काठमाडौँको फोहोर तीन दिनभित्र उठाइसक्ने
काठमाडौँ । यही साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो ।
काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए । उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र पूरा भइसक्नेछ ।
उनले सुरक्षाकर्मीको सहयोगमा शुक्रबार एक सय ५२ गाडी र आज एक सय ६४ गाडी फोहोर व्यवस्थापन गरिएको बताए । उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबारसम्म व्यवस्थापन गरिने र मङ्गलबारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उनको भनाइ छ ।
एक वर्षअघि काठमाडौँ महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयले यही साउन १ देखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए । नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्न भन्दै अवरोध गरेका थिए ।
महानगरपालिकासँग भएको बाँकी सहमति बिस्तारै कार्यान्वयन गर्ने सर्तमा तत्कालका लागि अवरोध हटाउने सहमति भएको हो । अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई क्यापिङ (फोहोरलाई माटोले पुर्ने) गरी औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीबेँसी नगरपालिका वडा नं १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।
सामान्यतया काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको तीन सय गाडी फोहोर दैनिकरूपमा व्यवस्थापन हुँदै आएको छ । विगत १५ वर्षसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको गत भदौ ७ गतेदेखि बञ्चरेडाँडामा अन्तिम व्यवस्थापन हुँदै आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न पत्राचार
-
दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालले हारे चुनाव
-
ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याएका हौँ : प्रधानमन्त्री ओली
-
वीर अस्पतालमा डाक्टरहरूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
-
खानेपानी मन्त्रालयमा आगलागीबाट जलेका सामानहरू निकालिँदै (तस्बिरहरू)
-
वर्षायाममा यातायात अवरुद्ध हुन नदिने गरी बीपी राजमार्गको काम सुरु गर्न मन्त्री दाहालको निर्देशन