वनमन्त्रीलाई कसले दियो बाघको सिकार खेलाएर डलर कमाउने सुझाव ?
काठमाडौँ । यतिबेला हामी विश्व बाघ दिवस मनाउने तयारी गर्दैछौं । नेपालमा वर्षेनी बाघको संख्या बढ्दो छ ।
सरकारले पनि बाघको संख्या बढाउन सक्दो प्रयास गरिरहेको छ । बाघ संरक्षमा नेपालमा विदेशी संस्थाहरुले पनि सहयोग पु¥याउँदै आएका छन् ।
वन मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका कार्यालयले बाघको संरक्षण गर्छन् । तर, विश्व बाघ दिवसको पूर्वसन्ध्यामा बाघ संरक्षण गर्ने जिम्मा पाएको मन्त्रालयका मन्त्री नै आफ्नो विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छन् ।
केही समयअघि वनमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले दिएको एउटा अन्तरवार्ता अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि ‘हट न्युज’ को विषय बनेको छ । खासमा केही समयअघि मन्त्री महतोले एउटा पोडकाष्ट अन्तरवार्तामा नेपालमा बाघको संख्या बढ्दै गएकाले त्यसलाई आयआर्जनको माध्यम बनाउनु पर्ने आशय व्यक्त गरेका थिए ।
मन्त्री महतोले देशभित्र बाघको संख्या बढेकाले निश्चित समय, क्षेत्र र संख्या तोकेर विदेशीहरुलाई बाघको शिकार गर्न दिनुपर्ने र त्यसबाट देशले गतिलो आर्थिक आर्जन गर्नुपर्ने बताएका थिए । उनले केही अमेरिकी र जापानीसँगको भेटका क्रममा आफूले यस्तो सुझाव पाएको पनि बताएका थिए ।
केही विदेशीले आफूलाई बाघको शिकार गरेबापत एउटा बाघबाट मात्रै दुई करोड ५० लाख (२५ मिलियन) रुपैयाँ देशले आर्जन गर्नसक्ने सुझाव दिएको अन्तरवार्तामा बताएका छन् । उनले व्यक्त गरेका यीनै भनाइलाई अहिले बोलेका अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ‘हट न्युज’ को रुपमा प्रस्तुत गरेका हुन् ।
मन्त्री महतोले अन्तर्वार्तामा भनेका छन्, ‘एउटा बाघ मारेबापत २५ मिलियन आउँछ भने त्यो पैसाबाट एक सयवटा बाघको संरक्षण गर्न सकिन्छ । त्यसो भए किन नगर्ने ?’ उनले यस विषयमा आफूले मन्त्रालयको सचिवसँग सल्लाह गरेको जानकारी पनि दिएका छन् ।
‘यस्तो सुझाव पाएपछि मैले सचिवलाई बोलाएर पनि सोधेँ, तर उहाँले हाम्रो कानुन देखाएर बाघ मार्न मिल्दैन भन्नुभयो,’ अन्तरवार्ताका क्रममा उनले भनेका छन् । बाघलाई खान र संरक्षण दिन नसकेर मर्न दिनुभन्दा त बरु पैसा भएका मानिसलाई शिकार खेल्न दिएर पैसा कमाउनु नै राम्रो भएको मन्त्री महतोले अन्तरवार्तामा बताएका छन् ।
उनले पुरानो राजाको पालामा बनेको ऐन÷नियमका कारण यस विषयमा धेरै काम गर्न नसकिएको पनि उल्लेख गरेका छन् । मन्त्री महतोले अन्तरवार्ताका क्रममा पछिल्लो समय बाघको संख्यामा निकै वृद्धि भएको र यही अनुपातमा बाघ बढ्दै जाँदा त्यसको संरक्षणमा समेत चुनौती थपिने धारणा पनि व्यक्त गरेका छन् ।
रातोपाटीले यस विषयमा बुझ्न खोज्दा उनले अन्तर्राष्ट्रिय अभ्यास हेरेर नेपालमा पनि केही गर्न सकिन्छ कि भनेरमात्र आफूले बोलेको बताए । ‘जसरी ढोरपाटन शिकारको लागि खुला गरिएको छ, त्यसैगरि बाघको पनि अन्तर्राष्ट्रिय टेन्डरमार्फत शिकार गर्न दिएर त्यसबाट संकलन भएको पैसाले उनीहरुकै संरक्षणमा सहयोग मिल्छ कि भनेरमात्र बोलेको हुँ । तर, हामीले विभिन्न अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेका कारण तत्काल त्यो सम्भव छैन । गर्नु पनि भएन,’ रातोपाटीसँगको टेलिफोन वार्तामा मन्त्री महतोले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’