‘रोयल्टी तिर्न अप्ठ्यारो भए हाम्रो सिर्जना प्रयोग नगर्नूस्’
रेडियो तथा सङ्गीतका विभिन्न सङ्घसंस्थाबीच रोयल्टी विवादले वाकयुद्ध चलेको छ । रेडियो एसोसिएसन रोयल्टी तिर्ने तर प्रक्रिया भएन भनिरहेको छ । सङ्गीतका विभिन्न सङ्घसंस्थाले पनि रोयल्टी तिर्नु पर्छ भन्दै आएका छन् ।
सङ्गीतको रोयल्टी उठाउने आधिकारिक संस्था ‘रोयल्टी सङ्कलन समाज’ले भने रेडियोले रोयल्टी तिर्दैनौँ भन्यो भनेर प्रचार गरिरहेको छ । अहिले रोयल्टी समाजका अध्यक्ष छन् सुरेश अधिकारी ।
फिल्म, एल्बम र फुटकर गरेर थुप्रै गीतका सफल सङ्गीतकार अधिकारी करिब १२ वर्षदेखि रोयल्टी सङ्कलन समाजमा रहेर गीतसङ्गीतका र स्रष्टाका लागि काम गरिरहेका छन् । पछिल्लो समय रेडियोहरूसँग देखिएको रोयल्टी विवादको विषयमा अध्यक्ष अधिकारीलाई रातोपाटीले केही प्रश्न गरेको छ ।
अचेल केमा व्यस्त हुनुहुन्छ ?
रोयल्टी व्यवस्थापन अभिनयानमै सक्रिय छु । करिब १२ वर्ष स्रष्टाहरूको हक, अधिकार र रोयल्टी व्यवस्थापनमा बितिसक्यो । गीतसङ्गीत प्रयोग हुने सार्वजनिक ठाउँहरूमा रोयल्टी उठाउने, व्यवस्थित गर्ने गरिरहेको छु ।
–पुरानो हुँदै जाँदा रोयल्टी विवाद बढ्दो छ, किन ?
संसारकै रोयल्टी अभियान हेर्ने हो भने तिर्नुपर्ने पक्ष र लिने पक्ष स्रष्टा, कलाकार, सङ्गीत उद्योगसँग आबद्ध प्रतिलिपि अधिकारका धनीबीच विवाद पर्ने गरेको छ । अहिलेको सङ्क्रमणकालीन अवस्थामा पनि हामी रोयल्टी व्यवस्थापनमा लागिरहेका छौँ । अलि अलि विवाद पर्नु स्वाभाविक र सामान्य मानेको छु ।
–रेडियोहरूसँगको विवाद पनि सामान्य हो त ?
हामीले समाचारमा हाम्रा सिर्जना प्रयोग गरियो भने त्यसमा रोयल्टी दिनुपर्छ भनेका छैनौँ । हामी त्यसलाई समाचार सामग्री मान्न सक्छाँै । तर मनोरञ्जनात्मक कार्यक्रम लगायतमा गीतसङ्गीत भरपुर प्रयोग गर्दा त रोयल्टी तिर्नु पर्छ भनेका हौँ । संविधानको धारा २५ मा हाम्रो मौलिक हक अधिकार अन्तर्गत बौद्धिक सम्पत्तिलाई अन्य सम्पत्तिसरह संरक्षण प्रदान गर्ने अधिकार प्रत्यभूति गरेको छ । त्यसको अलवा हाम्रो प्रतिलिपि अधिकार पनि छ । सर्जक, स्रष्टाको सम्पत्ति बौद्धिक सम्पत्ति मानेर प्रतिलिपि अधिकार कसरी प्रयोग गर्ने भनेर निदिष्ट गरेको छ । त्यो सम्पत्ति सार्वजनिक प्रयोग भएको स्थानमा कसरी र कति उठाउने भनेर अधिकार हामीलाई (रोयल्टी समाज) दिएको छ । रोयल्टी तिर्नु गीतसङ्गीत सार्वजनिक प्रयोगकर्ताको कानुनी दायित्वमा पर्छ ।
–रेडियोहरूले रोयल्टी नतिर्ने भनेकै छैनन्, खालि प्रक्रिया भएन भनेका छन् । तिर्दैन भन्यो भनेर किन झुट प्रचार गर्नुभयो नि ?
प्रक्रिया भएन भन्ने भाषा नै काइते हो । उहाँहरूले कि हामीलाई कानुनको प्रावधान थाहा भएन भन्नुपर्यो । हैन भने स्रष्टाहरूको सिर्जना सार्वजनिक प्रयोग गरेपछि रोयल्टी तिर्नुपर्यो । एउटा कानुनले बनाएको रोयल्टी समाज उठाउने रोयल्टी प्रक्रिया भएन भन्नु हामी तिर्दैनाँै भनेको नै हो । रेस्टुरेन्टमा खाना खाएर अर्थ मन्त्रालयमा लगेर रकम तिर्न मिल्छ र ? जसको सम्पत्ति लिएको हो, त्यही तिर्नु पर्छ । त्यो गर्दिनँ भन्नु नियतमा खराब हो । कि अहिलेको कानुन परिमार्जन गर्न सक्नुपर्यो हैन भने कानुनले जे तोकेको छ, त्यो पालन गर्नुपर्यो । रोयल्टी तिर्न अप्ठ्यारो छ भने हाम्रो सिर्जना प्रयोग नगर्नूस् ।
–रेडियोसँगको विवाद रोयल्टीले भन्दा तपाईंले सामाजिक सञ्जालमा गरेको गालीले उब्जिएको हो । रोयल्टी उठाउने अधिकार छ भन्दैमा अरूलाई गाली गर्न मिल्छ र ?
मैले कसैलाई गाली गरेको छैन । कसैलाई गरेको भए त्यो प्रमाण लिएर आओस् । मैले त रोयल्टी नतिर्न काइते कुरा गर्ने लाउके प्रवृत्तिको विरोध गरेको हो । रोयल्टी व्यवस्थापन गर्न बनेको संस्थालाई आँैला ठहर्याउने होइन है भनेको हो । स्रष्टालाई हामीले रोयल्टी कसरी दिन्छौँ । त्यो उनीहरूको सरोकारको विषय होइन । स्रष्टालाई चित्त बुझ्ने, उहाँहरू चाहिँ बोल्ने के हो ? त्यो अवस्थामा हाम्रो मुखबाट गाली ननिस्केर भजन निस्किन्छ त ? मैले व्यक्तिगत कसैको मानहानि हुने, आँच आउने गाली गरेको छैन ।
–पहिले मिडियामा हाम्रो गीत बजाउनुपर्यो भनेर धाउनुभयो, अहिले पैसा माग्नु हुन्छ । अलि शोभनीय नदेखिएको हो कि ?
कुनै रेस्टुरेन्टले मकहाँ आएर खानुपर्यो, राम्रो खाना खुवाउँछु भनेर प्रचार गर्यो भने त्यहाँ पैसा तिर्नुपर्दैन र ? त्यसको आशय पैसा तिर्नु पर्दैन भनेको होइन । कसैले मेरो उत्पादन प्रयोग गर्नुपर्यो भनेर विज्ञापन गर्यो भने त्यसमा पैसा पर्दैन भनेको होइन । आफ्नो सामानको विज्ञापन गर्नू, उपभोग गरियोस् भन्नुको मतलब उसको लगानी र कानुनी अधिकारको उल्लङ्घन गर्नु भन्ने अर्थ लाग्दैन ।
–रोयल्टी टाठाबाठाले मात्र पाए भन्ने गुनासो छ त ?
रोयल्टी टाठाबाठाले मात्र पाए भन्ने विषय अलि नराम्रो सुनियो कि ? स्रष्टामा को बाठो, को लाटो हामीलाई थाहा छैन । हाम्रो सदस्य भएर रोयल्टी उठाउनुपर्यो भनेर सम्पत्तिको वारेसनाम जस्तो गरेर हामीलाई जसले सिर्जना जिम्मा लगाउँछ । उहाँहरूको रोयल्टी उठाएर हामी बुझाउँछौँ ।
–एउटा गीतबाट कसकसले पाउँछन् रोयल्टी ?
रोयल्टी भन्ने बित्तिक्कै गीतकार र सङ्गीतकार जसलाई कानुनले रचियता (सर्जक) भनेको छ । त्यसले पाउँछ । हाम्रो वर्तमान प्रतिलिपि अधिकार २०५९ ले कुनै पनि ध्वनिअङ्कन भएका साङ्गीतिक सिर्जनाहरू सार्वजनिक ठाउँमा प्रयोग हुन्छ भने मनासिव पारिश्रमिक पाउने स्रष्टा र उत्पादको पनि अधिकार रहन्छ भनेको छ ।
–गीतकार, सङ्गीतकार र गायन सबैलाई परिश्रमिक दिएर एउटा निर्माताले गीत बनाउँछ भने त्यसको रोयल्टी कसकसले बुझ्छन् ?
–त्यसका रोयल्टी हुँदैन । त्यो व्यापारिक सेयर हुन्छ । त्यो सबैले बुझ्छन् ।
–एउटा निर्माताले खर्च गरेको गीत गायक गायिकाले विभिन्न ठाउँमा प्रयोग गरेर धेरै कमाउँछन् । तर निर्माता हेरेको हेरै । त्यो गीत त्यसरी प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?
अर्काको लगानीका गीतसङ्गीत गायकगायिकाले स्टेजमा प्रयोग गरेर आम्दानी गर्दा त्यो परिश्रमिक सेयर गर्नु पर्छ । कार्यक्रमका जो आयोजक छ, त्यसले भने रोयल्टी तिर्नु पर्छ । यो कानुनी कुरो हो । निर्मातालाई प्रयोगकर्ताले तिर्ने र रोयल्टी आयोजकले तिर्ने कुरा अहिलेसम्म व्यवस्थित गर्नै सकिएको छैन । यो विषयमा गायकगायिका गम्भीर हुनु पर्छ । निर्माताले लगानी गरेको गीत अन्य ठाउँमा प्रयोग गर्दा गायकगायिकाले अनुमतिसमेत लिनु पर्छ । त्यसरी प्रयोग गरेर आएको आम्दानी बाँड्नु पर्छ । निर्मातासँग त्यो गीत त्यसरी प्रयोग हुनबाट रोक्न सक्ने अधिकार पनि छ ।
–विश्वका धेरै मुलुकका गीतसङ्गीत विश्व बजार छाएका छन्, हामी त अझै रोयल्टीमै अल्झिएको जस्तो लाग्दैन ?
हाम्रा गीतसङ्गीतका दर्शक, श्रोता पनि विश्व बजारमा छरिएर रहेका छन् । जस्तो प्लेटफर्म त्यहाँ उपलब्ध छ त्यही रूपमा प्रयोग हुँदै आएको छ । एउटा दर्बिलो उपस्थिति बनाउन नसकिएको हो । अब त्यो गर्नु पर्छ ।
–रोयल्टीमा अल्झिएर तपाईंबाट आस गरिएका सिर्जना बाहिर आउन सकिरहेका छैनन् । त्यो श्रोताहरूप्रति अन्याय होइन र ?
म चौबिसै घण्टा रोयल्टीको लडाइँमा छु । त्यसले गर्दा मबाट जुन धारा प्रवाह रूपमा सिर्जनाको आस श्रोता, शुभचिन्तकले गर्नुभएको छ । मबाट त्यो हुन सकिरहेको छैन । जसको माया र आशीर्वादले मैले एउटा स्रष्टा भन्ने परिचय पाएँ । उहाँहरूले आस पुर्याउन सकेको छैन । त्यसका लागि माफी माग्नु पर्छ मैले । अहिले मेरो सिर्जना कमी भए पनि म राम्रो काममा लागेको छु । जुन काम अग्रजले पहिले गरेको भए अहिले हामीलाई सजिलो हुन्थ्यो । अग्रज, समकक्षी र आगामी पुस्ताका सर्जक सबैका लागि म हित हुने कर्ममा छु ।