शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
सर्वोत्कृष्ट कृषक

सुदूरपश्चिमकै सर्वोत्कृष्ट कृषक बडायक : मिश्रित खेतीले बनायो नायक

शुक्रबार, १२ साउन २०८०, १४ : ०९
शुक्रबार, १२ साउन २०८०

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाका कृषक आसरे राम बडायक सुदूरपश्चिम प्रदेशकै सर्वोत्कृष्ट कृषकको रूपमा सम्मानित भएका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उनलाई डेढ लाख राशिको भीमदत्त प्रदेश सर्वोत्कृष्ट कृषकको सम्मान दिएको हो । 

यसैबीच कैलालीका पहलमान देउवा, बैतडीका जयन्ती भाट, डडेलधुराका प्रिन्सराज अवस्थी र डडेलधुराकै प्रसाद दत्त अवस्थीलाई जनही ७५ हजार राशिको उत्कृष्ट पुरस्कारबाट सम्मानित गरियो । ती उत्कृष्ट किसानहरुलाई मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानित गरेका हुन् ।

के गर्छन् बडायक ?

कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३८ वर्षीय किसान आसरे राम बडायक ६ विगहामा धान, गहुँसहित उखु र आलु खेती गर्छन् ।

उनको खेती गर्ने शैली भने निकै पृथक छ । उनी नयाँ प्रविधिलाई पछ्याउँदै बाली उत्पादन समय चक्रलाई ध्यानमा राख्दै खेती गर्छन् । फलतः उनको त्यो प्रयोगले लागत अनुपात घट्दै गएको छ भने बालीको उत्पादन दर र मूल्य शृङ्खला वृद्धि भई उनले मनग्ये आम्दानी गर्न सफल भएका छन् ।

Farmer Aasare ram Badayak

उनी भन्छन्, ‘कृषि कर्म अब निर्वाहमुखी होइन । व्यावसायिक नजरले हेर्न जरुरी छ । हामीसँग सीमित जमिन छ, त्यो पनि घट्दै गएको छ । त्यही जमिनमा उत्पादन बढाउने हो । त्यसमा गरिने लगानी घटाउन सक्नुपर्छ, त्यसको प्रतिफल नै मुनाफा हो ।’

विगत ८ वर्षदेखि व्यावसायिक उखु खेती गर्दै आएका कृषक बडायकले ४ वर्षदेखि भने मिश्रित बालीको रूपमा उखु र आलु, तोरी र मसुरो खेती एक सँगै गर्दै आएका छन् ।

मिश्रित बालीमा लाभैलाभ

बडायक कृषि फर्ममार्फत व्यावसायिक उखु र आलु खेती गर्दै आएका बडायकलाई मिश्रित खेतीको आवधारणाप्रति महाकाली सुगर मिल र बेलौरी नगरपालिकाको कृषि शाखाको कार्यक्रमले हौस्याएको हो ।

उखुसँगै मिश्रित बालीको रूपमा आलु खेती गर्न सकिन्छ भनेर उनले तालिम पाए । जसबाट उनी निकै प्रभावित भए । 

मिश्रित बालीबारे उनले भने, ‘उखुमा प्रयोग हुने मल आलुलाई काम लाग्ने हुन्छ । आलुको उत्पादन करिब ४ महिनामै लिन सकिन्छ । आलुको पातसहितको डाँठ उखुको लागि हरियो मलको काम गर्छ । आलु खन्दा उखुको गोडमेल हुने हुँदा उखु गोडमेल गर्दा लाग्ने लेबर चार्जमा बचत हुन्छ । यसरी एकै समयमा रोपिने हुँदा एक बालीमा लाग्ने लगानी दुई बालीलाई पुग्छ । जसबाट लागत घटाउन सकिँदो रहेछ ।’

सुरुवाती वर्षमा १ बिघा क्षेत्रफलमा मिश्रित बालीको रूपमा उखु र आलु खेती गरेका उनले केही प्राविधिक ज्ञानको अभावले घाटा बेहोर्नुपरेको थियो । तर उनी पहिलो वर्षको असफलताले हतोत्साहित भएनन् । दोस्रो वर्षमा भने उनको मेहनतले रङ्ग ल्यायो ।  

बडायक इन्टरनेटको माध्यमबाट पनि प्राविधिक ज्ञानबारे सर्च गरिरहेका हुन्छन् । महाकाली सुगर मिलको सहयोगमा आफूसहित केही कृषक भारतको उत्तरप्रदेशस्थित सहजानपुर गन्ना स्रोत परिषदबाट तालिम समेत लिइसकेको उनी बताउँछन्  ।

बडायक पछिल्लो समय उखु र थारू आलु प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र कञ्चनपुर तथा सुदूरपश्चिम कृषि विकास निर्देशनालयबाट प्राविधिकसँगै अनुदान सहयोगसमेत पाउँदै आएका छन् ।

गत वर्ष उनले डेढ बिघामा आलु र उखु, १४ कठ्ठामा तोरी र उखु तथा १ बिघामा उखु र मसुरो बाली रोपेका थिए ।

charuwa dhan

आलुको उत्पादन राम्रो भएको बताउँदै उनले प्रति बिघा डेढ सय क्विन्टलका दरले आलु फलाएका थिए ।

उखुमा पनि नयाँ प्रविधि

उखु खेतीबाट पनि कृषक बडायकले राम्रो आम्दानी लिदै आएका छन् । साढे २ बिघामा उखु खेती गर्दै आएका उनी प्रति बिघा सरदर ११ सय क्विन्टल उत्पादन गर्छन् ।

उखु खेतीमा उनले बीउ उत्पादनको नयाँ प्रविधि प्रयोग गर्दै आएका छन् । उनी बर्ड प्रविधि अर्थात् बड कटर मेसिन प्रयोग गरी बेर्ना तयार पार्दै आएका छन् । जसबाट कम उखुको प्रयोगबाट धेरै बीउ उत्पादन गर्न सकिन्छ । 

उखु खेतीबारे अनुभुव सुनाउँदै उनले भने, ‘मैले बड कटर मेसिन आफै बनाएको छु । प्रति बिघामा २ क्विन्टल उखुको अँखला बीउ प्रयोग गर्छु । जबकि अन्य कृषक प्रति बिघामा ७० क्विन्टल बीउ प्रयोग गर्छन् ।’

Asare Ram badayak

धान खेतीमा छरुवा प्रविधि

बडायककै सक्रियतामा उच्च प्रविधिको प्रयोग गर्दै सो क्षेत्रमा छरुवा खेती समेत सुरु गरिएको छ । बडायकसहित २० जना कृषकले छरुवा धान प्रविधि अँगालेका छन् । छरुवा धान खेती प्रविधिमा धानको बेर्ना रोप्नुको सट्टा सिधै खेतमा धानको बीउ छरिन्छ । 

यसमा कृषि कामदार कम लाग्ने र बाली स्थापना गर्न लाग्ने खर्च पनि कम हुने हुँदा छरुवा धान खेतीप्रति उनीहरू आकर्षित भएका छन् । जसबाट पनि धानको उत्पादन राम्रो भएको उनको भनाइ छ ।

कृषि कार्यमा यान्त्रिकीकरणसँग मिश्रित खेती प्रणाली अपनाएका उनले वार्षिक वर्ष २० देखि २५ लाख रुपैयाँसम्म खुद मुनाफा गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप