बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

नेकपाका संस्थापक कर्माचार्य भन्थे- कम्युनिस्टले सिद्धान्त र व्यवहारलाई मिलाएर लैजानुपर्छ

मङ्गलबार, ०९ साउन २०८०, ११ : ३९
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज दशौँ स्मृति दिवस । विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका संस्थापक सदस्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । 

विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य थिए । उनी विसं २००५ देखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका थिए । आन्दोलनका क्रममा थुप्रैपटक कर्माचार्य जेल र निर्वासनमा समेत गएका थिए । तत्कालीन राष्ट्रिय कांग्रेसलाई मिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। 

राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही हुने नदेखेपछि उनी अर्को क्रान्तिकारी पार्टी निर्माणका क्रियाशील भएका थिए । कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान आन्दोलनबाट प्रभावित भएका थिए । 

पार्टी स्थापनापश्चात कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष थिए । उनी २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । विसं २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट उनी नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 
    
पार्टी टुटफुट र विभाजनपश्चात विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उनले निरन्तर पहल गरिरहेका थिए ।  यही क्रममा कर्माचार्य २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात एकता केन्द्र निर्माण र केन्द्रीय सदस्य तथा जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिष्ट पार्टीको संरक्षक र सक्रिय भूमिका निर्वाह गरिरहेका थिए । उनी जीवनभर अविवाहित थिए । 

संस्थापक नेता कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ । दशौँ स्मृति दिवसका अवसरमा आज नेकपा (माओवादी केन्द्र)को पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा माओवादी शीर्षनेताले कर्माचार्यको पार्टी र सिद्धान्तप्रतिको निष्ठा सबैले अनुशरण गर्नुपर्ने बताए । 

सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले कर्माचार्यले जीवनकालमा कम्युनिष्ट पार्टीले सिद्धान्त र व्यवहारलाई सँगसँगै मिलाएर लैजानुपर्नेमा जोड दिने गरेको स्मरण गरे । “उहाँ (कर्माचार्य) भन्नुहुन्थ्यो, कम्युनिष्ट आन्दोलन दुई ढङ्गले विभाजित हुन्छ, पहिलो सिद्धान्त पकड्ने नाममा जडसूत्र बन्ने र दोस्रो व्यवहारमा जानुपर्छ भनेर सिद्धान्त बिर्सने”, महराले भने, “व्यवहारिक बन्ने क्रममा सिद्धान्त बिर्सने र सिद्धान्तका नाममा जडसूत्र बन्नेलाई मिलाएर लैजानुपर्नेमा उहाँको जोड रहन्थ्यो ।”

आफू २०४८ सालमा सांसद हुँदा दिवगङ्त कर्माचार्यले देश र जनताको पक्षमा भूमिका खेल्न सजग गराएको स्मरण गर्दै उपाध्यक्ष महराले विभिन्न टुक्रामा विभाजित कम्युनिष्ट पार्टीको एकता कायम गर्ने पक्षमा कर्माचार्य रहेको बताए । 

माओवादीका सचिव लीलामणि पोखरेलले कर्माचार्य सधैँ पार्टी एकताको हिमायती रहेकाे बताए । उनले भने, “कर्माचार्य जहिले पनि पार्टी विभाजनको विपक्षमा रहनुभयो, पार्टीको नीति निर्देशनलाई कडाइका साथ पालना गर्ने, विचारप्रति निष्ठावान् र सधैँ विचारमा अविचलित भइरहनुभयो ।” कार्यक्रममा माओवादी नेता कार्यकर्ताले संस्थापक सदस्य कर्माचार्यको तस्वीरमा माल्यार्पण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप