कर्मचारीतन्त्र : कार्यालय प्रमुख बन्ने कि चलाउने ?
सार्वजनिक प्रशासन भन्नाले मूलतः सरकारी प्रशासनलाई जनाउँछ । जो सरकारको स्थायी संयन्त्र र ‘डेलिभरी विङ’ हो । समग्रमा सरकारको मुहार हो । जसले प्रत्यक्ष रूपमा राजनीतिलाई सार्वजनिक नीति निर्माण गर्न सघाउँछ भने एकल रूपमा नीति कार्यान्वयन गर्छ । नागरिकसँग आमने–सामने भएर दैनिक सेवा प्रवाह गर्छ । यसरी गरिने सेवा प्रवाह नै सुशासन र कुशासनको मापदण्ड बन्छ ।
हाम्रो संघीयताको ढाँचाको मानकबाट हेर्ने हो भने प्रशासनिक संघीयताको मूल प्रवाह पनि हो, सार्वजनिक प्रशासन । जसलाई सरकारको जीवन्त र गतिशील आधार स्तम्भ पनि भनिन्छ । जसको विकल्प हुँदैन । विकल्प नहुने बहाना र भूमिकामा निरङ्कुश पनि हुन पाउँदैन । यस्तो महत्त्वपूर्ण सेवामा प्रवेश गर्ने जनशक्ति छनोटका लागि संवैधानिक अंगका रूपमा लोकसेवा आयोगको स्थापना गरिएको छ । जसले पूर्ण निष्पक्षताका साथ प्रचलित कानुन अनुसार इच्छुक उम्मेदवारलाई बहुपक्षीय परीक्षणद्वारा योग्यता प्रणालीका आधारमा छनोट गरी नियुक्तिका लागि सम्बन्धित माग गर्ने निकायलाई सिफारिस गर्छ ।
नेपालको सन्दर्भमा स्थापनाकालदेखि हालसम्म तटस्थता, विश्वसनीयता र निष्पक्षताको प्रत्याभूति दिने एक मात्र संवैधानिक निकायका रूपमा लोकसेवा आयोग रहेको छ । पदपूर्तिका लागि माग भइआएका विभिन्न पदको विज्ञापन गर्ने, छनोट परीक्षा सञ्चालन गर्ने र नियुक्तिका लागि सिफारिस गर्ने सम्बन्धमा सरकारलाई आवश्यक सुझाव तथा राय दिने, प्रस्तावित विभागीय कारबाहीका लागि सहमति वा असहमति जाहेर गर्ने नै लोकसेवा आयोगका प्रमुख कार्य हुन् ।
यसरी लोकसेवा आयोगजस्तो संवैधानिक निकायले सञ्चालन गरेको परीक्षा प्रणालीबाट थोरै रिक्त सिटका लागि ठूलो सङ्ख्याको बीचमा भएको प्रतिस्पर्धात्मक परीक्षाबाट छनोट भई सेवा प्रवेश गर्ने राष्ट्रसेवकलाई गौरवानुभूति हुनु स्वाभाविकै हो । अझ एउटा व्याक्तिले एकभन्दा बढी पदहरूको परीक्षामा नाम निकाल्न सफल भयो, त्यसमा पनि राजपत्राङ्कित तहका शाखा–अधिकृत, उपसचिव, सहसचिव पदमा पास हुनेहरूको त सिङ्गो कर्मचारी वृत्तमै विशष चर्चा हुने गर्छ । उनीहरूको पहिचान नै बेग्लै भएजस्तो गरी बढाइँचढाइ गरिन्छ । सामाजिक सञ्जाल र मिडियाले समेत फलानो पदको सबभन्दा कान्छो उमेरको प्रशासक, लगातार खुला प्रतिस्पर्धाबाट पास भएको भनी सार्वजनिक रूपमा निःशुल्क विज्ञापन गरिदिँदा उनीहरूले आफू निजामती प्रशासनको हिरो नै भएको अनुभूति गर्छन्, कर्मचारी वृत्तमा हुने छलफल, बैठक तथा भेटघाटमा मनग्य फुर्ती लगाउँछन् ।
सफलतामा खुसी हुनु मानवीय स्वभाव पनि हो । जसलाई स्वाभाविक ठान्नुपर्छ । उनीहरूसँग भएको शैक्षिक योग्यताको प्रमाणपत्र र डिग्रीको सङ्ख्याको बेग्लै बखान हुन्छ । फलानो फलानो विषयमा उसले यतिवटा डिग्री प्राप्त गरेको छ । त्यसमा पनि फलानो विषयमा सरकारी कोटाबाट फलानो देशबाट डिग्रीप्राप्त गरेको जस्ता विषयको बाक्लै चर्चा सुन्ने गरिन्छ । यसरी डिग्री र लोकसेवा पास गर्न जति सजिलो छ, सार्वजनिक जवाफदेहिताको पदमा बसेर राष्ट्रसेवामा पास गर्न त्यति सजिलो छैन । सरकारका तर्फबाट सार्वजनिक सेवा प्रवाह गर्दा आफ्नो पदीय जिम्मेवारी, उत्तरदायित्व र जवाफदेहिता भुल्नु हुँदैन ।
जनता र राष्ट्रप्रतिको नुनको सोझो हुने गरी मात्र होइन, सुशासनको प्रत्याभूति हुने गरी उत्तरदायित्व नपन्छाईकन नागरिक सन्तुष्ट हुने गरी सार्वजनिक सेवा प्रवाह गर्न सक्नु नै साँचो अर्थमा राष्ट्रसेवामा पास हुनु हो । जसका लागि आधुनिक व्यवस्थापनका सिद्धान्त, प्रचलित कानुन, व्यक्तिगत इच्छाशक्ति, कौशलता तथा समूहगत कार्यबाट ‘इनर्जी’ प्राप्त गरी त्यसलाई ‘सिनर्जी’मा परिणत गर्न सक्ने विवेकशील प्रशासक बन्न सक्नुपर्छ । अन्यथा केही अपवादबाहेक प्रशस्त पैतृक सम्पत्तिमा डुबुल्की मार्दै सुविधासम्पन्न सहरमा बस्ने, पढ्ने, अझ सरकारी सेवामा भए कार्यालयको काम नगर्ने, व्यक्तिगत पहुँचका भरमा काम कम हुने शाखा वा कार्यालय सरुवा गर्ने, सरकारी कामप्रति बेवास्ता गर्दै सरकारी सेवाको उपभोग गरी आर्जन गरेको निजी डिग्री र पदीय हैसियतमा गौरव गर्नुको कुनै अर्थ हँुदैन ।
कुनै पनि राष्ट्रसेवकले प्राप्त गरेको डिग्री र पदीय हैसियतको औचित्य त्यतिखेर पुष्टि हुन्छ, जब ऊ कार्यालय प्रमुख भएर होइन त्यो पद चलाएर जान्छ । अर्थात् प्रमुख जिल्ला अधिकारी भएर होइन, प्रमुख जिल्ला अधिकारी चलाएर जान्छ । सचिव भएर होइन, सचिव चलाएर जान्छ । हुनु र चलाउनुमा फरक छ । संस्था विगतमा झैँ सिस्टमले मात्र चलेको छ भने त्यो हुनु मात्र हो । संस्था विगतमा भन्दा फरक वा जनमैत्री ढंगले अझ भनौँ भिजनले सञ्चालन भएको छ भने त्यो चलाउनु हो । त्यसकारण हरेक तहका कार्यालय प्रमुखले म प्रमुख भएर गएँ वा प्रमुख चलाएर गएँ भन्ने कुराको हेक्का राख्दै आफ्नो स्वमूल्याङ्कन गर्न आवश्यक छ ।
हाम्रो सार्वजनिक प्रशासनलाई हेर्ने हो भने कार्यालय प्रमुख चलाउनेभन्दा कार्यालय प्रमुख भएर जानेको सङ्ख्या बढी रहेको पाइन्छ । सार्वजनिक प्रशासनले आलोचना खेप्नुको प्रमुख कारणमध्येको एउटा यही हो ।
हाम्रो सार्वजनिक प्रशासनलाई हेर्ने हो भने कार्यालय प्रमुख चलाउनेभन्दा कार्यालय प्रमुख भएर जानेको सङ्ख्या बढी रहेको पाइन्छ । सार्वजनिक प्रशासनले आलोचना खेप्नुको प्रमुख कारणमध्येको एउटा यही हो । कार्यालय प्रमुख मात्र भएर जाने राष्ट्रसेवकमा यी प्रवृत्ति पाइन्छ — अधिकार प्रत्यायोजन नगर्ने वा अधिकार प्रत्यायोजन गरेको बहानामा हाजिरी खातामा मात्र दस्तखत गर्नेबाहेक जनताका निर्णय दिनुपर्ने तथा फस्र्योट गर्नुपर्ने काममा दस्तखत नगर्ने, समूहगत कार्य औपचारिकतामा मात्र हुने, ‘बाई साइक्लिङ पोलिसी’ अपनाउने, डर, धाक, त्रास र आदेशका भरमा मात्र काम लगाउने, उत्तरदायित्व पन्छाउने, जवाफदेहितालाई खिल्ली उडाउने, सेवाग्राहीलाई प्रजा ठान्ने, आफ्नो असक्षमतालाई लुकाउन अधिकारको डंका पिट्ने आदि ।
कार्यालय प्रमुख चलाएर जानेहरूमा सकारात्मक दृष्टिकोण, समूहगत कार्यलाई प्रोत्साहन गर्ने, सहकार्य गर्ने, परस्परमा विश्वासको वातावरण सिर्जना गर्ने, नवप्रवर्धन भिœयाउने, मातहतका कर्मचारीलाई प्रोत्साहित र प्रशंसा गर्ने, उत्प्रेरित गर्ने, कार्यविभाजन गर्ने, आफूमा रहेको उत्तरदायित्व र जवाफदेहितालाई पनि सामूहिकीकरण गर्ने, जनताको शासक होइन सेवकका रूपमा आफ्नो पहिचान र छवि बनाउनेजस्ता विशेषता पाइन्छन् । यसरी कार्यालय प्रमुख मात्र भएर जानेका डिग्रीका प्रमाणपत्र साक्षरताका प्रमाणपत्र साबित हुन्छन् भने कार्यालय प्रमुख चलाएर जानेका योग्यताका प्रमाणपत्र साँचो अर्थमा प्रमाणित हुन्छन् ।
कार्यालय प्रमुख मात्र भएर जाने हाकिम साबहरू अवकाशपश्चात् आफ्नो समाजमा सामाजिकीकरण समेत हुन नसकेको देख्न र सुन्न पाइन्छ । अधिकांश उच्च प्रशासकहरू काठमाडौँ उपत्यकामा बसोबास गर्ने भएकाले अवकाशपछि उनीहरूलाई रत्नपार्क, असन, ठमेलका बजारमा र पशुपति, गुह्वेश्वरी, बूढानीलकण्ठजस्ता धार्मिक स्थलमा प्रायः झुल्कन्छन् । उनीहरूलाई चिन्ने धेरै हुन्छन्, तर आदर–सम्मान गरेर बोल्ने कोही हुँदैनन् । त्यसैले उनीहरू एक्लै हिँडडुल गरेको देख्न पाइन्छ ।
कार्यालय प्रमुख चलाएर जाने हाकिमसाबहरूलाई तिनै स्थलहरूमा भेट्दा दुई–चार जनाको बीचमा ठाँटिदै, हात मिलाउँदै, मित्रभावका साथ टहलिँदै गरेको पाइन्छ । त्यसकारण उच्च तहका प्रशासकले यी सामान्य विषयमा मात्र ध्यान पु¥याउन सकेको खण्डमा उनीहरूको व्यक्तिगत जीवनका साथै राष्ट्रको जीवनलाई समेत सकारात्मक प्रभाव पर्छ । सीमित विषयवस्तुको अध्ययन र ज्ञानबाट केही विषयमा डिग्री हासिल गर्न र लोकसेवा पास गर्न जति सजिलो छ, सिंगो प्रणालीका रूपमा रहेको मानव समाज र त्यसको उपप्रणालीका रूपमा रहेको राष्ट्रसेवामा पास गर्न धेरै कठिन छ । त्यसका लागि स्वविवेक होइन, विवेकपूर्ण सहकार्य, सदाचारिता, पेसागत व्यावसायिकता, पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिताप्रति संवेदनशीलता, सेवाभाव र इच्छाशक्तिको आवश्यकता पर्छ । अन्यथा राष्ट्रले घाटा बेहोर्छ, छवि बिग्रिन्छ, जेलनेल भोग्नुपर्ने हुन सक्छ, जनताले दुःख पाउँछन् र अवकाशपछि उनीहरू एक प्रकारले बहिष्करणको सिकार बन्छन् ।