राजनीतिक हस्तक्षेप बढ्दो, सुधार्ने कसरी एनआरएनएलाई ?
गैरआवासीय नेपाली संघ (एनआरएनए) यस्तो संस्था हो, जसले विश्वभरिका नेपालीलाई एउटै भावनामा गाँसेर नेपाल र नेपालीका लागि काम गर्छ भन्ने छ । सन् २००३ बाट सुरु भएको यो संघ अहिले विश्वका ८६ भन्दा धेरै देशमा फैलिएको छ । यति हुँदाहुँदै पनि कोरियामा मात्र नभएर विश्वमा रहेका धेरै नेपालीलाई एनआरएनएले समेट्न नसकेको कुरा प्रस्ट छ ।
विश्वका अन्य देशमा पनि एनआरएनएमा थुप्रै समस्या देखिँदै र सुनिँदै आइरहेको छ, तर म आफू कोरियामा रहेकाले मलाई अलि बढी चासो कोरियामा रहेको एनआरएनएमा गयो । किन बढ्दै छ, समस्याको चाङ ?
एनआरएनए अन्तर्गत राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको नवौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन जुलाई २९ र ३० मा सम्पन्न हुन गइरहेको छ, यसका लागि धमाधम विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम भइसकेको छ । दक्षिण कोरियास्थित संघ–संस्था समाजसेवी, सञ्चारकर्मी, व्यवसायी, विद्यार्थी एवं सम्पूर्ण श्रमिकलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता सहितका घोषणापत्र सार्वजनिक गर्दै उम्मेदवार यतिबेला आफ्नो पक्षमा जनमत ल्याउनकै लागि भागदौडमा लागिरहेका छन्, तर यहाँस्थित आमनेपाली श्रमिक विद्यार्थी एवं आम जनमानसमा आउँदै गरेको एनआरएनको निर्वाचनलाई लिएर कुनै पनि किसिमको उत्साह देखिँदैन ।
साधारण सदस्य लिएर मात्रै मताधिकार पाइने संस्थामा स्वतस्फूर्त रूपमा जम्मा कोरियन वन २० हजार तिरेर सदस्यता लिन ठूलो संख्या इच्छुक छैन । लगभग ६० हजार नेपाली श्रमिक रहेको देशमा हालसम्म लगभग पाँच हजार जनाले मात्रै सदस्यता लिइएको पाइएको छ । त्यो पनि धेरै मात्रामा उम्मेदवारले नै आफ्नो गोजीबाट रकम तिरेर भोटर तयार पार्ने लहर चलिरहेको छ । यो लहर यस पटक मात्रै होइन, प्रत्येक निर्वाचनपूर्व चलिरहेको छ ।
म कोरियामा अध्यनरत विद्यार्थी हुँ । म यो संस्थासँग त्यति धेरै नजिक छैन । अध्ययन सँगसँगै समय निकालेर गर्ने सञ्चारकर्मीको कर्मले पनि म अलि बढी यहाँका श्रमिक एवं साधारण व्यक्तिसँग अझै निकटतम भएको महसुस गरेकी छु । धेरै श्रमिकले एनआरएनएप्रति किन नैराश्यता देखाइरहेको मैले पाएकी छु, यस्तो किन ? यसबारे बुझ्न कोरियामा रहेका केही व्यक्तिसँग मैले कुरा गरेँ ।
विगत केही समयदेखि कोरियामा आम श्रमिकका रूपमा रहेर श्रमिकलाई सहयोग गर्दै आएका भीम सिंह ठकुरी (बीबी सिंह)लाई पहिले एनआरएनए बारेमा खासै जानकारी र चासो पनि थिएन । कोरोनाका बेला कोरोना किट किन्न एनआरएनएले अभियान चलायो, त्यतिबेला तीन–चार दिनमै झन्डै २ करोड भन्दा बढी नेपाली रुपैयाँ जम्मा भएको उनले थाहा पाए । उनका अनुसार, पछि त्यो रकमको स्पष्ट हिसाब–किताब बाहिर आएन भन्ने सुनियो, ग्रुपहरूमा विरोध भएको धेरै देखियो । ‘यसमा एनआरएनएले पनि बुझाउन सकेन जस्तो लाग्छ,’ उनी भन्छन्, ‘त्यो बेलादेखि नै नेपालीको एनआरएनएप्रतिको वितृष्णा बढेजस्तो लाग्छ ।’
उनका अनुसार, कोरोनाकै बेला चार्टर्ड प्लेन गर्न एनआरएनएले पहल गर्यो र कोरियन एअरसँग मिलेर महँगो भाडा असुल्नमा एनआरएनएको हात छ भन्ने सबैको बुझाइ छ । यसबारे पनि एनआरएनएले कहिल्यै आधिकारिक रूपमा बोलेको देखिन । एनआरएनएको संग्लग्नता नहोला, तर आम कोरियावासीलाई बुझाउन जरुरी देखिन्छ । पारदर्शिताको कमी धेरै देखियो । यसभन्दा अगाडिको नेतृत्वका बेलामा एनआरएनएको सदस्यता फर्म भर्दा स्पष्ट नबुझाएरै सिम कार्डको फर्म भर्न लगाइयो, यसरी व्यक्तिगत सूचना एउटा पसललाई बुझाउनु ठीक थिएन, यसको पनि विरोध भएको थियो ।
लगभग ६० हजार नेपाली श्रमिक रहेको दक्षिण कोरियामा हालसम्म पाँच हजार जनाले सदस्यता लिएका छन् । धेरै मात्रामा उम्मेदवारले नै आफ्नो गोजीबाट रकम तिरेर भोटर तयार पार्ने लहर चलिरहेको छ । यो लहर यस पटक मात्रै होइन, प्रत्येक निर्वाचनपूर्व चलिरहेको छ ।
दलसँग सम्बन्धित भएर गुट बनाएर एनआरएनएमा उम्मेदवारी दिएको देखिन्छ । हामी सबै बिदेसिनु एउटै कारण हो, देशमा भएको राजनीतिक अस्थिरता । जसका कारण देशले विकासको गति लिन सकेन र बेरोजगारी बढेसँगै हामीसँगै धेरै नेपाली बिदेसिनुपरेको हो । त्यही राजनीतिक दलसँग वाक्क–दिक्क भएका हामी आमनेपाली विदेशमा पनि त्यही दलको गुट बनाउनु अर्को वितृष्णाको कारण हो ।
‘यी प्रतिनिधिमूलक घटना मात्र हुन् । यस्ता धेरै घटना छन्, जसले एनआरएनएप्रति वितृष्णा बढाएका हुन् । संस्था कहिल्यै गलत हुन सक्दैन, तर त्यस संस्थालाई कसले नेतृत्व गर्यो ? र कति पारदर्शीमूलक काम गर्यो भन्ने कुराले महत्त्व राख्छ,’ बीबी सिंह भन्छन्, ‘अझै केही वर्ष यो वितृष्णा कायमै रहने देख्छु मैले । अब आउने नयाँ नेतृत्वले कसरी काम गर्छ, त्यसमा पनि भर पर्छ ।’
पर्वत समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष एवं युवा व्यवसायी दीपक केसी एनआरएनएमा राजनीतिक दलमा आस्था राख्नेहरु हाबी हुँदै गएको बताउँछन् । ‘संसारभर छरिएर रहेका विभिन्न तह र तप्काका नेपालीको हक–अधिकार र समस्याको सहज समाधानका लागि गठित साझा संस्था एनआरएनए कुनै विचार र वादबाट निर्देशित÷उत्प्रेरित हुनु हुँदैन । स्वतन्त्र रूपमा काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनी भन्छन्, ‘तर विगत केही वर्षदेखि यो संस्था पनि आफ्नो उद्देश्य र आदर्शबाट विचलित हुँदै आएको र राजनीतिबाट अलि धेरै नै प्रभावित र हस्तक्षेप बढेको हो कि भन्ने प्रस्ट देख्न सकिन्छ । यसको ज्वलन्त उदाहरण नजिकिँदै गरेको एनआरएनए दक्षिण कोरियाको अधिवेशनको तयारीलाई लिन सकिन्छ । जहाँ श्रमिकमैत्री सामाजिक भावनाले प्रेरित भिजन र एजेन्डा भन्दा पनि पैसा र शक्तिको आडमा श्रमिक कब्जा अभियान चलाइएको अनुभूत हुन्छ । त्यहाँ आफ्नो स्वार्थपूर्तिका लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग गरिएको छ ।’
यो तरिकाबाट आउने जुनसुकै नेतृत्व श्रमिकमैत्री हुन नसक्ने उनी बताउँछन् । आगामी नेतृत्व एनआरएनएको मूल मर्म बुझेको योग्य, सक्षम र सहयोगी भावनासहित श्रमिकमैत्री विचार र एजेन्डा बोकेर आउनुपर्ने उनको आग्रह छ । ‘यसका लागि हरेक तह र तप्काका प्रवासी श्रमजीवीहरू सचेत र सजग भएर विवेक प्रयोग गर्न जरुरी देखिन्छ,’ उनले भने ।
हाल कोरियामा अध्यापन गराइरहेका प्रोफेसर डा. बोजेन्द्र तुलाचन एनआरएनएले श्रमिकको समस्यालाई खासै एजेन्डा नबनाएको, श्रमिकलाई अप्ठेरो पर्दा नजिकबाट नबुझेको र खासै श्रमसँग सम्बन्धित कानुनी उपचारको पहल नगरेको बताउँछन् ।
यस्तै, एनआरएनए दक्षिणका कोरियाका पूर्वअध्यक्ष राजु क्षत्री पछिल्लो समय एनआरएनएले श्रमिकका समस्या तल्लो स्तरसम्म गएर सम्बोधन गर्न नसकेका कारण संस्थाप्रति नै श्रमिकको वितृष्णा बढेको बताउँछन् ।
एनआरएनए नेतृत्व र यसका अभियानकर्ताले सदस्यको चाहना, आवश्यकता र व्यावहारिक समस्याको समाधानतिर ध्यान नदिएको एनआरएनएका पूर्वमहासचिव एवं आईसीसी सदस्य डा. विमल सुवेदी टिप्पणी गर्छन् ।
‘आर्थिक विषयमा पारदर्शिता देखिएन । अर्कोतिर एनआरएनए अभियान नै नबुझेकाहरू पनि अभियानकर्ता बने । एनआरएनएमा आबद्ध तर साम्प्रदायिक वा राजनीतिक आस्था राख्ने कतिपय व्यक्तिले खेलेको भूमिका तथा व्यवहार अलि फराकिलो खालको भएन,’ उनी भन्छन्, ‘अधिकांश व्यक्तिले श्रमिकको सेवामा भन्दा सम्मान, आसन ग्रहण र मान प्रतिष्ठामा आशक्ति देखाए । अर्कोतिर संघ र सदस्यहरूबीच दूरी बढ्दै गयो, संवाद वा अन्तर्क्रिया हुन सकेन ।’
उनका अनुसार, दक्षिण कोरियामा रहेका नेपालीले एनआरएनएसँग नेपाली राजदूतावाससँग जत्तिकै अपेक्षा राखेका छन्, जुन व्यावहारिक छैन । ‘यो एउटा नितान्त स्वयं सेवाको अभियान हो र यसका आफ्नै सीमितता छन्,’ उनी भन्छन्, ‘अनेकन् कमी–कमजोरीबीच एनआरएनए कोरिया दिनानु दिन थप परिमार्जित र परिष्कृत भएको छ र सोका लागि प्रयत्नहरू अघि सारिएको छ ।’
एनआरएनए आईसीसीका उप–महासचिव डा. देवी बस्नेत सबैलाई सक्रिय रूपमा समेट्न नसके पनि यसले सबैका लागि काम गरेको बताउँछन् । ‘विशेष गरेर अन्तर्राष्ट्रिय समितिदेखि कोरिया तथा अन्य मुलुकमा अहिले श्रमिकबारे उठाएका मुद्दा र श्रमिकका लागि गरेका कार्यको लिस्ट लामै छ । श्रमिकका लागि सञ्चय कोषको स्थापनाको पहल, कोभिडका बेलामा आपतमा परेका विभिन्न देशमा रहेका नेपालीलाई गरेको सहयोग आदि लिन सकिन्छ,’ उनी भन्छन्, ‘कर्मचारीको व्यवस्था गरेर बेला–बेला काउनसेलिङ गर्नेदेखि अनलाइनमार्फत आवश्यक कार्यक्रम आयोजना गर्नाले धेरैलाई फाइदा भएको छ । तर केही समययता अलि नैराश्यता छाएको देखेको छु । यस पछाडिको कारण नेपालमा भएका राजनीतिक पार्टीहरूको नकारात्मक प्रभाव नै हो । यो संघ एउटा गैरराजनीतिक संस्था हो । यसलाई त्यसरी नै बुझेर सञ्चालन गर्नुपर्नेमा त्यो हुन सकेको छैन ।’
आफूहरुले यसलाई विशुद्ध गैरराजनीतिक संस्था बनाउन खोजेको तर धेरैलाई सुहाउँदो नभएको उनी बताउँछन् । यसो गर्दा यो संस्था झन्डै फुटको संघारमा पुगेको थियो ।
उनका अनुसार, एनआरएनएले गर्ने गरेका कार्यहरूको सकारात्मकभन्दा नकारात्मक रूपमा प्रचार बढी भयो । कतिले यसलाई एउटा सानो क्षेत्रीय संस्थाको रूपमा हेरेर यसका नियम पालना नगरी आफू खुसी गर्नाले व्यक्तिगत टकराबले संस्थागत रूपमा हानि पुर्याएका उदाहरण छन् । जसको प्रभाव हामीमा परेको छ ।
‘हामीसँग धेरै उद्यमशील तथा ज्ञान विज्ञानका कार्यक्रम छन् । त्यस्ता कार्यक्रमलाई नियमित रूपमा जनसमुदाय बीचमा लैजानुपर्छ । कोरियामा छोटो समय काम गरेर नेपाल फर्कने नेपालीको संख्या धेरै छ । उनीहरूका लागि एनआरएनएले विशेष रोजगार अनुमति प्रणाली (इपीएस) लक्षित कार्यक्रम ल्याउन सकेको छैन,’ उनी भन्छन्, ‘जसले नेतृत्व गर्यो, प्रायः विवादमा तानिए । कतिले व्यक्तिगत त कतिले राजनीतिक टकराब ! सकारात्मक रूपले सोचेर काम गर्ने वातावरण भएन । नेपालीले नै आफ्नो स्वार्थका लागि नयाँ आगन्तुकलाई प्रयोग गर्ने गरेको देखियो ।’
उनका अनुसार, नेपाल सरकारले नेपाल र नेपालीको विकासका लागि एनआरएनएसँग साझेदारी संघको रूपमा काम गर्न चाहेको छ । यस्ता धेरै उदाहरणमध्ये भर्खरै नेपाल सरकारले एनआरएनहरूलाई विशेष एनआरएनए नागरिकतासम्बन्धी विधयेक पारित गरेको छ । विशेषतः एनआरएनएको विश्व ज्ञान सम्मेलनहरूमा नेपाल सरकार र विदेशमा बस्ने एनआरएन (विज्ञ, प्राध्यापक, व्यवसायी)हरूको संलग्नतामा कार्यक्रम भएका छन् ।
सकारात्मक सोचका साथ कोरियामा रहेका नेपालीको हितमा दीर्घकालीन कार्यक्रम ल्याएर यसको प्रभावकारिता बढाउन सकिन्छ । यस्तै, उद्यमशीलतासँग सम्बन्धित कोरियाली प्रविधि नेपालमा भित्र्याउन सहयोग हुने खालका कार्यक्रम ल्याउनुपर्छ । यस्तै नेपालीलाई ठगेर दुःख दिने नेपाली कारबाहीको दायरामा ल्याउन यसले पहल गर्न सक्छ ।
एनआरएनए कोरियाका अध्यक्ष दीपक पुन एनआरएनएलाई सामाजिक संस्थाको रूपमा स्थापित गर्नुपर्ने बताउँछन् । आफ्नो कार्यकालमा कोरोना महामारीले गर्दा धेरै काम गर्न कठिनाइ भए पनि सक्दो कोसिस गरेको उनको भनाइ छ । ‘श्रमिकलाई कानुनी परामर्श, वकिल उपलब्ध गराएर मुद्दाहरूमा सहयोग, घुम्ती सेवा उपलब्ध लगायत कार्य हामीले गर्यौँ,’ उनी भन्छन्, ‘हामीले गरेको कामले आउने कार्यसमितिलाई काम गर्न सहज हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली किन पर्छन् पटकपटक विवादमा ?
-
मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका सरोजका परिवारले बुझे शव
-
तिहार मनाउने खर्चको जोहो गर्न राउटे पोखरामा
-
भारतीय सेना प्रमुख द्विवेदीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्दै
-
पार्टीप्रति आक्रोश बढेको रास्वपाको निष्कर्ष : कस्तो हो आन्दोलनको नयाँ स्वरूप ?
-
भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज