बारामा औसतभन्दा कम वर्षा, खडेरीले हाहाकार
बारा । मनसुन हुने मुख्य मौसममा औसतभन्दा पनि कम वर्षा भएपछि यतिबेला बारा जिल्लाको दक्षिणी भेगमा पानीको हाहाकार मच्चिएको छ । मुख्य अन्नबाली धान रोप्ने समयमा वर्षा नभएको र भएका बोरिङ र पम्पहरू पनि सुकेपछि जिल्लाको उत्तरी भेगको तुलनामा दक्षिणतर्फ खडेरी परेको छ ।
यस वर्ष साउन ६ गतेसम्म बारा जिल्लामा अधिकतम वर्षा असार २८ गते अर्थात् जुलाई १३ तारिख ११९ दशमलव १ मिलिलिटर मात्रै भएको छ । यसअघि असार १६ गते ४८ मिलिलिटर र असार २० गते ४९ दशमलव ८ मिलिलिटर मात्रै वर्षा भएको थियो । गत वर्षको तुलनामा यो एक चौथाइ मात्रै वर्षा भएको सिमरा विमानस्थल, जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय सिमराले जनाएको छ ।
असार २८ पछि साउनको ७ गतेसम्म पूरै खडेरीको अवस्था सिर्जना भएको छ, जसको प्रत्यक्ष असर किसानको खेतबारीमा देखिएको छ । ‘कृषि उत्पादनमा सहयोग पुग्ने खालको वर्षा यस पटक भएको छैन, आजसम्मको तथ्याङ्क हेर्दा यस पटक बारामा चर्को खडेरी परेको देखिन्छ,’ सिमरा विमानस्थल, जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अधिकृत लक्ष्मणप्रसाद कँडेलले भने, ‘पोहोर सालको तुलनामा एक चौथाइ वा २५ प्रतिशत पनि पानी परेको छैन । हालसम्मकै अधिकतम वर्षा भनेको असार २८ गते ११९ मिलिलिटर मात्रै हो ।
गत वर्ष जुन, जुलाई, अगस्ट ३ महिनामा १ हजार १३५ मिलिलिटर वर्षा भएको तथ्याङ्कले देखाउँछ तर यस वर्ष मनसुन सिजन सुरु भएदेखि हालसम्म २ सयदेखि २५० मिलिलिटर मात्रै वर्षा भएको रेकर्डमा देखिएको छ । वर्षभर १२ महिनामध्ये जुन, जुलाई, अगस्ट, सेप्टेम्बर ४ महिनालाई मनसुन सिजन मानिन्छ ।
पछिल्लो समय न्यूनतम तापक्रम बढेको छ भने यस वर्ष गर्मी पनि हालसम्मकै अधिक भएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय सिमराले जनाएको छ । तराईमा यस वर्ष हालसम्मकै अधिकतम तापक्रम ४४ डिग्रीसम्म पुगेको थियो । ‘गर्मी पनि हालसम्मकै धेरै यसै वर्ष रेकर्ड भयो, त्यसको साथसाथै मनसुन सबैभन्दा कम रेकर्ड यसै वर्ष होला जस्तो छ,’ मौसम शाखाका कर्मचारी कँडेलले भने ।
जुन १२ मा नेपालमा मनसुन भित्रिए पनि जुलाई २३ सम्म बारामा खासै वर्षा भएको छैन । मौसमविद्हरूले गत वर्षको तुलनामा यस वर्ष पानी कम पर्ने भए पनि मनसुन अवधिभर ४ महिनामा औसतमा १ हजार २ सयदेखि १ हजार ५ सय मिलिलिटरसम्म पानी पर्ने आकलन गरेका थिए ।
तर यस पटक हालसम्मको तथ्याङ्क हेर्दा मौसमविद्हरूले आकलन गरेको औसतभन्दा पनि कम वर्षा भएको कँडेलले जनाएका छन् ।
हाल सिमरा आसपासको क्षेत्रको तापक्रम ३५–३६ डिग्री हाराहारीमा भए पनि उकुसमुकुस हुने, सास फेर्न गाह्रो हुनेलगायतका समस्या देखा परेको छ । सहरी क्षेत्रमा बढ्दो जनसङ्ख्या वृद्धि, वनजङ्गल अतिक्रमण तथा विनाश, जथाभाबी चुरे र खोलानाला उत्खनन, वातावरणमैत्री विकास निर्माणका काम नहुँदाको प्रत्यक्ष असरले यस वर्ष तराईमा ३ देखि ४ डिग्रीले तापक्रम बढेको छ भने पानीको हाहाकार देखा परेको बताउँछन् वातावरणविद् विनोद सिंह ।
गत वर्ष ४ महिनामा १ हजार १३५ मिलिलिटर वर्षा भएकोमा यस पटक ह्वात्तै घटेर एक चौथाइ पानी नपर्नुले पनि जिल्लामा पानीको हाहाकार परेको देखिएको प्रस्ट हुन्छ ।
बारामा करिब ६० प्रतिशत मात्रै रोपाइँ
साउनको पहिलो साता बितिसक्दासम्म बारामा ६० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । जिल्लाको १६ वटा पालिकामध्ये उत्तरी भेगका जङ्गलसँग जोडिएका कोहल्वी, करैयामाइँ, निजगढ र जितपुरसिमरा उपमहानगरभित्र रोपाइँ सकिएको छ भने दक्षिणतर्फ पानीको हाहाकार नै देखिएको छ । ‘जिल्लाको दक्षिणी भेगमा धेरै समस्या देखिएको छ, बोरिङमा पानी आएको छैन, पानीको अभावमा रोपाइँ भएको खेत पनि सुकिरहेको छ,’ कृषि ज्ञान केन्द्र, कलैयाका प्रमुख जितेन्द्र यादवले भने, ‘सिँचाइको सुविधा भए पनि गण्डक नहरमा पानी आएको छैन, बोरिङमा पम्पले पानी तान्न छोडेको छ, यस पटक धान खेती सङ्कटमा छ ।’
बारामा ४६ हजार हेक्टरमा वर्षे धान उत्पादन हुने गर्दछ । गत वर्ष सरदरमा प्रतिहेक्टर ४ मेट्रिकटन उत्पादन भएको थियो । तर यस पटक लगातारको खडेरीले उत्पादन घट्न देखिन्छ ।
यस वर्ष साउन पहिलो सातासम्म बारामा ६० प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही समयमा ८० देखि ९० प्रतिशतसम्म रोपाइँ सकिएको थियो । ‘यस पटक मधेश प्रदेशमा यति कम पानी पर्ला भनेर हामीले सोचेका पनि थिएनौँ, रोपाइँ हुने खालको मुसलधारे पानी नै परेको छैन,’ कृषि ज्ञान केन्द्रका प्रमुख यादवले भने, ‘थोरै पानी परेका ठाउँमा बोरिङ चलाएर किसानले रोपाइँ गरे पनि सुकिरहेको अवस्था छ, यही अवस्था रह्यो भने हामीले सुक्खाको स्थिति सामना गर्नुपर्ने र खाद्य सुरक्षाको चुनौतीसमेत भोग्नुपर्ने देखिन्छ ।’
समयमै वर्षा नहुँदा किसानले यस पटक समयमै बीउ राख्न पाएनन् भने ढिलो गरी राखेको बीउ पनि वर्षा नहुँदा रोपाइँ हुन सकेको छैन । ‘साउन १५ सम्म पानी पर्याे भने केही आशा गर्न सकिन्छ तर यही अवस्था रह्यो भने यस पटक धानको उत्पादन घट्छ,’ कृषि ज्ञान केन्द्र प्रमुख यादवले भने बारामा सिँचाइ मुख्य स्रोत गण्डक नहरको पानी नै हो । भारतले नहरमा सम्झौताअनुसारका पानी नदिने र भएका साना सिँचाइका ट्युबेलहरू सुकेपछि किसानले समयमै रोपाइँ गर्न सकेका छैनन् ।
५० वर्षअघिको नेपाल भारत ‘गण्डक नहर’ सम्झौताअनुसार असार १५ देखि असोज १५ सम्म भारतले नहर प्रणालीबाट ८५० क्युसेक पानी नेपाललाई दिनुपर्छ । यस पटक हालसम्म ६ सय क्युसेक पानी नहरमा छोडिएको नारायणी सिँचाइ व्यवस्था कार्यालय पर्साले जनाएको छ । नेपालमा आफ्नो उत्पादनले धान्ने अवस्था नभएपछि बर्सेनि करोडौँ मूल्यको धान छिमेकी मुलुक भारतबाट भित्रने गर्दछ । तर यस पटक भारतले धान, चामल आयातमा प्रतिबन्ध हटाएन भने नेपालमा खाद्य सङ्कट आउन सक्ने आकलनसमेत गर्न थालिएको छ ।
खाद्य सङ्कट हुन्छ : वन तथा वातावरणविज्ञ सिंह
डिभिजन वन कार्यालय बाराका प्रमुख तथा वातावरणविज्ञ विनोद सिंहले तराईको भूभाग मरुभूमीरण भइसकेको तर्क गरे । अगामी दिनमा यहाँ खाद्य सङ्कट हुने र खडेरी पर्ने र यसको मुख्य कारण जलवायु परिवर्तन भएको बताएका छन् ।
‘वैज्ञानिकहरूले तराईका धेरै जिल्लाहरू मरुभूमीकरणतर्फ गइसकेको बताइसकेका छन् । अब खाद्यान्य सङ्कट पैदा हुन्छ, खाद्य सुरक्षासम्बन्धी राष्ट्रिय नीतिमै असर गर्न सक्छ,’ वातावरणविज्ञ सिंहले भने, ‘यसबाट बच्ने मुख्य उपाय भनेको जैविक विविधता, वन जङ्गललगायत प्राकृतिक स्रोत साधनको संरक्षण हो । यसलाई संरक्षण नगरेसम्म खाद्य उत्पादनमा असर गर्छ ।’
जलवायु परिवर्तनको मुख्य कारण भनेको वन विनाश, कृषि क्षेत्रमा प्रयोग भएका रसायनहरू, चुरे उत्खनन्, ठुला ठुला, भट्टीहरू सञ्चालन लगायतका कारणहरू रहेको सिंहले बताएका छन् ।
‘जलवायु परिवर्तनका कारणले पानीका स्रोतहरू ० दशमलव ८ प्रतिशतको दरले घटेको छ भने पानी पर्ने दिनहरू ० दशमलव ३ प्रतिशतले घटिरहेको छ,’ वातावरणविज्ञ सिंहले भने । यस वर्ष मनसुनमा विगतको तुलनामा जति दिन पानी पर्नुपर्ने हो । त्यसको दिनहरू प्रत्येक वर्ष घट्दै गएको सिंहले जनाएका छन् । पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका उद्योगहरूले जमिनमुनि फ्याँकेको कडा रासायनिक केमिकलका कारण पनि यस आसपासका क्षेत्रमा ‘एसिड वर्षा’ समेत हुन सक्ने खतरा देखिएको छ । ‘प्रकृतिको नियम धेरै कडा छ, हामीले जे सोच्छौँ प्रकृतिले ठ्याकै त्यसको विपरीत गर्दछ,’ डिभिजन वन अधिकृत सिंहले भने, ‘अहिले वैज्ञानिकहरूले भनेअनुसार वायुमण्डलमा बादल बनाउने तत्त्व कस्मिक रेजहरू ९ प्रतिशतले घटिरहेको छ । जसका कारण वर्षा कम भएको छ, यसको मुख्य कारण वन जङ्गलको विनाश नै हो ।’
वन जङ्गलले जमिनमुनिका पानीका स्रोतहरूलाई जोगाइराख्ने काम गर्दछ । पछिल्लो समय जनसङ्ख्या बढ्दै जाँदा पानीको खपत बढेको छ । जल वायु परिवर्तनका कारण तापक्रम बढेको र तापक्रम बढेका कारण जमिनमुनिको पानी वाष्पीकरणका माध्यमबाट सुक्दै गएको सिंहले जनाएका छन् ।
साथै वायुमण्डलमा भएको हरितगृहको कम्पोजिसनमा हेरफेर भएको छ । वायुमण्डलमा नाइट्रोजन ७८ प्रतिशत, अक्सिजन २१ प्रतिशत छ र १ प्रतिशत हरितगृह ग्यास रहेको छ । १ प्रतिशत हरितगृह ग्यासमा कार्बनडाइअक्साइड, मिथेन, नाइट्रोजन, सल्फरकअक्साइडलगायत विभिन्न किसिमका ग्यासहरू छन् । यही ग्यासहरूले वायुमण्डलमा तापक्रम बढाउन मुख्य भूमिका खेल्ने गर्दछन् ।
वायुमण्डलमा यी ग्यासहरू जम्मा हुने काम एकदमै बढेको छ । प्रत्येक १० लाख युनिकणमध्ये एउटा कण कार्बनको हुन्छ । यसलाई पार्ट पर मिलियन भनिन्छ । वायुमण्डलमा कार्बनको पार्टसँगै हरित गृह ग्यासका पार्टहरू बढ्दै गएको कारण विश्वव्यापी रूपमा जलवायु परिवर्तन भएको सिंहले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
एमाले जग्गा विवाद : न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पेसी
-
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय
-
यसरी गर्न सकिन्छ कर्णालीमा सडक दुर्घटना न्यूनीकरण
-
अडानीमाथि लागेको आरोपबारे ह्वाइट हाउसले के भन्यो ?
-
झापाबाट एघार करोडको चिया निर्यात