मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष समाचार

बिहीबार, ११ साउन २०८०, २२ : २१
बिहीबार, ११ साउन २०८०

आज मिति २०८० साल साउन ११ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

कोशी सरकार ढल्यो

सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरेको हो ।

साथै अदालतले नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ । साउन १७ भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया प्रारम्भ गर्न पनि सर्वोच्चले परमादेश दिएको छ ।

के भन्छन् थापा ?

कोशी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले आफू कामचलाउ मुख्यमन्त्री नरहेको बताएका छन् । गत असार २१ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति प्रक्रिया सर्वोच्चले आज खारेज गरेको थियो ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले साउन १७ गतेपछि आफूले मुख्यमन्त्रीको हैसियत प्राप्त गर्ने बताएका छन् ।

सर्वोच्चको परमादेशले उद्धव थापा नेतृत्वको सरकार ढलेसँगै साउन १७ गतेपछि आफूले फेरि मुख्यमन्त्रीको हैसियत प्राप्त गर्ने उनले बताए । ‘मुख्यमन्त्रीको हैसियत १७ गतेपछि प्राप्त गर्छु’, उनले भने, ‘तर, अर्को सरकार बनेसम्म मै मुख्यमन्त्री हो ।’

सामान्य प्रशासनको आह्वान

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भएर आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आह्वान गरेको छ । बिहीबार मन्त्रालयले ९ दिनभित्र निवेदन दिन सार्वजनिक रूपमा आह्वान गरेको हो ।

प्रचण्ड चीन भ्रमणको तयारीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणबारे चर्चा चलेको लामो समय भए पनि मिति तोकिएको छैन । आगामी सेप्टेम्बरमा भ्रमण गर्ने गरी तयारी चलिरहेको बताइएको छ ।

पहिलो विदेश भ्रमणका रुपमा भारत भ्रमण गरेका प्रधानमन्त्री प्रचण्ड हाल इटालीको भ्रमणमा छन् । उनी शुक्रबार १० बजे स्वदेश फर्किदैछन् । उनी इटालीबाट फर्केपछि चीन भ्रमणको तयारी तीब्र हुने बताइएको छ ।

सुन तस्करी प्रकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन गालेको ‘प्रत्यक्ष प्रसारण’ गर्ने तयारी गरिएको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ मा साँझ त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट करिब १ सय किलो सुन बरामद गरेको थियो ।

राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाएको छ । राष्ट्र बैङ्कका अधिकारीहरूका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ । तर, गाल्ने प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ ।

राष्ट्रियसभा र विधेयक

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिटरब्याज सम्बन्धी अध्यादेश मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई सशर्त अघि बढाएका छन् । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट संशोधन सहित पारित भएर आएको विधेयक अघि बढाउने क्रममा उनले आगामी दिन सो विधेयक पारित भएको बिषय नजिर बन्न नसक्नेगरी अघि बढाएको जानकारी गराएका छन् ।

क्षेत्राधिकार विवाद

दुई सरकारी निकायबीचको क्षेत्राधिकार विवाद सतहमा आएको छ । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बीचको क्षेत्राधिकार विवाद बाहिर आएको हो ।

हर्कलाई अदालतको झड्का

उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न हर्क साम्पाङलाई अन्तरिम आदेश दिएको छ।

विवेकशील साझा पार्टीले स्थापना दिवस मनाएको छ । विवेकशील साझाले पार्टीको छैटौं स्थापना दिवस मनाएको हो । विवेकशील साझाको साउन ११ गते स्थापना भएको थियो । 

यो पनि....

बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरेर भाडादर समायोजन गरेको छ । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि लागू हुने गरेर प्रदेश भित्रको सार्वजनिक सवारी साधनको भाडादर समायोजन भएको हो ।

प्रतिपक्ष दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने क्रम बढ्दै गइरहेको छ । पछिल्लो समय प्रतिनिधिसभा बैठक अवरोधको घट्ना बढ्दै गइरहेको हो ।

एक नर्वेजियन महिला र उनको नेपाली गाइडले विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमालको सबैभन्दा चाँडो सफल आरोहणको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेको बताएका छन् ।

अर्थमन्त्री डा प्रकाश शरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सरकारी निकायहरूले समन्वयकारी रूपमा एक अर्कालाई सूचना आदानप्रदान गरी काम गर्नुपर्ने बताए ।

थप समाचार

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप