‘लम्पी स्किन’बाट काभ्रेमा छ सय ८१ पशु मरे

काभ्रे । लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेका छन् । यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो । केन्द्रका अनुसार उक्त रोगबाट जिल्लाको १३ स्थानीय तहमा हालसम्ममा छ सय ८१ पशुको मृत्यु भएको छ । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । केन्द्रका अनुसार जिल्लामा ३० हजार सात सय ४३ वटा पशु सङ्क्रमित बनेकामध्ये ३० हजार चार सय ६४ गाई, दुई सय ७९ भैँसी रहेका छन् ।
केन्द्रका निमित्त प्रमुख डा नितेश कार्कीले प्रभावित पशुचौपायाको सङ्ख्या पनि उत्तिकै रहेको बताए । उनका अनुसार ३३ हजार गाई र तीन सय ९९ भैँसी प्रभावित हुँदा हालसम्म ३२ हजार आठ सय पशुमा रोगविरुद्ध खोप लगाइएको छ । खोप लगाइएका पशुमा रोग देखिएको छैन । जिल्लामा तीन लाख गाईभैँसी रहेका छन् ।
जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा धेरै सङ्क्रमणदर रहेको छ । बनेपाको छवटा वडामा एक सय १८ पशु मरिसकेको तथ्याङ्कले देखाएको छ । बनेपामा भने गाईको मात्रै मृत्यु भएको नगरको पशु सेवा शाखाले जनाएको छ । बनेपामा छ हजार १५ वटा पशु सङ्क्रमण भएकामध्ये पाँच हजार गाईमा खोप लगाएको छ । यहाँ प्रभावित पशु सङ्ख्या छ हजार दुई सय छन् । वडा नं १ देखि ५ सम्म र १० नं वडामा सङ्क्रमण फैलिएको जनाइएको छ ।
केन्द्रका अनुसार पाँचखाल नगरमा एक सय पशु मरिसकेका छन् । धुलिखेल नगरमा ७२, पनौती नगरमा २५, मण्डनदेउपुर नगरमा ६४, नमोबुद्ध नगरमा ४१ तथा तेमाल गाउँपालिकामा ३५, खानीखोलामा ७९, बेथानचोकमा २५, रोशीमा ३१, भुम्लुमा २०, चौँरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९ पशु मरेका छन् । चौँरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेवापत रु १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ ।
जिल्लामा महामारीको रूप लिएको उक्त रोग नियन्त्रण बाहिर गएको बताइन्छ । उक्त रोगका कारण अहिले पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषक बताउँछन् । सरोकारवाला निकायले किसानलाई पशुहरूलाई सुरक्षित राख्न समयमै खोप लगाउन तथा घरायसी उपचारमा ध्यान दिन अनुरोध गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा पशुहरूको ओसार–पसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहत, जनचेतना तथा बीमाको रकम भुक्तानीका लागि तीन तहकै सरकारको समन्वय र सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले १३ वटै स्थानीय तहका पशु स्वास्थ्य शाखा तथा सम्पूर्ण कृषकलाई सचेत रहन अनुरोध गर्दै हरेक पालिकाबाट नियमित रिपोर्टिङ गर्न र थप पशु मर्न नदिन खोप लगाउन भनेको बताए ।
उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।
यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो । काभे्रपलाञ्चोकमा भने सोही सालको साउनमा पनौतीको एक भैँसीमा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँस सम्मेलनको तयारी पूरा
-
किन २४ घण्टे स्पष्टीकरणमा परे कुलमान ?
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)