सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

१९औँ एसियाली खेलकुद : खेलाडी सङ्ख्यामा कीर्तिमानदेखि तीव्र गतिको बुलेट ट्रेनसम्म

सोमबार, ०८ साउन २०८०, ०६ : ३७
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को आगामी संस्करण चीनको हाङ्झोउमा आयोजना हुँदै छ । कला र संस्कृतिको अनुपम उदाहरण बोकेको हाङ्झोउमा एसियाली खेलकुदको १९औँ संस्करण आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म सञ्चालन हुँदै छ ।

यसअघि १९औँ एसियाली खेलकुद सन् २०२२ को सेप्टेम्बर १० देखि २५ तारिखसम्म चीनमै आयोजना हुने कार्यक्रम थियो । तर विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उक्त मितिमा प्रतियोगिता आयोजना हुन सकेन । त्यसपछि ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो ।

एसियाली खेलकुदको ७२ वर्ष लामो इतिहासमा यस पटक प्रतियोगितामा सहभागी हुने खेलाडीको सङ्ख्याले नयाँ कीर्तिमान बनाउने भएको छ । एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको थियो ।

game_copy29

यस पटक प्रतियोगितामा कीर्तिमानी रूपमा १२ हजार पाँच सय जना खेलाडीले सहभागिता जनाउने भएका छन् । ओसीएका अनुसार, प्रतियोगितामा सहभागी हुन १२ हजार पाँच सय खेलाडीको नाम दर्ता भइसकेको छ ।

प्रतियोगितामा ४५ राष्ट्रका खेलाडीले भाग लिने छन् । ओसीएमा हाल ४५ वटा राष्ट्र सदस्यका रूपमा रहेका छन् । यसअघि एसियाली खेलकुदको १८औँ संस्करणमा सर्वाधिक ११ हजार तीन सय खेलाडीले सहभागिता जनाएका थिए । १८औँ एसियाली खेलकुद प्रतियोगिता सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा भएको थियो ।

रमाइलो पक्ष त के हो भने विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता ओलम्पिकभन्दा पनि बढी खेलाडीले यस पटक एसियाली खेलकुदमा सहभागिता जनाउँदै छन् । सन् २०२० मा जापानको टोकियोमा आयोजित पछिल्लो गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा २०६ राष्ट्रका ११ हजार ४२० जना खेलाडीले भाग लिएका थिए ।

आगामी एसियाली खेलकुदमा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत, हङ्कङ र आयोजक चीनले ६०० को हाराहारीमा खेलाडी सहभागी गराउने भएका छन् । १९औँ एसियाली खेलकुदमा खेलाडी दर्ता गराउने समय पनि सकिएको छ ।  

‘हाङ्झोउ एसियाली खेलकुदमा खेलाडी दर्ता गर्ने समय सकिएको छ । खेलाडी दर्ताको अन्तिम अवस्थालाई हेर्दा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले सहभागिता जनाउने पक्का भएको छ,’ आयोजक समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीको सङ्ख्याले कीर्तिमान पनि बनाएको छ ।’

ओलम्पिक काउन्सिल अफ एसियाको यसै महिना थाइल्यान्डमा सम्पन्न ४२औँ महासभाले आगामी वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुदका लागि छनोट भएका रुस र बेलारुसका पाँच सय जना खेलाडीलाई पनि हाङ्झोउ एसियाडमा सहभागी गराउने निर्णय लिएको छ ।

ओसीएको उक्त निर्णयका आधारमा रुस र बेलारुसले पनि आफ्ना खेलाडी सहभागी गराए भने हाङ्झोउ एसियाडमा खेलाडीको सङ्ख्य अझ बढ्ने छ । तर रुस र बेलारुसका खेलाडीलाई हाङ्झोउ एसियाडमा अतिथि खेलाडीका रूपमा सहभागी गराइने छ ।

c1_2305950

१९औँ एसियाडमा ४० वटा खेलको ४८३ स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताका लागि हेइजाङ प्राप्तका पाँचवटा सहआयोजक सहरमा ५४ वटा खेलस्थल तयार पारिएको छ । एसियाडका खेलहरू हाङ्झोउ, निङ्बो, वेनझोउ, हुझोउ, साओझिङ र जिनहुआ गरी ६ वटा सहरमा आयोजना हुनेछन् ।   

यसैगरी हाङ्झोउ एसियाडमा एथलेटिक्स खेलका लागि सबैभन्दा बढी राष्ट्रका खेलाडीले नाम दर्ता गराएका छन् । बक्सिङ, अक्वाटिक्स, सुटिङ, भारोत्तोलन र ई—स्पोर्टसलगायत ११ वटा खेलमा ३० वटाभन्दा बढी राष्ट्रले आफ्ना खेलाडी सहभागी गराएका छन् । सबैभन्दा बढी खेलाडी फुटबल खेलमा रहेका छन् ।

सन् १९५१ मा आयोजना भएको पहिलो एसियाली खेलकुदमा ११ राष्ट्रका कुल चार सय ८९ खेलाडीले मात्र प्रतिस्पर्धा गरेका थिए । सन् १९५४ मा फिलिपिन्सको मनिलामा आयोजना भएको दोस्रो संस्करणमा १८ राष्ट्रका ९७० खेलाडी सहभागी थिए ।

यसैगरी सन् २००६ मा आयोजना भएको कतारको दोहा संस्करणदेखि मात्र एसियाली खेलकुदमा ४५ राष्ट्रले भाग लिन थालेका हुन् । एसियाली खेलकुदको इतिहासमा खेलाडीको सङ्ख्या १० हजार नाघेको भने सन् २०१८ मा इन्डोनेसिायमा भएको १८औँ संस्करणदेखि हो ।

यसका अतिरिक्त आगामी एसियाली खेलकुदलाई ध्यानमा राखी आयोजक राष्ट्र चीनले अत्याधुनिक बुलेट ट्रेन पनि सञ्चालनमा ल्याउने भएको छ । १९औँ एसियाडको लोगोसहित सञ्चालनमा ल्याइने तीव्र गतिको उक्त बुलेट ट्रनले प्रतियोगितामा सहभागीहरूलाई ६ वटा ‘भेन्यु’ सँग जोड्ने छ ।

A Fuxing bullet train

प्रतियोगिता अवधिभर उक्त बुलेट ट्रेन एसियाली खेलकुदको मुख्या आयोजक सहर हाङ्झोउदेखि अन्य पाँचवटा सहआयोजक सहरसम्म निरन्तर कुदिरहने छ । पाँच सय ७८ यात्रु क्षमताका बुलेट ट्रेनहरू तीन सय ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्ने समाचारमा जनाइएको छ ।   

बुलेट ट्रेनलाई इन्द्रधनुषी रङमा सजाइएको छ । त्यसमा बैजनी रङको अत्यधिक प्रयोग गरिएको छ । १९औँ एसियाडको लोगो पनि त्यही रङमा सजिएको छ । ट्रेनमा यात्रुका लागि अत्याधुनिक सञ्चारदेखि लिएर हरेक प्रकारका सुविधिहरू उपलब्ध गराइने बताइएको छ ।

यसैगरी एसियाली खेलकुदको १९औँ संस्करणको विजेता खेलाडीहरूलाई प्रदान गरिने पदक पनि तयार पारिसकिएको छ । प्रतियोगिता सुरु हुन एक सय दिन बाँकी रहेको अवसरमा विशेष कार्यक्रम आयोजना गरी स्वर्ण, रजत र कांस्य पदक सार्वजनिक गरिएको थियो ।

हाङ्झोउ एसियाडका विजेता खेलाडीलाई प्रदान गरिने पदकको नाम ‘सान सुई’ राखिएको छ । ‘सान सुई’ को अर्थ ‘तलाउ र हिमाल’ हो । पाँच हजार वर्ष पुरानो चिनिया सभ्यतासँग तालमेल मिलाएर पदक डिजाइन गरिएको समाचारमा जनाइएको छ । उक्त पदकको डिजाइनमा हाङ्झोउको भौगोलिक अवस्थासमेत झल्कन्छ । त्यसैले नै पदकको नाम ‘सान सुई’ अर्थात् ‘तलाउ र हिमाल’ राखिएको हो ।

पदक सार्वजनिक गर्न पनि प्रतियोगिताको स्थानीय आयोजकले सांस्कृतिक र पुरातात्त्विक महत्त्वको स्थान लिआङझोउलाई चयन गरेको थियो । उक्त प्राचीन स्थानलाई संयुक्त राष्ट्र सङ्घ (यूएनओ) को शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सम्पदा सूचीमा दर्ता गरेको थियो ।

चीनमा तेस्रो पटक एसियाली खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो । सन् १९९० मा पहिलो पटक चीनको बेइजिङमा एसियाली खेलकुद आयोजना भएको थियो । त्यसपछि सन् २०१० मा चीनको ग्वानझोउले दोस्रो पटक एसियाली खेलकुद आयोजना गरेको थियो ।

एसियाली खेलकुद र नेपाल

नेपालले पहिलो संस्करणदेखि नै एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भएको थियो ।  पहिलो संस्करणमा नेपालले अफिसियलसहित नौ जनालाई सहभागी गराएको थियो । पहिलो संस्करणमा नेपालले एथलेटिक्स खेलमा मात्र खेलाडी सहभागी गराएको थियो ।

त्यसयता नेपालले एसियाली खेलकुदको हरेक संस्करणमा सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा सहभागिता जनाएको ३५ वर्षपछि आएर मात्र नेपालले एसियाली खेलकुदमा पदक जित्न सकेको थियो ।

नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजित १०औँ संस्करणमा पहिलो पटक पदक जितेको थियो । एसियाली खेलकुदको त्यो संस्करणमा नेपालले बक्सिङ र तेक्वान्दोमा गरी कुल आठवटा कांस्य पदक हात पारेको थियो ।

Medal Shan Shui

त्यतिबेला तेक्वान्दोमा विधान लामा, राजकुमार राई, राजकुमार बुचे र रामबहादुर घर्ती क्षेत्रीले कांस्य पदक जितेका थिए । बक्सिङतर्फ भने दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ र सुशील पोखरेलले कांस्य पदक जितेका थिए ।

एसियाली खेलकुदमा सहभागिताको ७२ वर्ष लामो इतिहासमा नेपाल पदक तालिकामा भने रजतभन्दा माथि उक्लन सकेको छैन । नेपालले एसियाली खेलकुदमा हालसम्म दुईवटा रजत पदक जितेको छ । एसियाली खेलकुदको इतिहासमा नेपालको सबैभन्दा ठुलो उपलब्धि तिनै दुई पदक हुन् ।

सन् १९९८ मा थाइल्यान्डको बैङ्ककमा सम्पन्न १३औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पहिलो पटक नेपालका लागि रजत पदक जितेकी थिइन् । त्यसपछि सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेमबाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा नेपालको प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी थिए ।

समग्रमा नेपालले हालसम्म एसियाली खेलकुदमा दुई रजत र २३ कांस्य गरी २५ वटा पदक मात्र जित्न सकेको छ । नेपालले तेक्वान्दोमा एक रजत र १४ कांस्य, प्याराग्लाइडिङमा एक रजत, बक्सिङमा ६ कांस्य र कराँतेमा तीन कांस्य पदक जितेको हो ।

चीनको हाङ्झोउमा आयोजना हुने १९औँ एसियाली खेलकुदमा भने नेपालले २९ वटा खेलमा भाग लिने भएको छ । सुरुवाती चरणमा नेपालले आगामी एसियाडमा २३ वटा खेलमा मात्र सहभागिता जनाउने निर्णय लिएको थियो ।

त्यतिबेला नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ गरी २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको थियो ।

त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले रग्बी, स्क्वास, टेनिस, ई—स्पोर्टस र डान्स स्पोर्टस गरी पाँचवटा खेल थप्ने निर्णय गरेको थियो । बोर्ड बैठकले २८ खेलका लागि सरकारसँग २९ करोड रूपैयाँ बजेट माग्ने निर्णय गरेको थियो ।

तर बोर्ड बैठक बसेको एक साता पनि नबित्दै राखेपले नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसनको आग्रहमा अर्को एक खेल थप्ने तयारी अगाडि बढाएको थियो । सोही अनुरूप अब नेपालले आगामी एसियाडमा २९ वटा खेलमा भाग लिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप