लघुकथा : सुम्लो

“हैन के भयो बाबु ?” बिहान गिलासभरी दूध र ड्राई फ्रुट्स खुवाएर पठाएको छोरा खोच्याउँदै आएको देखेर बुबाले सोध्नु भयो ।
छोरा पीडाले नाक खुम्च्यायो तर ओठमा मुस्कान थियो । भन्न लाज माने जस्तै गरेर “खास केही होइन” भन्यो ।
“हिँड्नै सकेको छैन, केही होइन भन्छ । कलेजमा झगडा पर्यो जस्तो छ ।” बुबाले अनुमान गरेर भन्नु भयो ।
“बाबाले जनआन्दोलनमा लट्ठी खानु भएको थियो ?” छोराले सोध्यो ।
“ल, यसले त आज प्रहरीकै गजब कुटाइ खाए जस्तो छ ।” आफ्नो पुरानो पीडा सम्झँदै बुबा आत्तिनु भयो ।
“अस्ति पनि त्यही ठाउँमा हामी जस्तैले गर्दा ठुलो दुर्घटना भएको रहेछ ।” छोराले अझ कुरालाई बेर्दै गयो ।
‘स्पष्ट भन्, अब जेरी घुमाए जस्तै कुरा न घुमा ।” बुबालाई रिस उठ्यो तर हातमा भने प्राथमिक उपचारको बाकस थियो ।
“वरिपरिका मान्छे जम्मा भएर ट्राफिक जाम भइसकेको रहेछ । प्रहरीले अस्तिको रिस पोखिहाल्यो ।” उसले भन्यो ।
“के गरेको थिइस् र ?” बुबाले सोध्नु भयो ।
“कलेजबाट फर्कँदै थियौँ, चोकमा आएपछि सरिताले यो चोकमा टिकटक बनाउँछु फोटो खिचिदेऊ न भनी, त्यसपछि त...” उसले दायाँ खुट्टा सुम्सुम्याउदै भन्यो ।
पोखरा–७, मासबार, कास्की