रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष समाचार
आज २०८० साउन ९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
चिनियाँ प्रतिनिधिमण्डलको प्रश्न
चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक व्यूरो सदस्य युआन च्या च्युनको नेपाल भ्रमण नेपाल–चीनबीच भएका विकास सम्झौता कार्यान्वयनमा केन्द्रित भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१९ अगष्ट १२ र १३ मा गरेको दुई दिने नेपाल भ्रमणका क्रममा गरेका सम्झौता र आगामी दिनमा नेपाल–चीनबीच हुने साझेदारीका बारेमा छलफल भएको छ ।
आरोपका चाङ
आफूभन्दा वरिष्ठलाई पछि पार्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक बन्न सफल प्रदीप अधिकारीको हर्कतले यतिबेला कर्मचारीवृत्तमा खैलाबैला मच्चिएको छ । ‘तिमीहरुले मेरो कुरा लगाएर के भयो ? मन्त्रीले त मलाई केही गर्न सकेन’ भन्दै उनले क्यानभित्र रवाफ देखाउँदै आएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।
गृहमन्त्री भर्सेस एमाले अध्यक्ष
‘क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री चाहिँ काँक्राको बियाँ अर्काको गालामा लगेर टाँस्छन् । यो अत्यन्तै अनैतिक र गैरजिम्मेवार क्रियाकलाप हो । गृहमन्त्री भएर त्यस्ता गैरजिम्मेवार कुरा गर्दै हिँड्ने ?’ एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि गरेको प्रश्न हो यो ।
उम्मेदवार जरिवानामा परे
निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।
भारतमा माओवादी नेता
भारतीय जनता पार्टीले नेपालको परिवर्तनमा माओवादी केन्द्रको अहम् भूमिका रहेको बताएको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा भारत भ्रमणमा रहेका टोलीसँग कुरा गर्दै भाजपाका नेताहरुले सो कुरा बताएका हुन् ।
हुकुमी शैलीमा जनमत
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टीभित्र एकल प्रभाव बढाएका छन् । पार्टीमा बैठक आयोजना भए पनि निर्णय भने एकल आधारमा लिने गरेको नेताहरु बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयमा तालावन्दीको होड
त्रिभुवन विश्वविद्यालय गैरविद्यार्थीहरूको तालाबन्दीमा परेको छ । गैरकानूनी रूपमा त्रिवि क्षेत्रमा टहरा बनाएर व्यापार व्यवसाय गर्दै आएकाहरूले तालाबन्दी गरेका हुन् । प्रायः विद्यार्थी, शिक्षक, कर्मचारीको तालाबन्दीको सिकार बन्ने त्रिवि यो पटक भने व्यवसायीको तालाबन्दीको मारमा परेको हो । संघर्ष समितिमार्फत् असार ७ गतेदेखि त्रिवि उपकुलपति कार्यालय, प्रिन्सिपल कार्यालय, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरिएको हो ।
होटलमा प्रहरी नायब निरीक्षकको रहस्यमय मृत्यु
बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो ।
हेटौँडा–कुलेखानी–मातातीर्थ–सतुङ्गल सडक
कुलेखानी हुँदै काठमाडौंको सतुङ्गल जोड्ने सडकको तीन पटक म्याद थप हुँदासमेत निर्माण कार्य पूरा हुन सकेको छैन । हेटौंडाबाट काठमाडौँ प्रवेश गर्ने सबैभन्दा छोटो दूरीको उक्त सडक मार्गको २ दशकअघि ट्र्याक खोलिएको थियो ।
सुन तस्करी प्रकरण
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । साउन ३ मा बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा चिनियाँ र भारतीय नागरिकसहित १६ जना थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच