शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

नाटक : आध्यात्मिक कोशको नाम र क्षेत्र

बुधबार, १० साउन २०८०, ११ : ०१
बुधबार, १० साउन २०८०

स्थान– देवघाट धाम

समय– दिउसो तीन बजे

पात्रहरू 

वशिष्ठ– गुरुकुल आश्रमका प्राचार्य

ईला– गुरुकुलकी प्रथम छात्रा 

उषा– गुलकुलकी दोस्री छात्रा

भारती– गुरुकुलकी तेस्री छात्रा 

मन्यु– गुरुकुलका प्रथम छात्र 

उपमन्यु– गुरुकुलका दोस्रा छात्र 

नेपथ्यमा ठूलो गुरुकुल आश्रम देखिन्छ, जहाँ सयौँ छात्रछात्राहरू रहेका हुन्छन् । आश्रमका छेउछाउमा स–साना प्रशस्तै मन्दिर छन् । स–साना रुख र बुट्यानहरूले आश्रमको शोभा बढाएको छ । पर केही तल शुक्ला गण्डकी र कृष्णा गण्डकीको सङ्गम देखापर्छ । नदीका पानी एउटाको कालो र अर्कोको सेतो छ, जसले गर्दा मिसिएपछि पनि केही तलसम्म वर्ण छुट्टिएको प्रष्टै देखिन्छ । 

रङ्गमञ्चमा विद्यार्थीहरू रापिलो घाम तापेर बसेका हुन्छन् । उनीहरू आपसमा हिजोका पाठबारे छलफल गरिरहेका देखा पर्छन् । त्यत्तिकैमा प्राचार्य वशिष्ठको प्रवेश हुन्छ, जसको व्यक्तित्व पाकेर सेतै भएका दाह्री, कपाल र हातको छडीले निकै आकर्षक बनाएको छ । उनी आउनासाथ छात्रछात्राले उठेर प्रणाम गर्छन् । उनले पनि नमस्कार फर्काउँदै विद्यार्थीहरूलाई बस्ने सङ्केत गर्छन् र छेउको कुर्सी तानेर बस्छन् । 

वशिष्ठ– (विद्यार्थीहरूलाई सम्बोधन गर्दै) तिमीहरूलाई मानव शरीरमा कति वटा आध्यात्मिक कोशहरू हुन्छन् थाहा छ ?

छात्रछात्राहरू– (सामूहिक स्वरमा) छैन गुरुदेव !

वशिष्ठ– त्यसो हो भने सुन त्यस्ता कोशहरू पाँच वटा हुन्छन् ।

छात्राछात्राहरू– (सामूहिक स्वरमा) ती भनेका के हुन् र के गर्छन् नि गुरुजी ?

वशिष्ठ– तिनीहरू भनेका विशुद्ध मानव शरीरमा रहेका आध्यात्मिक कोश हुन्, जसमा अन्नमय कोश, प्राणमय कोश, मनोमय कोश, विज्ञानमय कोश र आनन्दमय कोश पर्छन् । यिनीहरू क्रमशः स्थूलबाट सूक्ष्मतिर गइरहेका हुन्छन् र साधकहरूले साधनाको माध्यमबाट यसलाई अनुभूत गर्न सक्छन् । साधनाका क्रममा यिनीहरू क्रमशः एकपछि अर्को जागृत हुँदै जाने भएकाले जति बढी जागृत गर्न सकियो उति बढी ज्ञानको गहिराइमा पुग्न सकिन्छ ।

ईला– अन्नमय कोश भनेको कस्तो कोश हो र यो जागृत भएपछि साधकालाई केकस्तो अनुभूति हुन्छ गुरुजी !

वशिष्ठ– अन्नमय कोश भनेको स्थूल शरीरसित सम्बन्धित कोश हो । पहिलो कोश भएकाले यस कोशसित सम्बन्धितहरू शारीरिक धरातलमै रहेका हुन्छन् । उनीहरू कर्मकाण्डलाई नै धर्म मान्ने गर्छन् र अहङ्कारको शिखरमा आरुढ भएका हुन्छन् । उनीहरूको शरीरमा वासनाको लहर यति बढी घना हुन्छ कि राधाकृष्णको सम्बन्ध, कृष्णको रासलीला, गोपीसँगको लुकामारी, लक्ष्मीनारायणको सामिप्य, उमामहेश्वरको सम्बन्ध जस्ता अति गहन आध्यात्मिक विषयलाई पनि वासनाकै आँखाले हेर्ने गर्छन् । प्रायः ठूला ठूला भनिएका र भनाइएका साधुसन्त, महात्मा, प्रोफेसरहरू र बुद्धिजीवीहरूसमेत अन्नमय कोशको धरातलमै बाँचेका हुन्छन्, जसले गर्दा समाज दिग्भ्रमित भइरहेका हुन्छ ।

उषा– अनि प्राणमय कोश भनेको के हो र यसको तहमा पुगेका साधकहरूको अवस्था कस्तो हुन्छ नि गुरुजी ?

वशिष्ठ– अन्नमय कोशका धरातलमा रहेकाहरूमध्ये केही साधक सद्विचार तथा संयमित आहार विचारका माध्यमबाट त्यसलाई पार गरी प्राणमय कोशमा प्रवेश गरेका हुन्छन् । उनीहरू स्वासप्रश्वासको माध्यमबाट नामजप, मन्त्रजप गर्न सुरू गर्छन् । यसैका कारण उनीहरूको तर्क र बुद्धिको स्थानलाई श्रद्धा, भक्ति र विश्वासले लिने गरेको हुन्छ । 

भारती– अनि मनोमय कोशको अवस्था कस्तो हुन्छ नि गुरुजी ?

वशिष्ठ– प्राणमय कोशमा प्रवेश गरेका साधकबाट त्यस्तै किसिमको विचार र व्यवहार हुन थाल्छ र बिस्तारै मनोमय कोशमा प्रवेश गर्छन् । त्यसपछि जपको साथमा ध्यानको तहमा पुग्छन् र यसैको माध्यमबाट ईश्वरीय लीलाहरूलाई बुझेर ध्यानको गहिराइ चुम्न थाल्छन् । 

मन्यु– अनि विज्ञानमय कोशको अवस्था कस्तो हो नि गुरुवर !

वशिष्ठ– यो भनेको प्राणमय कोशभन्दा माथिल्लो अवस्था हो । साधनाको स्तर बढ्दै गएपछि बिस्तारै साधक प्राणमय कोश पार गरी विज्ञानमय कोशको तहमा प्रवेश गर्छन् । यस तहमा पुगेका साधकले आफू को हो, कहाँबाट आएको हो, कहाँ जान आएको हो र त्यहाँसम्म पुग्न के गर्नुपर्छ भन्ने कुराको बोध गर्न थाल्छ र त्यस्तै तरिका अपनाउन थाल्छ । 

उपमन्यु– अनि आनन्दमय कोश भनेको कस्तो अवस्था हो नि गुरुवर ?

वशिष्ठ– यो भनेको परम आनन्दको प्राप्तिको अवस्था हो । जब साधकले विज्ञानमय कोश पार गर्छ तब आनन्दमय कोशको तहमा प्रवेश गर्न पुग्छ  । यस तहमा पुगेका साधकहरू जीवन मुक्तको अवस्थामा पुग्छन् । यद्यपि उसको पनि बस्ने, खाने, सुत्ने, शौच स्नान आदि भौतिक क्रियाकलाप अन्य सामान्य मानिसकै जस्तो हुन्छ तर आध्यत्मिकरूपमा भने यति बढी आनन्दको तहमा हुन्छन् कि थप प्राप्तिको आवश्यकता बोध नै गर्दैैनन् । उनीहरूको मनको तहमा करुणा भरिने भएकाले स्वतस सर्वहित र सर्वकल्याणको कामना गरिरहेका हुन्छन् । उनीहरू सदैव आत्मरामको अवस्थामा रहन्छन् र मरेपछि पनि त्यस्तै अवस्थामा पुग्छन्, जसलाई धर्मशास्त्रले मोक्ष प्राप्ति भनेको छ । 

यत्तिकैका पर्दा खस्छ र सबै आश्रमभित्र प्रवेश गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप