रातोपाटी ब्रिफिङ : आज देशभर के–के भए ? यस्ता छन् प्रमुख समाचार
आज मिति २०८० साल साउन महिनाको १२ गते शुक्रबार । आज दिनभर भएक मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।
कोशीमा नयाँ सरकार गठन आह्वान
कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेका छन् । उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
राष्ट्र बैंकको सर्कुलर
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लेन्डिङ)को १५० प्रतिशत जोखिमभारलाई परिमार्जन गरेको छ । यसअघिको व्यवस्था परिमार्जन गर्दै केन्द्रीय बैंकले ५० लाख रुपैयाँसम्मको मार्जिन लेन्डिङको जोखिमभार १०० प्रतिशतमा झारेको हो ।
कांग्रेसको सन्देश
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट सत्ता गठबन्धनमा दायाँबायाँ नगर्ने सन्देश दिएको छ । साउन २ देखि १० सम्म चलेको बैठकले सत्ता गठबन्धन सुदृढ गर्दै राजनीतिक स्थिरता कायम गर्ने सबैको दायित्व भएको ठहर गरेको हो ।
प्रचण्ड स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण गरी स्वदेश फर्किएका छन् । शुक्रवार बिहान उनी इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ ओर्लिएका हुन् ।
उनलाई स्वागत गर्न विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतमन्त्रीहरु समेत विमानस्थल पुगेका थिए ।
बसपार्कमा बेथिति
मेयर बालेन शाहको रुचिमा काठमाडौँ महानगरपालिकाले गत असार १ देखि बसपार्कको एकद्वार नीति लागू गरेको थियो । जसअनुसार बसपार्कबाट मात्रै उपत्यका बाहिरिने यातायातका साधन सञ्चालन गर्ने भनिएको थियो । तर, यो निर्णय पूर्ण कार्यान्वयन नहुँदा यात्रुलाई सुविधा भन्दा सास्ती बढेको छ ।
बनमन्त्रीलाई कसले दियो यस्तो आइडिया ?
वन मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका कार्यालयले बाघको संरक्षण गर्छन् । तर, विश्व बाघ दिवसको पूर्वसन्ध्यामा बाघ संरक्षण गर्ने जिम्मा पाएको मन्त्रालयका मन्त्री नै आफ्नो विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छन् ।
केही समयअघि वनमन्त्री डा वीरेन्द्रप्रसाद महतोले दिएको एउटा अन्तरवार्ता अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि ‘हट न्युज’ को विषय बनेको छ । खासमा केही समयअघि मन्त्री महतोले एउटा पोडकाष्ट अन्तरवार्तामा नेपालमा बाघको संख्या बढ्दै गएकाले त्यसलाई आयआर्जनको माध्यम बनाउनु पर्ने आशय व्यक्त गरेका थिए ।
काठमाडौँ महानगरपालिकाले धम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको छ । महानगरपालिकाले शुक्रबार माइकिङ गर्दै सोमबारभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति सदस्यको नामावली हालसम्म सार्वजनिक गरेका छैनन् । अध्यक्ष ठाकुरले आजभोलि नै सार्वजनिक गर्ने आश्वासन नेताहरुलाई दिए पनि महिनौँ बित्दासमेत सार्वजनिक हुन नसकेको हो ।
परराष्ट्रको ट्राभल एडभाइजरी
परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा नेपालीहरुलाई अवैध ढंगले लगेर बन्धक बनाइएको सूचना आएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक ट्राभल एडभाइजरीसहितको सूचना जारी गर्दै समस्यामा परेका नेपालीहरुलाई लागि सम्पर्क गर्न भन्दै नम्बर सार्वजनिक गरेको छ ।
सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूतहरूमाथि संसदीय सुनुवाई समितिमा एउटा मात्र उजुरी परेको छ । नियुक्ति प्रक्रियाका लागि गत साउन ३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले १० दिनभित्र उजुरी आह्वान गरेको थियो ।
थप समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । इन्जिनियर हरिकुमार पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए ।
नेकपा माओवादी केन्द्रले ६ दलीय संघर्ष समितिमा आफ्नो संलग्नता नरहेको प्रस्ट पारेको छ । गौर हत्याकाण्डको छानबिनको विषयलाई लिएर सो काण्ड पीडित संघर्ष समितिले उठाएका मागविरुद्ध गठन भएको संघर्ष समितिमा आफ्नो कुनै संलग्नता नरहेको माओवादी केन्द्रले प्रष्ट पारेको हो ।
विवेकशील साझा पार्टीले छैटौँ स्थापना दिवसको अवसरमा पार्टीको राजनीतिक दस्ताबेज र वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ।
कानून व्यवसायी भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक बनाउने कार्यमा संलग्न १८ वर्षका अनिरूद्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
कालीमाटी तरकारी तथा फलफूल बजारका सटरहरु बिना प्रतिष्पर्धा भाडा दिन लागिएको भन्दै विवाद भएको छ । सोको विरोधमा शुक्रबार पनि राष्ट्रिय किसान सञ्जालले धर्ना दिएको छ ।
शुक्रवार बिहान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म