आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

फोहोर सङ्कलन गर्ने महिलाले २५० रुपैयाँमा चिट्ठा किनेर जिते १० करोड

शुक्रबार, १२ साउन २०८०, २३ : १४
शुक्रबार, १२ साउन २०८०

भारतको केरलाको नगर निगममा कार्यरत ११ महिलाले हालै १० करोडको  चिट्ठा जितेका छन् ।  यी ११ जना महिलाले मिलेर २५० रुपैयाँमा चिट्ठाको टिकट किनेका थिए ।

चिट्ठा जितेपछि यी महिलाको आर्थिक अवस्थामा सुधार आएको भए पनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिने  बताएका छन् ।

यी महिलाहरू ग्रिन केरला मिसन अन्तर्गत सञ्चालित सरसफाइ अभियानको हिस्सा हुन् र उनीहरूले घरबाट फोहोर सङ्कलन गरेर पुनः प्रयोग गर्ने काम गर्छन् ।

यो चिट्ठा बुधवार सार्वजनिक गरिएको हो ।

चिट्ठा जितेकी राधाले भनिन्, ‘ हामीले पैसा जम्मा गरेर चिट्ठाको टिकट किनेका थियौँ । एक अर्कासँग पैसा माग्यौँ । यसअघि पनि धेरै पटक टिकट किनेका थियौँ तर यति ठुलो रकम जितेको यो पहिलो पटक हो । पत्याउनै सकिनँ ।’

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै चिट्ठा जितेकी शिजाले भनिन्, ‘जोसँग ऋण लिएका थियौँ त्यो तिर्नेछौँ । छोरीहरूको बिहे गर्नु छ । कोही नजिकका आफन्तको उपचार गर्नु छ ।’

चिट्ठा जितेका महिलाहरू निकै मेहनती र परिवारको एक मात्र आम्दानीको स्रोत भएको शिजाले बताइन् ।

एउटी महिलाले भनिन्, ‘यो पैसा के गर्ने, त्यो थाहा छैन । हरेक महिलाको जीवनमा आफ्नै चुनौती छ । हामी जे काम गरिरहेका थियौँ, त्यसैले घर चलिरहेको थियो । हामी यो काम छोड्दैनौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप