शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

अभागी युवा पुगे है बगरमा

आइतबार, ०७ साउन २०८०, ११ : ०२
आइतबार, ०७ साउन २०८०

वर्षभरिको अन्न थियो भकारीमा
बुबाले सपना जस्तै गरी बुनेका 
डोकाहरू थिए पिँढीमा
आमाले सजाएको तुलसीको मठ
बहिनीले सारेका सयपत्री फूलहरू
थिए आँगनीमा
हाम्रो सपना, आशा, भविष्य 
सबै सबै थिए त्यो घरमा
लीला प्रकृतिको मेरो घरमा
क्षणभरमै फेरियो उमङ्ग बगरमा
बाढीले हो, यसै वर्ष 
त्यो वैरी बाढीले 
मलाई निराशा छोड्यो 
आशा लिएर गयो
वर्तमान छोड्यो भविष्य लिएर गयो
त्यो वैरी बाढीले ।

बगैँचा जस्तै सजाएका,
फूल जस्तै जोगाएका
बुनेका सपना अनि
भण्डार गरी आँटीमा थुनेका
रहेनन् यहाँ केही
मलाई भोक छोड्यो
अन्नको भकारी लिएर गयो
मलाई ऋण छोड्यो 
थैली आफूले लिएर गयो
हो यसै वर्ष
त्यो वैरी बाढीले, त्यो वैरी बाढीले ।
मेरो सानो घर सायद,
प्रकृतिलाई पनि राम्रो लागेन होला
लग्यो टाढा टाढा, कता कता
बनायो होला बालुवाको महल
त्यो वैरी बाढीले ।

मलाई एक्लै छोड्यो 
परिवार लिएर गयो
मलाई क्रियाकर्म छोड्यो 
बाबुआमा लिएर गयो
त्यो वैरी बाढीले,
मलाई तिहार र तिज छोड्यो
बहिनि लिएर गयो
रहर,उमंग,उत्साह,पर्व 
सबै लिएर गयो
फर्केर कहिल्यै नआउनेगरी
मलाई याद र छटपटी छोड्यो
जोश र जाँगर लिएर गयो
त्यो वैरी बाढीले
त्यो वैरी बाढीले । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदीप सुवेदी
सुदीप सुवेदी
लेखकबाट थप