कृषि क्षेत्रलाई अलग राख्दा समृद्धि ल्याउन सकिँदैन : मुख्यमन्त्री शाह

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रलाई अलग राखेर प्रदेशको समृद्धि ल्याउन नसकिने बताएका छन् ।
आज धनगढीमा आयोजित भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कृषि क्षेत्रमार्फत प्रदेशको विकास गर्नका लागि गर्नुपर्ने काममा सरकार पछि नपर्ने बताए । उनले भने, “कृषिउपजको आयात रोकेर स्वदेशमै उत्पादित कृषिउपजको निर्यात बढाउनेतर्फ अब ध्यान दिन जरुरी भइसकेको छ ।”
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.मदनसिंह धामीले कृषिको उत्पादन र उत्पादकत्व बढाउन मन्त्रालयले कृषि गतिविधिमा सहयोग गरिरहेको बताए । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले सहिद भीमदत्त पन्तको नामबाट उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गर्ने सरकारको नीतिले कृषकको हौसला बढ्ने विश्वास व्यक्त गरे ।
पाँच किसान पुरस्कृत
प्रदेश सरकारले खडा गरेको ‘भीमदत्त उत्कृष्ट पुरस्कार २०७९’ अन्तर्गतको भीमदत्त सर्वोत्कृष्ट पुरस्कारबाट कञ्चनपुर बेलौरी नगरपालिकाका असारेराम बडायक पुरस्कृत भएका छन् । उनले पुरस्कार स्वरुप रु एक लाख ५० हजार र प्रशंसापत्र पाएका छन् ।
कृषिमा नयाँनयाँ प्रविधि अपनाएर खेती गरिरहेका उनी अन्य किसानका लागि नमूना कृषकको रुपमा स्थापित भएका छन् । बजारमा पाउने कृषि उपकरणलाई आफैँले किसान तथा जग्गामैत्री बनाउँदै उनले लागत खर्च कम गरी उत्पादत्व वृद्धि गरिरहेका छन् । बडायकले आफ्नो उखु खेतीभित्र आलु र तोरी खेती गरिरहेका छन् ।
रु ७५ हजार र प्रशंसापत्रसहितको भीमदत्त उत्कृष्ट पुरस्कारबाट कैलाली घोडाघोडी नगरपालिकाका पहलमान देउवा पुरस्कृत भएका छन् । उनले २२ बिघा जग्गा भाडामा लिई कुखुरा, बङ्गुर, बाख्रा, माछापालनका साथै ड्रागन खेती र घाँस खेती गरिरहेका छन् ।
रु ७५ हजार र प्रशंसापत्रको भीमदत्त उत्कृष्ट पुरस्कारबाट नै डडेलधुरा अमरगढी नगरपालिकाका प्रिन्सराज अवस्थी, गन्यापधुरा गाउँपालिकाका प्रसाददत्त अवस्थी र बैतडी पाटन नगरपालिकाका जयन्ती भाट (बिजले) पनि पुरस्कृत भउका छन् ।
अमरगढी नगरपालिकाका कृषक अवस्थीले डडेलधुरा र बझाङमा गरी झण्डै एकसय २० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । उनको तरकारी खेतीबाट प्रत्यक्षरुपमा दश जनाले र अप्रत्यक्षरुपमा धेरै व्यक्तिले रोजगारी पाएका छन् ।
गन्यापधुराका प्रसाददत्त अवस्थीले गाउँपालिकाका विभिन्न ठाउँमा गरी झण्डै दुईसय रोपनीमा तरकारी खेती गरिरहनुभएको छ । पाटन नगरपालिकाकी जयन्ती भाट (बिजले) ले करिब ४० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् ।
प्रदेश सरकारले कृषकको हौसला बढाउँदै कृषि उपजको व्यावसायिक उत्पादन गराउनका लागि किसान नेता स्व भीमदत्त पन्तको नामबाट दुई वर्षअघि यो पुरस्कार खडा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा