निर्मला हत्याको ५ वर्ष : १२३ जनाको डीएनए जाँच, अनुसन्धान जहाँको त्यहीँ
काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको ५ वर्ष पूरा भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला पन्तको १० साउन २०७५ मा हत्या भएको थियो ।
घटना भएको ५ वर्ष पूरा हुँदा पनि हत्यारासम्म प्रहरी पुग्न सकेको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुकै भनाइमा अनुसन्धान प्रगति ‘जहाँको त्यहीँ’ छ ।
१३ वर्षीय निर्मलाको हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन प्रहरीले एक समय डीएनए जाँचलाई मुख्य अनुसन्धान विधिका रुपमा प्रयोग गरेको थियो । अहिलेसम्म संदिग्ध १२३ जनाको डीएनए जाँच गरिएको कञ्चनपुरका एसपी कमल थापाले रातोपाटीलाई बताए ।
उनले भने, ‘डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा आउन सकेको छैन ।’
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अहिले म्यानुअल्ली (प्रविधिको प्रयोगबिना गरिने अनुसन्धान) विधिलाई फलो गरिरहेको छ । ब्यूरोकी एआईजी किरण बज्राचार्यले भनिन्, ‘जुनियर अफिसरको कमाण्डमा सानो टिम त्यहीँ छ, अहिले म्यानुअल्ली हेर्दैछौँ ।’
कञ्चनपुरका एसपी कमल थापा लामो समय सीआईबीमा बसेर निर्मलाको घटनामा अनुसन्धान गरेका अधिकृत हुन् । थापा कञ्चनपुरको इन्चार्ज भएपछि सीआईबीले त्यहाँबाट सिनियर अफिसरलाई चाहिँ फिर्ता बोलाएको छ । निर्मला हत्याको अनुसन्धान पूरा गर्न प्रहरी प्रधान कार्यालयले २०७९ माघमा प्रहरी उपरीक्षक कमल थापालाई कञ्चनपुरमा सरुवा गरेको थियो ।
उपप्रधान एवं गृहमन्त्री नियुक्त भएपछि रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका थिए । हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन २०७९ पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो ।
सिंह नेतृत्वको समितिको निष्कर्ष थियो– हत्या आरोपित पत्ता लाग्न डीएनए मिल्नुको विकल्प छैन ।
निर्मलाको हत्यापछि केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी नेतृत्वको टिमले दिलिप सिंह विष्टलाई पक्रेको थियो । निर्मलाको ‘भजाइनल स्वाब’ सँग विष्टको डीएनए म्याच नभएपछि २०७५ भदौ २६ मा सरकारी वकिल कार्यालयले विष्टलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको थियो ।
डीआईजी सिंह नेतृत्वको पछिल्लो समितिले डीएनए जाँच गर्न ५ जनाको रगतको स्याम्पल संकलन गरेको थियो । संकलित नमुना परीक्षण गर्दा ‘नेगेटिभ रिपोर्ट’ आएको छ । कञ्चनपुरका एसपी कमल थापा भन्छन्, ‘शंकित व्यक्तिहरुमाथि निरन्तर निगरानी गरिरहेका छौँ ।’
निर्मलाको हत्यामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ८ जनालाई मुद्दा चलाएको छ । तर, उनीहरु सबैजना असंलग्न देखिए । तर हत्यामा संलग्नको पहिचान नहुँदाम्म अनुसन्धान जारी राख्ने एसपी थापाले बताए । उनी भन्छन्, ‘डीएनए मिल्नुको विकल्प छैन ।’
६ समिति
निर्मला पन्तको हत्याबारे ६ वटा समितिले छानबिन र अनुसन्धान गरेका छन् । डीआईजी दुर्गा सिंहको नेतृत्वमा बनेको समिति छैटौं हो ।
२०७५ भदौ ६ मा सहसचिव हरि प्रसाद मैनालीको नेतृत्वमा समिति बनेको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा ०७५ भदौ १४ मा छानबिन समिति बन्यो ।
२०७५ कार्तिक २७ मा राष्ट्रिय मानव अधिकार आयोगले समिति गठन गरेको थियो । ०७६ भदौ २६ मा डीएनए विज्ञ जीवनप्रसाद रिजालको नेतृत्वमा गठन भएको समितिले पनि घटनाबारे छानबिन गरेर सुझाव दिएको थियो ।
२०७६ माघ ११ मा तत्कालीन डीआईजी सुरज केसीको नेतृत्वमा बनेको पुनरावलोकन समितिले पनि प्रतिवेदन दिएको थियो ।
निर्मलाको हत्याबारे हालसम्म ८ वटा प्रहरी कार्यालयबाट ७८ जनाले अनुसन्धान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोबाट मात्रै ४४ जनाले घटनाबारे अनुसन्धान गरिसकेका छन् ।
वंश पत्ता लगाउने प्रयास
निर्मला हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लो सयम ‘मास डीएनए’को कन्सेप्ट लिएन । ब्यूरोले नजिकको घेराका मान्छेहरुका नमुना लिएर परीक्षण गर्ने विधि अपनाएको थियो । डीएनए परीक्षण गर्ने अहिलेको विधि अनुसार प्रहरीले शंकाको आधारमा पात्र छानेर स्याम्पल संकलन गरेर परीक्षण गर्दै आएको छ ।
पछिल्लो ६ महिनामा कञ्चनपुर प्रहरीले ३ जनाको रगतको नमुना संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । तर, ती सवै नमुनाको जाँच रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
दुर्व्यसनको लत बसेका, घटनास्थलको खोला तरेर पारी जानसक्ने र यौन मनोविज्ञान विक्षिप्त रहेकाहरुबाट प्रहरीले नमुना संकलन गरिरहेको छ । २०७५ साउनमा घटनास्थल आसपासमा भएकाहरुको नमुना संकलन गरिएको छ ।
परिस्थितिजन्य प्रमाण अनुसार वैज्ञानिक परीक्षणका लागि लिएका स्याम्पल निर्मलाको ‘भजाइनल स्वाब’ सँग मिल्नुपर्छ । ‘भजाइनल स्वाब’बाट विधि विज्ञान प्रयोगशालाले १६ वटा क्यारेक्टर डेभलप गरेको छ । ‘वाइ एसटीआर’ विधिबाट गरिएको सो परीक्षणबाट पुरुष वंश पत्ता लाग्छ ।
निर्मला घटना छानबिन गर्न डीएनए विज्ञ जीवन रिजालको नेतृत्वमा यसअघि गठन भएको समितिले ‘अटोजोमल’ विधिबाट परीक्षण गर्नुपर्ने भन्दै अनुसन्धानमा ह्युमन इन्टेलिजेन्सलाई जोड दिन सुझाएको थियो । रिजालका अनुसार ‘अटोजोमल’ विधिबाट परीक्षण गर्दा ‘पिन प्वाइन्ट’ पत्ता लाग्छ । अर्थात् सम्बन्धित व्यक्ति नै पत्ता लाग्छ ।
रिजाल नेतृत्वको समितिले ‘वाई एसटीआर’मा पुरुषको डीएनए भेटिएको कुरा स्वीकार्दै आफ्नो प्रतिवदेनमा लेखेको छ, ‘पुरुषको डीएनए भेटिनुको मतलव मेल कन्ट्रिब्युटर छ भन्ने हो ।’
रिजाल नेतृत्वको समितिले भजाइनल स्वाब संकलनमै समस्या देखिएको निष्कर्ष निकाल्दै डीएनए परीक्षण विधिबाट भन्दा ह्युमन इन्टेलिजेन्स प्रयोग गरेर अनुसन्धान गर्न सुझाएको थियो । तर, निर्मला प्रकरणमा ८ जना प्रहरीले कारवाही भोगेको हुनाले अनुसन्धान अधिकृतहरु अर्को विधिमा जान हच्किने गरेका छन् ।
अटोजोमल विधिबाट परीक्षण नगर्नुको कारणबारे केन्द्रीय विधि विज्ञान प्रयोगशाला प्रमुख डा. राकेश सिंहले ‘अनुपात कम भएको हुनाले अटोजोमल एसटीआर गर्न नसकेको’ बताउने गरेका छन् । ‘वाइ एसटीआर’ विधिबाट डेभलप गरिएको १६ वटा क्यारेक्टरसँग नमुना मिलेपछि आरोपितको वंश पत्ता लाग्ने र त्यसपछि अनुसन्धान साँघुरिने प्रहरी अधिकारीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुवाकोटको शेरा दरबारको १६४ रोपनी जग्गा प्रयोजन विपरीत भोगचलन गरेको सीआईबीको निष्कर्ष
-
मुआब्जा नपाएको रेलमार्ग प्रभावितको गुनासो
-
श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउँदै
-
विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भए निवेदन दिन काठमाडौँ महानगरको आग्रह
-
पश्चिम नेपालमा किन गइरहेको छ एकपछि अर्को भूकम्प ?
-
कांग्रेसका नेताहरूले माओवादीसँग ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् : वर्षमान पुन