पुष्पकमललाई ‘प्रचण्ड’ बनाउन सीता दाहालको योगदान
नेतामा हुनुपर्ने गुणहरू पैसाले किनेर पाइने कुरा होइन । नेतृत्वकला अरूलाई प्रभावमा पार्न सक्ने अदृश्य ऊर्जा हो । जसले जतिसुकै गाली गरे पनि ‘प्रचण्ड’ भन्ने व्यक्ति लोकप्रिय, सबैको विश्वास र आकर्षणका केन्द्रमा छन् । ‘प्रचण्ड’ लाई लगभग कसैले पनि प्रतिरोध गर्न सक्दैन । ‘प्रचण्ड’ ले कसले के चाहन्छन् भन्ने कुरा बुझ्छन् । कसैले जायज प्रस्ताव लिएर गयो भने यो लेनदेनको विषय होइन वा किनबेचको विषय होइन भनेर सजिलै स्विकार्छन् । कमजोरी र विफलताहरूबाट सिक्छन् । यिनीसँग सफलताको चुम्बक नै छ भन्दा फरक पर्दैन ।
तपाईंले ‘प्रचण्ड’ लाई नजिकबाट भेट्नुभएको छ भने उनको व्यक्तित्वले मान्छेहरू आकर्षित भइहाल्छन् र भक्त हुन प्रेरित गर्छन् । यस्तो मूल्यवान् गुण ‘प्रचण्ड’ मा छ । ‘प्रचण्ड’ ले अरूलाई आफ्नो बारेमा राम्रो महसुस गराउन सक्छन् । उनीसँग कुरा गर्दै जाँदा मान्छेले आफूलाई बढी उत्साहजनक र मनपर्दाे भएको महसुस गर्छ । ‘प्रचण्ड’ ले कुनै पनि कुरालाई चिन्ताजनक रूपमा लिँदैनन् । चिन्तन गर्छन्, चिन्ता लिँदैनन् । उनी खुला दिमागले काम गर्छन् । खुला मनको मान्छेहरू दुखित हुँदैनन् । कुनै पनि कुरालाई आग्रह वा पूर्वाग्रहले प्रेरित भएर सोच्दैनन् । ‘प्रचण्ड’ ले काम गर्ने तौरतरिकामा पहिल्यै सेटिङ मिलाएर गर्दैनन् । उनले आफ्ना विचारहरू र जीवनका अनुभवहरूमा ध्यान दिन्छन् ।
उनी सबैसँग सहमत हुँदैनन् तर सबै जनाको कुरा सुन्छन् । आफ्नो विचारलाई अरूलाई नबिझ्ने हिसाबले भन्छन् तर त्यसको सम्भावित परिणाम अरूलाई मन नपर्ने किन नहोस् । आवेगमा आएर, रिसको झोँकमा आएर कुनै निर्णय गर्दैनन् । असहमत हुनका लागि पनि सहमति खोज्छन् । सहमति खोज्ने सहमति गरेर बैठक टुङ्ग्याउँछन् ।
‘प्रचण्ड’ ले आफूलाई धोका दिनेहरूलाई पनि अर्को एजेन्डामा विश्वास लिन प्रयत्न गर्छन् । यसो हुनुको कारण उनीमा आत्मविश्वासको गुण हुनु हो । उनलाई आफूप्रति विश्वास छ कि आफ्ना एजेन्डाहरूलाई सफल पार्न आवश्यक चुनौती सामना गर्न सक्छु । ‘प्रचण्ड’ लाई आफ्नो लक्ष्यहरूमा पुग्न के गर्न आवश्यक छ भन्ने कुरा राम्ररी थाहा छ । त्यसैले हामीहरू ‘प्रचण्ड’ लाई चिन्तित भएको देख्दैनौँ । उनी चिन्तित हुनुको सट्टा दिमागलाई शान्त, उत्साही र आत्मविश्वासलाई दृढ राख्छन् । कहिलेकहीँ ‘प्रचण्ड’ ठुलो र आक्रामक शैलीमा उच्च पिच टोनमा बोल्छन् । त्यसले केही मानिसलाई चित्त बुझ्दैन । ठुलो स्वरमा बोले पनि दृष्टिकोण सफा राख्छन् । उनको नियमित व्यायाम गर्ने समय तालिकाले गर्दा उनी शारीरिक र मानसिक रूपमा तन्दुरुस्त देखिन्छन् ।
‘प्रचण्ड’लाई दिइने कुनै पनि सुझावलाई सकारात्मक रूपमा लिन्छन् र धेरैजसोलाई मान्य हुने निर्णय गर्छन् । उनीसँग मध्यस्थता गर्ने खुबी छ । अरूले के सोच्लान् भनेर पहिलेदेखि नै चिन्ता गरेर बस्दैनन् । अरूले के सोच्लान्, के भन्लान् भनेर चिन्ता गर्न थाल्यो भने आत्मविश्वासमा कमी आउँछ भनेर त्यसलाई मतलब राख्दैनन् तर सबैको विचारलाई भने ख्याल राख्छन् । ‘प्रचण्ड’ ले भनेको कुरा कसैले मान्दैन भने त्यो मेरो समस्या होइन त्यो समस्या नमान्ने मान्छेको हो भन्छन् ।
‘प्रचण्ड’ एक खुला किताब हुन् तर उनलाई धेरै मान्छेले पढ्दैनन् । ‘प्रचण्ड’ को सबैभन्दा चर्चित अभिव्यक्ति भनेको उनको शारीरिक भाषा (बडी ल्याङ्ग्वेज) हो । ‘प्रचण्ड’ को आकर्षण उनको बडी ल्याङ्ग्वेजले पनि प्रस्ट पार्छ । ‘प्रचण्ड’ को बडी ल्याङ्ग्वेजले उनले बोल्नेभन्दा धेरै बोलिराखेको हुन्छ । उनी कसरी हिँड्छन्, कसरी बस्छन्, कसरी अरूहरूलाई रेपोन्स गर्छन् भन्ने कुराले उनको व्यक्तित्व झल्किरहेको हुन्छ । ‘प्रचण्ड’ आत्मविश्वासको साथ हिँड्छन्, मुस्कुराउँछन् । जब उनी अरूसँग बोल्दा प्रसन्न मुद्रामा हुन्छन् तब अरूहरूलाई पनि कुराकानी गर्न अझ सजिलो र मनपर्न योग्य बनाउँछ । ‘प्रचण्ड’ ले अरूले गरेको कुरालाई ध्यान दिइरहेको छ भन्ने महसुस गराउँछन् ।
‘प्रचण्ड’ आफू उपस्थित हुनुपर्ने ठाउँमा उपस्थित हुन्छन् र सुन्छन् । उनी सबैको आदरको पात्र हुनुमा इमानदार बनेर अर्काेले भनेको कुरा सुन्नु नै हो । बोल्ने व्यक्तिहरूलाई उनले पूर्ण ध्यान दिँदै उनीहरूलाई मूल्यवान् महसुस गराउँछन् । सम्मान लिनका लागि सम्मान पनि दिनुपर्छ र उपस्थित हुनुपर्छ भन्ने कुरालाई व्यवहारमा उतारेका छन् । त्यसैले कहिलेकहीँ उनी एक दिनमा आठवटा कार्यक्रममा उपस्थित हुन भ्याउँछन् । उनी एकजनासँग कुरा गर्दागर्दै अर्काेजनासँग फोनमा झुन्डिदैनन् । केवल एक व्यक्तिलाई ध्यान केन्द्रित गर्छन् । त्यसैले कुरा गर्ने मान्छेलाई लाग्छ मेरो कुरालाई पूरा ध्यान दिएर सुनिरहेका र गम्भीरतापूर्वक लिइरहेका छन् । जब मान्छेलाई त्यस्तो लाग्छ तब तिनीहरू ‘प्रचण्ड’ सँग मन्त्रमुग्ध हुन्छन् ।
उनको अर्को क्षमता भनेको कुनै विषयमा छलफल गर्दैछन् भने आफ्नो कुरा मात्र नगरेर अरूहरूलाई प्रश्न सोधेर कुरा गर्न प्रोत्साहित गर्छन् । अरूको कुराको सम्मानपूर्वक प्रतिक्रिया दिन्छन् । उनले अरूहरूसँग कुरा गर्दा नयाँ कुरा सिकिरहेका हुन्छन् । अरूको कुरा सुन्यो भने आफूले नयाँ कुरा सिकिन्छ भन्ने मान्यता राख्छन् र भन्ने व्यक्तिलाई पनि के लाग्छ भने मेरो कुरा ध्यानपूर्वक सुनिरहेको छ । ‘प्रचण्ड’ लाई धेरेले अहङ्कारी मान्छेका रूपमा चित्रण गर्छन् । तर उनका कामहरूलाई विश्लेषण गरेर हेर्याे भने अहङ्कारयुक्त काम गरेको देखिँदैन । अहङ्कारी बन्यो भने शरीरमा खराब कम्पनहरू उत्पन्न हुन्छन्, त्यसलाई कसैले मन पराउँदैनन् भन्ने कुरा ‘प्रचण्ड’ लाई राम्ररी थाहा छ । यो कुरामा ‘प्रचण्ड’ विश्वस्त छन् । त्यसैले उनी म ठुलो मान्छे, म सबैभन्दा उत्कृष्ट मान्छे भनेर घमण्ड देखाउँदैनन् । त्यो कुरा उनले गर्ने निर्णयले देखाइरहेको हुन्छ ।
‘प्रचण्ड’ ले आफूलाई जहिले पनि गम्भीर साथ लिन्छन् । मानिसलाई आफूतिर आकर्षित गराइरहन चाहन्छन् । ‘प्रचण्ड’ ले आफूले गल्ती गरेँ कि भन्ने लागेको विषयलाई गल्ती भयो भनेर स्विकार्छन् । धेरैजसो मानिसहरूले यो कुरालाई ‘प्रचण्ड’ को कमजोरीका रूपमा लिन्छन् तर ‘प्रचण्ड’ आफूलाई त्यस्तो लाग्दैन । आफ्नो गल्तीलाई आफैँले औँल्याउने क्षमता धेरै नेताहरूमा हुँदैन ।
‘प्रचण्ड’ खुलेरै हाँस्छन् । हास्यकला नेतामा हुनुपर्ने एउटा शक्तिशाली पक्षमध्ये एक हो । ‘प्रचण्ड’ ले अरूलाई मजैले हँसाउन सक्छन् । मानिसहरू हाँस्दै गर्दा आफूलाई पीडा हराएको महसुस गर्छन् । ‘प्रचण्ड’ प्रतिको आकर्षण उनी खुलेरै हाँस्नु पनि हो । केही व्यक्ति अर्कालाई चिढ्याउन मन पराउँछन् तर ‘प्रचण्ड’ अरूलाई चिढाउनकै लागि भनेर केही गर्दैनन् । यसलाई गम्भीरताका साथ लिन्छन् ।
‘प्रचण्ड’ सानो समूहमा रहँदा चुट्किलाहरू पनि सुनाउने गर्छन् । आफूले मात्रै सुनाउने होइन, अरूलाई सुनाउन पनि उत्प्रेरित गर्छन् । ‘प्रचण्ड’ ले हरेक दिनलाई सुनौलो दिनका रूपमा लिन्छन् । त्यसैले बेलाबखत भन्छन्, अब केही आश्चर्यजनक हुँदैछ ।
इमानदारी धेरै महँगो उपहार हो । सस्तो मानिसबाट यो आशा गर्न सकिँदैन । ‘प्रचण्ड’ एक इमानदार व्यक्ति हुन् जसले राम्रो कामलाई यो गरेँ भन्छन् र गल्ती गरे जस्तो लाग्यो भने पनि स्विकार्छन् । त्यसका लागि कुनै बहाना वा कारण खोजेर उम्किँदैनन् । त्यसको जिम्मेवारी र आफ्नो कार्यहरूका लागि उत्तरदायित्व लिन्छन् । ‘प्रचण्ड’ लाई आफ्नो बारेमा कसैले जे सोचे पनि फरक पर्दैन किनभने उनी सम्भावनाहरू मात्र खोज्छन् ।
‘प्रचण्ड’ को अर्को अद्भुत क्षमता भनेको आफूलाई अपमानित भएको महसुस हुँदैन । आफूले अपमानित भएको महसुस भयो भने क्रोधित भइन्छ । त्यसले नराम्रो परिणाम दिन्छ भन्ने कुरा राम्ररी जानेका छन् । आवश्यक परेको बेला सजिलै माफी माग्छन् । आत्मविश्वास जहिले पनि सही हुँदैन तर गलत हुन्छ कि भनेर पनि डराउँदैनन् । ‘प्रचण्ड’ को अरूलाई माफ गर्न सक्ने क्षमता छ । यसले के दर्साउँछ भने मान्छेहरूबाट काम गर्दा गल्ती हुन्छ । मबाट पनि गल्ती हुन्छ भन्ने कुराको स्वीकारोक्ति पनि हो यो । ‘प्रचण्ड’ ले काम गर्दा जहिले पनि अरूलाई केन्द्रमा राखेर गर्ने गर्छन् । त्यसैले धेरैले उनलाई साझेदार एवं राम्रो मित्रका रूपमा चाहन्छन् । धेरै मान्छेहरू सफल मान्छेकै वरिपरि हुन मन पराउँछन् किनकि यसले उनीहरूलाई ठुलो अनुभव दिन्छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्नु र यो अद्भुत क्षमता हुनुमा सीता दाहालको महत्त्वपूर्ण भूमिका छ । आफूभन्दा छ महिना कान्छो केटो पुष्पकमलसँग विवाह गरे कि सीता उमेरले पनि अभिभावक भइन् । संयुक्त परिवारमा सासूससुरासहित छ जना नन्दहरू र एक जना देवरसहित तीन छोरी र एक छोराको लालनपालनमा घरकी बुहारीको भूमिका निर्वाह गर्न सीताले कति परिपक्व व्यवहारहरू गरिन् होला सहज अनुमान गर्न सकिन्छ । विसं २०४६ सालदेखि पुष्पकमलको राजनीतिक करिअरलाई पनि साथ पूर्णरूपमा साथ दिइन् । झन्डै दस वर्षभन्दा बढीको प्रवास र वनवासका क्रममा धेरै पटक मृत्युको मुखमा झन्डै पुगेको बेलामा समेत सीता सँगसँगै थिइन् । सीता दाहालले कहिले प्रचण्डलाई आफ्नो सल ओढाएर भारतीय प्रहरीलाई छक्याइन् भने कहिले जहाँ पायो, त्यहीँ जाने कुरामा सावधान गराएर जनयुद्धका सुप्रिम कमान्डरको ढाल बनिन् । प्रचण्डले ‘मैले एउटा सामान बिर्सिएछु भन्दा सीताले ‘यो बिर्सने बानी कहिल्यै नजाने भयो, यो बानीले दुःख पाउनुहुन्छ’ भनेको कुरा प्रचण्डलाई हिजो जस्तो लाग्छ । देशको राजनीतिमा उथलपुथल ल्याउने युद्धको नेतृत्व गरिरहेका सुप्रिमोलाई यसरी सचेत गराउने ती महिला थिइन् सीता दाहाल । प्रचण्डको दैनिकीमा होस् वा पार्टीभित्र सङ्कट चुलिएका बेला उनी पार्टीका शीर्ष नेताहरूलाई पार्टी विभाजन नगर्न चेतावनी दिन होस्, सीताले जहिल्यै पनि सकारात्मक भूमिका खेलिन् । त्यसैले पुष्पकमललाई प्रचण्ड बनाउन सीता दाहालको योगदानको जति चर्चा गरे पनि अपुरो नै हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो