शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

पशु व्यवसायमा कर्णालीको उँभोगति

शुक्रबार, १२ साउन २०८०, १० : ३१
शुक्रबार, १२ साउन २०८०

सुर्खेत । कुनै कालखण्डमा पूर्वी एसियादेखि मध्य एसिया हुँदै भूमध्य सागरसम्म व्यापार गर्ने रेशम मार्गका रुपमा कर्णाली नदीको बाटो थियो । कर्णालीको किनारै किनार दक्षिणतर्फ दिल्लीदेखि उत्तरको मानसरोवर कैलाश पर्वतसम्म पुग्ने गरिन्थो । त्यही समयमा कर्णाली किनारै किनार उत्तर–दक्षिणको व्यापार मार्ग हुनुले ‘कर्णालीले जे खोज्यो, त्यो पाइन्छ’ भन्ने गरिन्थ्यो । त्यस बखत् नुन बाहेक अरु कुरामा कर्णाली आत्मनिर्भर थियो ।

विस्तारै चारैतिरका व्यापारिक नाका बन्द हुँदै गए । बस्तु विनिमयका सामानहरू सीमित हुँदै गए भने चरन क्षेत्र अभावका कारण पशु व्यवसाय मासिँदै गयो । परम्परागत खेती प्रणालीमा सबैजना केन्द्रित हुनुपर्दा उत्पादन घट्दै गयो भने काठमाडौंले कर्णालीलाई आफ्नो सीमाभित्र पारे पनि जिम्मेवार बन्न सकेन । राज्यसत्तामा कर्णालीको पहुँच पुगेन र व्यापार व्यवसाय हुन पाएन ।

यद्यपि कर्णाली अझै पनि पशु व्यवसायमा अब्बल नै देखिन्छ । प्रदेशका करिब ६० प्रतिशत नागरिक पशुपालन व्यवसायमा निर्भर रहेको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय अन्तर्गत पशुपन्छी विकास निर्देशनालयको अनुमानित तथ्याङ्क छ ।

निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीमा पछिल्लो समय पशुपालन क्षेत्रतर्फ कृषकहरु आकर्षित हुँदै गइरहेका छन् । प्रदेश सरकार बनेपश्चात थोरै भए पनि पशुपालन क्षेत्रमा राज्यले लगानी बढाएपछि पशुपालक किसान व्यावसायिक रुपमा आकर्षित भइरहेका हुन् । जसले गर्दा पछिल्लो समय पशुपन्छीजन्य बस्तु निर्यात गरी त्यसबाट अर्बौँ रकम आम्दानी भइरहेको छ ।

कर्णालीबाट प्रायः खसी, बोका, भेँडा र बाख्रा निर्यात हुने गरेको छ । यद्यपि पछिल्लो समय भेँडा, च्याङ्ग्रामा भने कमी आएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरी बताउँछन् । रातोपाटीलाई प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९÷०८० मा पशुजन्य बस्तुको निर्यातबाट ३ अर्ब २८ करोड २५ लाख २ हजार रकम कर्णालीमा भित्रिएको छ ।

विशेषगरी कर्णाली मासुमा आत्मनिर्भर छ भने वार्षिक अर्बौँको खसी, बोका, बाख्रा निर्यात गर्दछ । पछिल्लो एक वर्षमा कर्णालीबाट १ लाख २२ हजार ६१७ वटा खसी, बाख्रा र बोका निर्यात भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । खसी, बाख्रा र बोका विशेगरि पोखरा र काठमाडौंमा निर्यात भएको छ । जसबाट २ अर्ब १७ करोड ८२ लाख ७ हजार रकम प्रदेशमा भित्रिएको छ ।

प्रदेश सरकारले पशुपालन व्यवसायलाई प्राथमिकता राख्दै विभिन्न कार्यक्रम लागु गरेको छ । उदाहरणका लागि आर्थिक वर्ष ०७८÷०७९ मा ‘गोठालो भत्ता’ कार्यक्रम ल्यायो । १० जिल्लामै लागु गर्ने भनिए पनि यो कार्यक्रम गत आर्थिक वर्ष चार वटा जिल्लामा मात्र लागु भयो । पशुपालन व्यवसायतर्फ आकर्षण बढाउनका लागि कार्यक्रम ल्याइए पनि नामको विषयमा भने अनेक खालका प्रश्न उठ्ने गरेका छन् । ‘गोठालो भत्ता’ नामले कृषकको सम्मान नहुने तर्क मन्त्रालयका अधिकारीहरु गर्दछन् ।

कर्णालीले मासु समेत निर्यात गर्ने गरेको छ । पछिल्लो एक वर्षमा ५७.३ मेट्रिकन टन मासु लुम्बिनी प्रदेशको बाँके जिल्लामा मात्र निर्यात भएको छ । त्यसबाट कर्णालीले ३ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै दुध र घिउ पनि कर्णालीले निर्यात गर्न थालेको छ । तथ्याङ्क अनुसार एक वर्षमा ११ हजार ६७१.१ मेट्रिकटन दुध कर्णालीले निर्यात गरेको थियो । जसको बजार भनेको बाँके नै हो । दुधबाट कर्णालीमा ८४ करोड ५१ लाख ३६ हजार रुपैयाँ र घिउबाट १० करोड १५ लाख ७० हजार रुपैयाँ भित्रिएको छ । एक वर्षको अवधिमा ८६.६ मेट्रिक टन घिउ निर्यात भएको छ । कर्णालीको घिउको बजार भनेको काठमाडौं, पोखरा र बाँकेको नेपालगञ्ज जस्ता ठुला सहर हुन् ।

कर्णालीले पछिल्लो समय राडीपाखीदेखि माछा, सुकुटीसम्म निर्यात गर्छ । गत वर्ष बंगुर व्यवसायबाट मात्रै ९६ लाख ३० हजार रकम भित्रिएको छ भने माछाबाट १० लाख ५० हजार रकम भित्रियो । माछा प्राकृतिक जलसायबाट उत्पादित भएको हो । अघिल्लो आर्थिक वर्ष १.२ मेट्रिकटन माछा बाँके र दाङमा निर्यात भएको तथ्याङ्क छ । २०.३ मेट्रिकटन सुकुटी बाँके र काठमाडौं निर्यात गरी त्यसबाट ३१ करोड रकम भित्रिएको छ ।

राडीपाखीबाट १६ लाख ८० हजार रकम आम्दानी गरेको निर्देशनालयले जनाएको छ । कर्णालीका उत्पादित राडीपाखी काठमाडौं, पोखरा र बाँकेमा निर्यात हुने गरेको छ । यस अतिरिक्त खरायोको टोपी, गलबन्दी लगायतबाट पनि कर्णालीले आम्दानी गरेको छ ।

कर्णालीका व्यापारिक नाका

कुनै बेला भारत र चीनबीच व्यापारको केन्द्र बनेको कर्णाली अहिले व्यापारिक दृष्टिकोणले देशभित्रै सीमित छ । विगतका चारैतिरका व्यापारिक नाका बन्द छन् । पशुपन्छी विकास निर्देशनालयका अनुसार कर्णालीमा उत्पादन पशुजन्य बस्तुहरु सुर्खेतको हर्रे, सल्यानको कपुरकोट र पश्चिम सुर्खेतको कुइनेबाट बाहिर जान्छ । यी नाकाबाट बस्तु विनिमयका सामग्री निर्यातका लागि प्रदेश सरकारले सिफारिस दिने गर्छ ।

कति छ, कर्णालीमा रहेका पशुपन्छीको संख्या ?

निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीमा स्थानीय, वर्णशंकर उन्नत, उन्नत गरी ६ लाख ६० हजार ५९७ वटा गाई÷गोरु छन् । स्थानीय भैँसी, राँगा, वर्णशंकर भैँसी, राँगा र उन्नत भैँसी, राँगा गरी ३ लाख १९ हजार ९८१ वटा छन् । स्थानीय बोका÷बाख्रा, वर्णशंकर बोका÷बाख्रा, उन्नत बाख्रा÷बोका गरी २२ लाख ९९ हजार २२३ बाख्रा छन् भने बंगुर÷सुंगुर ८ हजार ८१०, भेँडा २ लाख ४४ हजार ९८६, हाँस २३ हजार ३५३, कुखुरा १५ लाख ५१ हजार, याक÷नाक÷चौँरी २१ हजार ४८३, घोडा, खच्चड ३१ हजार २३२, खरायो १७ हजार ६११, टर्की ७ हजार ९७१ र कालिज १३ हजार ११ वटा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप