आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रकृतिको चिन्ता

कालो बादल देखेर कहिलेसम्म तर्सिने भजनीवासी ?

स्थानीयलाई ज्यानसँगै घर, खेत जोगिन्छ कि जोगिन्न भन्ने पिरलो
बिहीबार, ११ साउन २०८०, ०९ : ०७
बिहीबार, ११ साउन २०८०

धनगढी । वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर, कैलालीको भजनीवासीआकाशमा कालो बादल मडारिँदा तर्सिन्छन् । पानी परेको रात जाग्राम बस्छन् ।भोक, निद्रा हराउँछ । 

भजनी नगरपालिका–१ की रशिला चौधरी भन्छिन्, ‘पानी पर्न साथ हामी चयनको निद्रा सुत्नै सक्दैनौ । पानी पर्नसाथ नदीको बाढी गाउँ पस्ने त्रास सुरु हुन्छ ।’ स्थानीयलाई ज्यानसँगै घर, खेत जोगिन्छ कि जोगिन्न भन्ने पिरलोले पनि सताउँछ ।

‘कुनै वर्ष साउन, भदौमै ठूलो बाढी आईदिन्छ त कुनै वर्ष असोज, कात्तिकमा । गत वर्ष भदौमा ठूलो बाढी आयो । रोपेको धान बगाएर लग्यो’उनले अगाडि थपिन्, ‘बाढीको कारण हरेक वर्ष घर मर्मत गर्नुपर्छ । लिपपोत गरेको घर, बाढी आएर भत्काईदिन्छ । बाँकी काम ठाँती राखेर भए पनि पुनः घर बनाउनुपर्छ ।’

२०६४ सालयता डुबान र कटानको पीडा निरन्तर भोग्दै आएको उनी स्मरण गर्छिन् ।यस्तै पीडा सुनाउँछिन् भजनीकी शोभा चौधरी । शोभाले भनिन्, ‘खेत नभएको पनि होइन। तर, बाढीले गर्दा खेतमा फलेको अन्न कहिल्यै  भित्र्याउन पाउँदैनौं । गतवर्ष त एक गेडो पनि ल्याउन पाइएन ।’

पछिल्लो समय बाढीले बर्खे धान नजोगिने भएपछि भजनी क्षेत्रका स्थानीयहरु विकल्पको रुपमा चैते धान रोप्न थालेका छन् । भजनी नगरपालिका–९ खुरह्रिया टोलका स्थानीय सीताराम चौधरीको गत वर्षको बाढीले घर र खेत पुरै डुबानमा पर्यो । भत्किन लागेको २ कोठे कच्ची घर थामथुम पारेर परिवारसहित ओट लाग्न बाध्य भएको सुनाउँछन् उनी । 

घरसँगै रहेको १५ कठ्ठा धानखेत फुटबल मैदान जस्तै सफाचट भएको थियो । उनीसँगै छिमेकी अरु किसानको पनि लहलहाउँदो भई बाला पोसाउने बेला धानखेत बाढीले पूरै रित्तिएपछि भोकमरीको सामना गर्नु पर्याे । 

टीकापुरमा पनि कटान उस्तै
बाढीले जिल्लाको दक्षिणी क्षेत्रको आमजनताको आमपीडा पनि उस्तै छ । स्थानीय मोहना, कन्द्रा, पथरैया, काँढा, कर्णालीलगायत नदीमा बाढी आउँदा भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिकालगायत स्थानीयतहका साढे ६ हजार बढी घरधुरी प्रभावित हुन्छन् । 

वर्षेनी हुने कर्णाली नदीको डुबान र कटानले टीकापुर नगरपालिका–८ श्रीलंकाका डोंग्ला चौधरीको वर्षा लागेपछि निद्रा हराउँछ । कर्णाली नदीले आफ्नो उब्जाउ भूमि २०६० सालबाट वर्षेनि कटान गर्न थालेपछि उनी उत्तिकै चिन्तित छन् ।

केही वर्ष पहिलेसम्म टीकापुरका स्थानीय दीपेन्द्र भण्डारी, खड्क साउद, कालु साउद, गोपाल साउद, बलबीरे टमट्टा, डोंग्ला चौधरीसहित दर्जनौं किसानको सयौं बिघा जमिनमा कर्णाली बगिरहेको छ ।

Bhajani_flood (3)

नदी कटान र डुबानले प्रभावित अधिकांश किसानहरूले नदीमा तटबन्धका लागि जिल्ला प्रशासन, प्रदेश सरकार र स्थानीय तहमा धेरैपटक धाउँदै आएका छन् । पटक–पटकको संघर्षपछि यसै वर्षदेखि कर्णाली नदी नियन्त्रण आयोजनाले ठूला बोल्डर (ढुंगा) नदीमा खसाल्यो । त्यसको प्रभावकारिता नहुँदा स्थानीयको त्रास ज्यूँका त्यूँ छ ।
उता कर्णाली र मोहना नदीको संगमस्थल रहेको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जग्गापनि नदीले कटान गर्दै आएको छ ।

टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने,‘सत्ती कर्णाली सामुदायिक वन क्षेत्रदेखि वनगाउँसम्मको धेरै जमिन नदीले कटान गरिसकेको छ ।’
टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले कर्णाली नदीको कटान नियन्त्रणका लागि आयोजनाले तटबन्धको स्वरूप नै परिवर्तन गर्नुपर्ने जिकिर गरे ।

त्यस्तै, भजनी नगरपालिकाका नगरप्रमुख केवल प्रसाद चौधरीले केही वर्षदेखि यस क्षेत्रका स्थानीयहरु लगातर बाढीको चपेटामा पर्दै आएको बताउँछन् । तर दीर्घकालीन समस्याको समाधान आफूहरुसँग नभएको उनी स्वीकार्छन् । पालिकाको ल्याकतले नपुग्ने, यसको लागि संघीय सरकारले नै बृहत् कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप