०१२ देखि मार्च २० मा अन्तर्राष्ट्रिय भँगेरा दिवस मनाउन थालिएको हो । पन्छी संरक्षण संघ, पोखरा बर्ड सोसाइटी, बर्ड एजुकेसन सोइटीलगायतले चासोसाथ भँगेरा दिवस मनाउने गर्छन् । भँगेराबारे जनचेतना फैलाउन दिवस मनाउनु थालिएको सजिलै बुझ्न सकिन्छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले भँगेराबारे बालकविता नै लेखेका छन् । राष्ट्रकवि घिमिरेले भँगेरासम्बन्धी लेखेका बालगीत यस्तो छ :
कुरा गर्छन् कसरी
भँगेरा र भँगेरी ?
चुरचुर गर्छ भँगेरो
चिरचिर गर्छे भँगेरी ।
चारो चर्न हुन्न है
यताउति नहेरी
यौटा आँखो तँ हेरी
अर्काे आँखो म हेरी ।
टाप्पटिप्प कनिका
टिपिहालौं नटेरी
चुर्र गर्छु म फेरि
भुर्र उड्नू तँ फेरि ।
जिल्ल पर्छ बिरालो
हिस्स पर्छ बोहरी
कति बाठो भँगेरो
कति बाठी भँगेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना