रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०८० साउन ८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा कांग्रेस बैठकमा पदाधिकारीहरु आरोप–प्रत्यारोपमा, शंकास्पद बाकसमा भेटिएन सुन, कोशी प्रदेश सरकारबारेको रिट अब पूर्ण इजलासमा, महिलाबारे आपत्तिजनक प्रश्नसहितको पुस्तक प्रकाशित भएपछि विरोध, समाजवादी यात्राको चुनौतीबारे मन्थन, १६ प्रतिशत घट्यो आयात, ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ लगायत छन् ।
१. कांग्रेस बैठकमा पदाधिकारीहरु आरोप–प्रत्यारोपमा
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सोमबार पदाधिकारीहरुले आफ्ना धारणा राखेका छन् । बैठकमा केही पदाधिकारीबीच आरोप–प्रत्यारोप चलेको थियो । बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
२. शंकास्पद बाकसमा भेटिएन सुन
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले साउन ४ मा ६ वटा शंकास्पद बाकस बरामद गरेको थियो । तस्करीको सुन भएको आशंकामा बरामद सामानमा सुन फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् ।
३. कोशी प्रदेश सरकारबारेको रिट अब पूर्ण इजलासमा
कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दायर गरिएको रिट निवेदन अब सर्वाेच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।
४. महिलाबारे आपत्तिजनक प्रश्नसहितको पुस्तक प्रकाशित भएपछि विरोध
महिलाबारे आपत्तिजनक प्रश्न बनाएर किताब प्रकाशन भएको पाइएपछि सोमबार राजधानीमा विरोध प्रदर्शन गरिएको छ । लोकसेवा तयारी पुस्तक (गेमस्काउट, वन रक्षक, सफलताको साथी) मा महिलाहरुबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखेको पाइएपछि अनेरास्ववियू (क्रान्तिकारी) ले माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
५. समाजवादी यात्राको चुनौतीबारे मन्थन
सोमबार विभिन्न राजनीतिक दलका नेताहरुले समाजवादी यात्राका चुनौतीबारे मन्थन गरेका छन् । समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुले समाजवादी यात्राका चुनौती ः भ्रष्टाचार र दण्डहीनता विषयक कार्यक्रममा वैचारिक मन्थन गरेका हुन् ।
६. १६ प्रतिशत घट्यो आयात
नेपालले गत आर्थिक वर्ष २०७९/०८० मा विदेशबाट १६ खर्ब ११ अर्ब रुपैयाँको बस्तु आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउनदेखि असार महिनासम्मको अवधिमा १६ खर्बभन्दा धेरैको आयात भएको हो । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १६ प्रतिशत कम हो ।
७. ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो ।
८. सरकारदेखि पार्टीसम्म ‘कार्यवाहक’को लर्को
सरकारदेखि विभिन्न दलमा यतिबेला कार्यवाहक अख्तियारी पाउनेको लर्को छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युरोप भ्रमणमा रहेकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सम्हालेका छन् भने नेकपा माओवादी केन्द्रको अध्यक्षको कार्यवाहक जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् ।
९. माइतीघर मण्डलामा दैनिक जुलुस र धर्ना
पछिल्ला दिन माइतीघर मण्डला परिसरमा दैनिकजसो सभा र जुलुस हुने गरेको छ । दैनिक हुने सभा, जुलुस र धर्नाले थापाथली, त्रिपुरेश्वर, कुपण्डोलतर्फ मोडिने सडक अवरुद्ध हुने गरेको छ ।
१०. सेयर बजार फेरि ओरालोतिर
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २६ अंकको गिरावट आएको छ । हिजो आइतबार मौद्रिक नीति आउँदा एकैदिन ६३ अंकले बढेको नेप्से आज २६ अंकले घटेर बन्द भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई