अञ्जु पन्त : आवाजकी अमृततरङ्गिणी अर्थात् आवाजकी नदी
मनकुमारी योञ्जन पन्तले माइतीघर फर्कने फुर्सदै पाइनन् । माइतीघर र उनीबीच दुःखको पहाड तेर्सियो, स्वर्गै लाग्ने माइतीघर कतै पर छेलियो ।
तेह्रथुमको छातेढुंगाकी मनकुमारीको बिहे काठमाडौं फर्पिङका जय पन्तसँग हुन पुगेको थियो । नेपाल बैंकमा जागिरे रहेका जय सरुवा भएर तेह्रथुमको संक्रान्ति बजार पुगेका थिए, साथमा आफ्नी आमालाई लिएर । पहाडमा हुर्केकी, पहाडजस्तै स्वच्छ मन भएकी मनकुमारीलाई जयका आमाछोराले हाटबजारमा भेटेका थिए, पहिलो भेटमै उनीहरु मनकुमारीको मन, हाउभाउ र व्यवहारसँग हार्न पुगे । अन्ततः जयकी आमाले मनकुमारीलाई बुहारी बनाउन सफल भइन् ।
बिहेको केही वर्षपछि जय परिवारसहित काठमाडौं आए । आमाको इच्छा र स्वीकृतिमा बिहे गरे पनि अन्तर्जातीय विवाहलाई जयको समाज र परिवारले पूर्ण रूपमा स्विकारेन । यसमाथि काठमाडौं आएको केही वर्षमै जयको देहान्त भयो । उनीहरूले तेह्रथुममै ६ सन्तानलाई जन्म दिएका थिए । अनेक कष्टले छोराछोरी हुर्काउँदा–हुर्काउँदै मनकुमारीको मनबाट माइतीघर मलिन हुँदै गएको थियो ।
मनकुमारीको अनुहारमा उज्यालो छर्दै उनकी कान्छी छोरी नेपाली संगीत आकाशमा ताराको रूपमा उदाउन थालिन्, उनको आवाजको मूच्र्छनाले मुलुकको ठूलो पंक्ति सम्मोहित हुँदै गयो । उनी आवाजकी अमृततरङ्गिणी बन्दै गइन् अर्थात् आवाजकी नदी, आवाजकी जून । उनी अर्थात् अञ्जु पन्त, जसले आजसम्म विभिन्न भाषामा आठ हजारको हाराहारीमा गीत गाइसकेकी छन् ।
आफू गायिकाका रूपमा चिनिँदै गर्दा अञ्जुलाई आफू जन्मेको मावली गाउँ चिन्ने उत्कण्ठा हुन्थ्यो । उनलाई अझै पनि लाग्छ, तीन वर्षको उमेरमा मावली गाउँ छाडेको दृश्य आफ्नो स्मृतिमा कतै लुकेको छ । ‘तेह्रथुमबाट काठमाडौँ आउँदा, बाटोमा एउटा पुल तर्दा बुवाले मलाई काँधमा बोकेको धमिलो सम्झना रहेझैँ लाग्छ,’ अञ्जु भन्छिन्, ‘त्यसबाहेक बुवा र हजुरआमासँग जोडिएका अन्य सम्झना मसँग छैनन् ।’
मावली गाउँ र मावली हजुरबुवा कान्छा लामाका बारेमा उनले आमाबाट सुन्दै आएकी थिइन् । एक दिन स्टुडियोमा गीत रेकर्डिङ हुँदै गर्दा मावली गाउँनजिकैका एक व्यक्तिसँग उनको कुराकानी हुन पुग्यो । ती व्यक्तिले अञ्जुका मावली हजुरबुवालाई चिन्दा रहेछन् । मानिसहरू आफ्ना दुःखकष्ट हटाउन, भाग्य र भविष्य बुझ्न कान्छा लामाकहाँ जान्थे । समाजमा उनको ठूलो मानमनितो थियो ।
आफ्नो मावलीको खबर पाएपछि अञ्जुलाई कहिले त्यहाँ पुग्यौँ हुन थाल्यो । घरमा आएर उनले आमासँग मावलीबारे कुरा गरिन् । मनकुमारीलाई पनि एकपटक माइतीको आँगन टेक्ने चाहना बढ्यो । एउटा हिउँदमा उनीहरू तेह्रथुमतिर लागे । ‘यो १२–१५ वर्षअगाडिको घटना हो । म ठ्याक्कै डेट सम्झन सक्दिनँ,’ अञ्जु भन्छिन्, ‘मामाघर हिँडेका हामी फिदिम पुगेर बास बस्यौँ । त्यहाँदेखि हिँडेर जानुपथ्र्यो । भोलिपल्ट बिहानै हिँडियो । झमक्कै साँझ पर्दा पनि मामाको घर आइपुगेन, निकै टाढा रहेछ ।’
उनीहरू दिनभरि हिँडे, एकपछि अर्को डाँडा नजिकैजस्तो देखिन्थ्यो, तर हिँड्दै जाँदा टाढा । काठमाडौं खाल्डोमा अभ्यस्त भइसकेका उनीहरूका लागि पहाडको उकाली–ओराली हिँड्न कठिन भइरहेको थियो । अर्कोतिर धेरै वर्षअघि हिँडेको बाटो मनकुमारीले भुलिछन् । साँझपख कसोकसो उनले वनपाखा–मेलापात गरेका ठाउँ आइपुगे । जब आफूले बालापन बिताएको, छोराछोरी बोकेर हिँडेको बाटो, माटो र पहाडहरूलाई उनले चिन्न पुगिन्, तब उनको शरीर र अनुहारमा अर्कै शक्ति सञ्चारित हुन थाल्यो । आफूले ती पहाडलाई चिनेको भन्दा पनि ती पहाडले आफूलाई चिनेझैँ महसुस उनले गर्न थालिन् । अञ्जुका दिदीहरूले सानोमा खेलेका ठाउँहरू पहिल्याउन थाले । उनीहरूका स्मृति र आँखामा पुराना दिन नाच्न थाले र वर्तमानमा हर्षले उनीहरू उफ्रन थाले । ‘अहो ! आमा र दिदीहरू यति खुसी भए, म त छक्कै परेँ,’ अञ्जु भन्छिन्, ‘एउटा बाघे ओढार भन्ने ठाउँमा दिदीहरू खेल्दा रहेछन्, त्यो ठाउँमा पुगेपछि उनीहरूको अनुहार र आँखाको चमक नै अर्कै भएको थियो ।’
बल्लबल्ल रातको ९ बजेतिर मनकुमारीले माइतीको आँगन टेकिन् । त्यसपछि रुवाबासी भयो । त्यो रुवाइमा हर्ष र पीडा दुवै थिए ।
राति खाना बनाउँदा गीत गाउने माहोल बन्यो । तामाङहरू गीतबाटै दुःखसुखका कुराकानी गर्छन् । ‘यताबाट आमाले गीतबाटै लय हालेर भन्ने — हामी यसरी बाँचेर आयौँ । उताबाट हजुरआमाले सोध्ने — कहाँ गइस् के के भयो ?’ अञ्जु त्यो दिनको माहोल सम्झन्छिन्, ‘त्यो लयमा ए नि लै लै ओ ओ हा हा भन्दै अरुले साथ दिने । मेरी आमा पनि गीताङ्गी हुनुहुन्छ ।’
सबै आफन्त जम्मा भएका थिए । अञ्जुले पनि गाउन थालिन् । अनि मात्रै उनीहरूले चिने — गायिका अञ्जु पन्त हाम्रै भान्जी–नातिनी रैछन् । त्यो गाउँमै गायिका अञ्जु पन्तलाई नचिन्ने कोही थिएनन् तर सानैमा सहर छिरेकी भान्जी–नातिनी गायिका भइन् होली भन्ने कल्पना पनि अञ्जुका मावलीले गरेका रहेनछन् ।
‘हामी काठमाडौं आएपछि आखे (हजुरबुवा)ले हाम्रो खबर बुझ्न धेरै मान्छे पठाउनुभएछ, तर कसैले पत्ता लगाएनछन्,’ अञ्जु भन्छिन्, ‘यताबाट आमाले पनि चिठीसिठी पठाउनुभएनछ ।’
तेह्रथुमबाट काठमाडौं फर्केपछि अञ्जुकी आमाले अनेक कष्टको सामना गर्नुप¥यो । पहिलो त अन्तर्जातीय विवाह भएकाले जयले फर्पिङस्थित घरमा आफ्नो परिवार लैजान पाएनन्, त्यसमाथि उनले पेन्सन पाक्न एक वर्ष बाँकी हुँदा जागिर छाडेका थिए । ‘दुःखको कुरै नगरौँ । मेरो दाइले सानै उमेरमा अर्काको घरमा काम गर्नुपरेको थियो,’ अञ्जु भन्छिन्, ‘मलाई थाहा छ, आमाले हामीलाई सानो दुःखले हुर्काउनुभएन ।’
फर्पिङमा उनकी आमाले अंश पाएको धेरै भएको छैन । अञ्जुका बुवाको फर्पिङमा जग्गा–जमिन नभएको होइन, तर बाधा मनकुमारीको जात बनेको थियो । यद्यपि त्यो जमानामा आफ्नो बुवाआमाको विवाह हुनुलाई नै अञ्जुले ठूलो परिवर्तन मान्छिन् र हजुरआमाप्रति कृतज्ञ हुन्छिन् । ‘यता बुवातिरका हजुरबुवा पण्डित हुनुहुन्थ्यो रे । उता आमातिरको हजुरबुवा लामा,’ अञ्जु भन्छिन्, ‘त्यो जमानामा पनि मेरी हजुरआमाले तामाङनी बुहारी स्वीकार गर्नु सामान्य कुरै थिएन । म त मेरो हजुरआमालाई खत्रै मान्छु बाई । हजुरआमाले पूजाका भाँडा माझ्न पनि मेरी आमालाई नै लगाउनुहुन्थ्यो रे । उहाँले मेरी आमालाई कहिल्यै तँ भन्नुभएन, सधैँ तिमी । बुहारी भन्ने पनि होइन, सधैँ नानी, सधैँ माया ।’
गुरुको साथ
सानैदेखि अञ्जुलाई संगीतको धुन र गीतको लयले तान्थ्यो । गीत भनेपछि उनी हुरुक्कै हुन्थिन् । टेलिभिजनमा आउने गीतका शब्द र लय टिप्न उनको जोड रहन्थ्यो । शनिबार नेपाल टेलिभिजनबाट प्रसारण हुने हिन्दी फिल्मका गीत टिप्न उनी कापी र कलम लिएर बस्थिन् । कुन फिल्ममा कुन गीत छ भन्ने पनि उनलाई ख्याल हुन्थ्यो । गीतप्रति यत्रो लगाव भए पनि परिवारका सदस्यको अगाडि मिठो स्वरमा गाउन उनी लजाउँथिन् । त्यसैले उनले आफ्नो स्वर बिगारेर गाउँथिन् — ‘केही मिठो बात गर’, ‘सुहाना सफर और ए मौसम हंसी’, ‘पोहोर साल खुसी फाट्दा’, ‘सोचेजस्तो हुन्न जीवन’, ‘नाम गुम जाएगा चेहरा ये बदल जायगा’ आदि ।
एक दिन उनले घरको भुइँतलामा धारामा आएको पानी भर्दै मिठो आवाजमा गाउँदै थिइन् । संयोगले उनको स्वर उनकी फुपू जानकी केसीले सुन्न पुगिन् । उनलाई लाग्यो, गुरु पाए अञ्जु ठूलै गायिका बन्छिन् । उनले सीधै अञ्जुलाई गुरु (कृष्णमान डंगोल)कहाँ पु¥याइन् । उनले अञ्जुलाई भनेकी थिइन्, ‘मैले कृष्णमानदाइसँग कुरा गरिदिएकी छु, त्यहाँ गएर गीत सुनाउनू ।’
पहिलो दिन अञ्जुले कृष्णमानलाई आफूले जाने जति गीत सुनाइन् । उनले एकपछि अर्को गीत गाउँदा कृष्णमानले हार्मोनियम र बद्रीमान श्रेष्ठले तबला बजाएका थिए । ‘मेरो आवाज सुनेर कृष्णमानबाबा (उनी पाको पुस्तालाई बाबा भनी सम्बोधन गर्छिन्) रुनुभयो,’ अञ्जुले करिब तीन दशकअघिको एउटा सुनौलो क्षण सम्झिइन्, ‘कृष्णमानबाबाले मलाई काखमा राखेर भन्नुभयो — तिमी नेपालको सबैभन्दा सुन्दर तारा हुनेछौ । सुर ठीक छ, लय–ताल ठीक छ । टोन यति मीठो छ । पन्ची आवाज छ । यो बच्चा एकदमै माथि जान्छ ।’
त्यसको भोलिपल्टदेखि नै बिहान ५ बजे ढोका ढकढक्याउन आएर कृष्णमानले अञ्जुलाई स्वर–साधनाका लागि लैजान थाले । अञ्जु भन्छिन्, ‘गुरुबाट यत्रो साथ र सहयोग पाउनु मेरो अहोभाग्य थियो ।’
कृष्णमानले अञ्जुलाई रेडियो नेपालमा गीत गाउन र प्रतियोगितामा भाग लिनका लागि तयार पारे । २०५४ सालमा रेडियो नेपालको आधुनिक गायन प्रतियोगितामा भाग लिएर उनी प्रथम भइन् । त्यतिबेला उनले सुशिला पन्तको शब्द र कृष्णमानको संगीतमा ‘सम्झी सम्झी यो मायालाई चिठी लेख्दै छु’ बोलको गीत गाएकी थिइन् ।
गुरुले उनलाई बिहानमा रियाज गराउँथे । दिउँसो स्कुल बिदा भएपछि अञ्जुले अरुलाई गाउन र सरगम सिकाउनुपथ्र्यो । भगवती बहाल नक्सालमा छाना मात्रै छाएको सामुदायिक भवन थियो, जहाँ अन्जुले अर्केस्टासहित गाउँथिन् । ‘मैले गाउँदा वाद्यवादक कति फेरिन्थे, तर म एक्लै गाइरहन्थेँ,’ अञ्जु भन्छिन्, ‘मानिसहरूले मलाई त्यतिबेला पनि हजार रुपैयाँको नोटसम्म दिएका छन् ।’
फ्यान
अस्ति भर्खरै अञ्जु भक्तराज आचार्यको घरमा गएकी थिइन् । घरमै सानोतिनो सांगीतिक माहोलको कार्यक्रम थियो । ‘त्यतिबेला भक्तराजबाबाले मलाई कुरेर बस्नुभएको रहेछ । म जाँदा जहिले पनि अञ्जु आको हो भन्दै सकिनसकी आउनुहुन्छ । उहाँले मेरो आवाजलाई मान्नुहुन्छ रे । जब कि उहाँले सत्यस्वरूपकै स्वरलाई त्यति मान्नुहुन्न,’ आत्मसन्तुष्टिको भावसहित अञ्जुले भनिन्, ‘अस्ति मलाई भेट्दा उहाँ निकै खुसी हुनुभएको थियो । उहाँको आँखाको तेज नै अर्कै हुन्छ मलाई भेटेपछि ।’
बाहिर आफ्ना फ्यान कति छन्, अञ्जुलाई थाहा छैन, तर भरमार फ्यान उनको घरमै छन् । जेठी दिदीको छोरीको छोरा र छोराको छोरी उनको निकै ठूलो फ्यान थिए र छन् । उनीहरू सानो छँदा टेलिभिजनमा अञ्जु देखिइन् भने ‘अञ्जु हजुरआमा’ भन्दै झुम्मिन्थे र दुवैले मेरो हजुरआमा भन्दै टिभीमा म्वाइँ खान्थे ।
उनी थाकेर जाँदा घरमा जाँदा ठूलो आवाजमा उनकै गीत बजिरहेको हुन्थ्यो, अहिले पनि यस्तै हुन्छ । ‘मेरो दिदीहरू कान्छु तँ गाउनै जन्मेकी होस् भन्दै रुन्थे, अहिले पनि दिदीहरू मेरो गीत सुनेर रुन्छन्,’ अञ्जु भन्छिन्, ‘घरमा अरु कलाकारको गीत बज्दैन, मेरै बज्छ । दिदीहरूले भन्छन् — तँ स्टेज चढ्दा रौनकै अर्कै हुन्छ । हाम्रो परिवार र हाम्रो बहिनी भनेर होइन, हाम्रो अहोभाग्य हो कि अञ्जु तिमी हाम्रो परिवारको सदस्य छौ ।’
पश्चिमतिरकी एकजना १६ वर्षकी किशोरीले उनलाई अति नै माया गर्थिन्, सधैँ फोन गरिरहने । अञ्जुले उनीसँग आदरपूर्वक कुराकानी गर्थिन् । कहिलेकाहीँ त उनले अञ्जुको मोबाइल नै स्विचअफ हुने गरी फोन गर्थिन् । ‘उहाँले मलाई अनेक उपहार, रगतले लेखेको चिठी समेत पठाउनुभएको थियो,’ अञ्जुले ती फ्यानलाई सम्झिइन्, ‘पछि ती नानीले आत्महत्या गरेको मैले सुनेँ, साह्रै नराम्रो लाग्यो ।’
एकपटक महेन्द्रनगरमा एउटा सांस्कृतिक कार्यक्रम थियो, लाखको हाराहारीमा दर्शक आएका थिए । त्यहाँ आयोजकले अञ्जुलाई सम्मान गरेर मञ्चमा लामो समय राखिदिए । अञ्जुले बोल्न र गाउन पाएकी थिइनन् । अञ्जुको पर्खाइमा दर्शक भड्किए र एक किसिमको दंगा नै मञ्चियो ।
एकजना एक सय ३ वर्षकी आमा अञ्जुलाई भेट्न भनेर दुई घन्टा हिँडेर आएकी थिइन्, पूर्वतिर भएको एक कार्यक्रमको कुरा हो यो । अञ्जुलाई यस्ता घटनाको यकिन स्थान र समय भने सम्झना छैन ।
एकपटक दाङमा भएको कार्यक्रममा उनले ‘अँधेरी बिनाको जूनजस्तै’ बोलको गीत गाउँदा दृष्टिविहीनहरू खुब झुम्मिएका थिए । ‘उहाँहरू स्टेजको छेउमा आएर सोध्नुहुन्थ्यो, अञ्जु दिदी कहाँ हुनुहुन्छ । मैले स्टेजबाट हात दिएपछि छोएर रुनुहुन्थ्यो,’ अञ्जु भन्छिन्, ‘त्यति बेला म पनि त्यसै रोएकी छु । यो घटना १०–१२ वर्षअघि हो ।’
सन् २०१७ तिरको कुरा हो, अमेरिकाकाको एटलान्टामा बिएनसिए (भुटनिज–नेपलिज चर्चेज अफ अमेरिका) समिटमा अञ्जु गएकी थिइन् । त्यहाँ मञ्चमा बसेकी उनलाई १४–१५ वर्षका नानीहरूले परैबाट भेट्नका लागि हातले इसारा गरिरहे । माया लागेर अञ्जुले उनीहरूलाई स्टेजमा आउनका लागि इसारा गरिन् । उनीहरू दौडेर आएर अञ्जुको खुट्टा समाएर रोए । उनीहरूलाई सम्हाल्नै अञ्जुलाई धौ भयो ।
सन् २०११ तिरको कुरा हो, अञ्जु लन्डनमा थिइन् । लन्डनमै जन्मेर हुर्केकाहरूले अञ्जुलाई छुन र हेर्न हत्ते गरे । एक किशोरले अञ्जुलाई परबाट निकै हेरेका थिए । लाग्थ्यो कि उनले ईश्वरै भेटेका छन् । पछि अञ्जुले ती किशोरका अभिभावकसँग कुरा गरिन् । उनीहरूले भने, ‘यो तपाईंको निकै ठूलो फ्यान हो । कोठाभरि तपाईंंको तस्बिर राखेको छ । ‘हो र बाबु ?’ भनेर अञ्जुले सोधिन् ।
उनले भने, ‘हो नि, मेरो कलेजमा कसको फ्यान होस् तँ भन्यो भने मैले हजुरको नाम लिन्छु । उनीहरू छक्क पर्छन् ।’
०००
श्रोता–दर्शकको अथाह स्नेह एकातिर छ, अर्कोतिर अञ्जुको जीवन यतिखेर पहाड छिचोलेर समथर भूभागमा पुगेको नदीजस्तै छ । दुई वर्षअघि उनले दोस्रो विवाह गरिन् । हिजो बग्दै गर्दा स्वास्थ्य र सम्बन्धका नाममा कतै ठोक्किइन्, कतै बजारिइन् र आफैँ सम्हालिएर आफ्नै छन्द र लय पक्रिइन् । उनको पहिलो घरबार बिग्रियो, स्वर र स्वास्थ्य बिग्रियो, त्यसपछि बदलियो आस्था र विश्वास । १२ वर्षअघि धर्म परिवर्तन गर्दा उनले कतिपय फ्यानबाट चर्को आलोचना खेप्नुप¥यो ।
सानैदेखि उनी ईश्वरको भक्त थिइन्, मन्दिरहरूमा ईश्वर खोजिरहिन्थन्, जहाँ आफूलाई समर्पित गर्न सकियोस् । संयोग यस्तो छ, रेकर्ड भएको उनको पहिलो गीत पनि भजन नै परेको छ — मनवा मन नै योगी बनाऊ ।
‘मैले अर्काको आँगनको फूल चोरेर पनि ईश्वरलाई चढाउँथेँ । जब मेरो घाँटीले दुःख दियो । स्वर सुकेर गाउनै नसक्ने भएँ,’ अञ्जु भाका मिलाउँदै भन्छिन्, ‘होमोप्याथिक, आयुर्वेदिक, झोलवाला, धुलोवाला, औँठी, बुटी, बलि, व्रत, उपवास सबै गरेँ, अहँ आवाज फर्केन । डाक्टरले नगाउन भनेका थिए, क्यान्सर हुन्छ भनेर । यही बेला मैले वीरगन्जको एक सानो चर्चमा प्रभु भेटेँ । अहिले मेरो स्वर ठीक छ ।’
अञ्जुले आजसम्म लोकको वेदना, संवेदना, सचेतना के गाइन्, भोलिका दिनमा के गाउनेछिन् — त्यसको मूल्याङ्कन इतिहासले गर्ला, तर आफ्नो निजी नियतिसँग मेल खाने गीत खोज्दा धेरै नेपाली अञ्जुको स्वरसम्म पुग्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी